प्रतिनिधि सभा अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै छ। जस अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। अर्थ समितिको बैठक हलमा बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुने बताइएको छ।
यस्तै बिहान ११ बजे नै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नेछ। जसमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल हुनेछ।
त्यस्तै दिउँसो एक बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ। सोही समयमा सार्वजनिक लेखा समितिको बैठकमा बक्यौता विवादका विषयमा छलफल हुने भएको छ।
प्रकाशित: ९ भाद्र २०८१ ०८:३६ आइतबार