राजनीति

एमालेका महासचिव र उपाध्यक्षहरू सकसमा

संघीय संसदको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै नेकपा एमालेका धेरैजसो पदाधिकारीहरूलाई प्राप्त परिणाम आफ्नो पक्षमा पार्न सकस देखिएको छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतगणना जारी हुँदा एमालेका धेरै पदाधिकारीहरू मतगणनामा पछि परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षी कांग्रेसभन्दा दोब्बर मतले अघि छन् भने महासचिव शंकर पोखरेल निकै पछि परेका छन्। सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट जित निकाल्ने कोसिसमा छन्। उनले सुरुदेखि नै अग्रता कायम गरेका छन्।  

देशभरको मतपरिणाम नेकपा एमालेले दोस्रो हुँदा पदाधिकारीहरूमा उपाध्यक्षहरू भने पछि परेका छन्। अध्यक्ष केपी शर्मा ओली, सचिव लेखराज भट्ट, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठबाहेक उपाध्यक्षहरू मतगणनामा पछि परेका छन्। पछिल्लोपटक एमाले सचिव योगेश भट्टराईले पनि प्रारम्भिक अग्रता लिएका थिए तर उनी गठबन्धनसँग पछि परेका छन्। मंगलबार साँझबाट मात्रै ताप्लेजुङमा मतगणना सुरु भएको हो।  

उपमहासचिव पृथ्वी सुब्बा गुरुङले निरन्तर अग्रता कायम गरेका छन्। एमालेका धेरैजसो पदाधिकारीहरू पछि पर्दा ललितपुर–२ काठमाडौं, ९ र अर्घाखाँचीमा एमाले विजय प्राप्त गरेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष काठमाडौं ५ बाट चुनावी मैदानमा छन्। उनीसँग नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा हुँदा पौडेलले मतान्तरण बढाउँदै लगेका छन्। त्यसैगरी, एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अहिलेसम्म पछि परेकोमा अहिले केही भोटले अघि छन्। पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चुनौती दिइरहेका छन्। पौडेल रूपन्देहीको क्षेत्र–२बाट निरन्तर चुनाव जित्दै आएका छन्। पहिलो संविधानसभाको निर्वाचनमा पनि उपाध्यक्ष पौडेलले चुनाव जितेका थिए। तर अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्प्र्धामा पछि परेका छन्।  

यस्तै, एमालेका अर्का उपाध्यक्ष सुवास नेम्वाङअघि पछि अघि गरिरहेका छन्। इलाम–२ मा पूर्वसभामुख सुवास नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। उनलाई पछिल्लो पटक कांग्रेसका खड्काले पछि पारेका छन्। एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन १ मा पछि परेका छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका विश्व पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच प्रतिस्पर्धा भैरहेको छ। पछिल्लो परिणाम अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाललाई उछिन्न सकेका छैनन्। कांग्रेसका विश्व पौडेलसँग भने हाराहारी आउने गरेका छन्। एमाले महासचिव शंकर पोखरेल पनि गठबन्धनको तर्फबाट माओवादीकी रेखा शर्माभन्दा पछि परेका छन्। दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छिन्। एमाले सविच छविलाल विश्वकर्मा थोरै मतले अघि छन्। यस्तै कैलाली ४ मा एमाले सचिव लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलाययरबीच कडा टक्कर रहेको छ। उनीहरूले आलोपालो गरिरहेका छन्। अहिले पछिल्लो एमालेका सचिव भट्टले अग्रता लिइरहेका छन्। एमाले सचिव गोकर्ण विष्ट करिब २५ सय मतले अघि बढिरहेका छन्। उनलाई नेकपा एसकी रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन्। एमाले उपमहासचिव प्रदीप ज्ञावालीले कांग्रेसका चन्द्र भण्डारीसँग प्रतिस्प्र्धा गरिरहेका छन्। उनको क्षेत्रमा मतगणना भएको छैन। एमालेका उपाध्यक्ष र महासचिव तथा अन्य पदाधिकारीहरू प्रत्यक्ष मतगणनामा पछि परेपछि एमालेले जित्ने भनिएका क्षेत्र र जिल्लामा पनि यसपटक सोचेजस्तो मतपरिणाम नआएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।  

 

प्रकाशित: ७ मंसिर २०७९ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App