ज्योति श्रेष्ठ
हाई हिल महिलाहरूको लागि फेसन नै भइसकेको छ। हिल लगाउँदा स्मार्ट र स्टाइलिस देखिने भएकाले पनि महिलाहरूको यसमा रुचि बढ्दै गएको छ। सामान्यतया हिल उचाइ कम भएकाहरूले स्मार्ट र स्टाइलिस देखिन लगाउने गरेको पाइन्छ। ठिक्कको उचाइ भएकाहरूले पनि हिल लगाउँछन्। हिल लगाउने ट्रेन्ड युवतीमा मात्र नभएर बालिकामा पनि देखिन थालेको छ। सानै उमेरका बालिकालाई अभिभावकहरूले हिल लगाइदिने गर्छन्।
हिल उचाइको लागि मात्र नभएर कपडासँगको कम्बिनेसन मिलाएर हिल लगाउने गरिन्छ। कुनै स्पेसल अकेजनका लागि विशेष गरेर वान पिस, गाउन, साडी र कुर्थामा महिलाहरूले हिल लगाउने गर्छन्। हिल लगाउँदा कस्तो कपडा लगाउने भन्ने विषयमा अचेल महिला धेरै जानकारी राख्न थालेका छन्।
काठमाडौँको सिभिल महलमा भेटिएकी कलंकीकी अनु खड्का आफ्नो रोजाईको हिल छनोट गर्दै थिइन्। ‘प्रायः हिल लगाउन नै मनपर्छ,’ उनले भनिन्, ‘हिल लगाउँदा स्मार्ट देखिन्छ जस्तो लाग्छ। आफ्नो पर्सनालिटी पनि मेन्टेन गर्नुप-यो। फ्ल्याट सु लगाउँदा नै सजिलो अनुभव हुन्छ। ’ हाई हिल आफ्नो रोजाइमा पर्ने भए पनि सधैँ नलगाउने गरेको उनी बताउँछिन्।
पुतलीसडकस्थित स्टार महलमा भेटिएकी समिरा तामाङ पनि हिल लगाउँदा आफू स्मार्ट देखिने बताउँछिन्। हिलमा पनि उनी क्लोज हाई हिल लगाउन रुचि राख्छिन्। ‘हिल अरु जुत्ता जतिको सजिलो छैन। दैनिक लगाउन सकिँदैन,’ उनले भनिन्, ‘त्यसैले विशेष पर्वमा मात्र लगाउने गर्छु। अरु बेला सामान्य जुत्ता नै लगाइन्छ। समिराले आफूलाई हिल लगाउन रुचि भएको बताइरहँदा बौद्धकी लक्ष्मी राईलाई भने फ्ल्याट जुत्ता नै लगाउन सजिलो हुने बताउँछिन्। ‘हिल हेर्दा राम्रो भएर के गर्नु यसले शारीरिक समस्या गराउँने बताउँदै उनले भनिन्, ‘हाम्रो जस्तो माटो शरीरलाई हिल लगाउन गाह्रो हुन्छ। त्यहीँ भएर पनि यसमा खासै रुचि छैन। ’
फेन्सी हाई हिल बजारमा ट्रेन्ड बनेको छ। आफूलाई स्मार्ट देखिन विशेष गरेर महिलाले हिल लगाउने गर्छन्। त्यसकारण पनि बजारमा अहिले स्टाइलिस हिल देखिएका छन्। हाई हिल कजुयल सु, पार्टी वेर हाई हिल, साइनिङ क्लोज हिल, पोइन्टेड हाई हिल, लक्जुरी क्रिस्टल हाई हिल, ब्लक हाई हिल, ग्लास हिल जस्ता ब्राण्डेड जुत्ता बजारमा देखिन्छन्। आफ्नो सु सेन्टरमा भएका ब्राण्डेड सु देखाउँदै सिभिल महलस्थित स्टेप दी फुट वेरका सञ्चालक विष्णुप्रसाद घोरासाइनीले भने, ‘अहिलेको डिमाडेन्ड हिल भनको ट्रान्सप्यारेन्ट ग्लास हिल हो। यो हिल अरु हिलको तुलानामा अलि सजिलो पनि हुने भएकाले ग्राहकले बढी रुचाएका छन्। ब्लक हिल पनि लगाउन सजिलो नै छ। ’
१८ देखि २५ वर्ष उमेर समूहका महिलाले हिलमा रुचि राख्ने गरेको उनले बताए। महिलाहरूले हिलमा रुचि राख्नु स्वभाविक नै हो। पर्सनालिटी मेन्टेन गर्न पनि हिल लगाउनु राम्रो मानिन्छ। दैनिक रूपमा प्रयोग गर्दा बिस्तारै यसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ। तर, महसुस भने भएको हुँदैन। जब शरीरको सन्तुलन र चाल बिग्रन थाल्छ, त्यसपछि हाई हिलको प्रभाव देखिन थाल्छ।
दैनिक रूपमा हिल लगाउँदा खुट्टा सुन्निे, दुख्ने जस्ता लक्षण देखाउने चिकित्सकले बताएका छन्। भरतपुर अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीका अनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निनेदेखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ। ‘हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ, जसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्ने हुन्छ,’ उनले भने, ‘यसले कम्मरको नशामा दबाब जसबाट साइटिका रोग लाग्ने सम्भावना बढी हुन्छ। तर, छोटो समयको लागि प्रयोग गर्दा बाहिरी साना–तिना समस्या देखिए पनि खासै ठूलो असर गर्दैन। ’
हाई हिलको प्रयोगपछि १ सयमा १०÷१२ जना महिला यस्तै–यस्तै समस्या लिएर आउने गरेको उनले बताए। सामान्तया हिल, विशेष गरेर २० देखि ४० वर्ष उमेर समूहका महिलाले लगाउने गरेको पाइन्छ। यी उमेर समूहका महिलामा यस्ता समस्या देखिने बताउँदै डा. अधिकारीले भने, ‘आफूलाई स्मार्ट देखिन हाई हिल लगाउनु राम्रो हो। तर, नियमित लगाउनु भने राम्रो होइन। डेल्ली युजको लागि फ्ल्याट खालका चप्पल नै लगाउँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। ’ हिल लगाउँदा स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बताइरहँदा केही समयअघि जापानमा महिलाले हाई हिल प्रयोगविरुद्ध कुटु अभियान नै सञ्चालन गरेका थिए।
जापानमा धेरैजसो कम्पनी र सार्वजनिक संस्थामा कर्मचारीका लागि निश्चित ड्रेस कोडमा निर्धारण गरिएको छ। त्यहाँ महिलाका लागि स्कर्ट र हाई हिल र पुरुषको लागि सुट र कालो रंगको जुत्ता अनिवार्य गरिएको छ। यस्ता ड्रेसमा महिलालाई स्मार्ट देखिए पनि हाई हिल लगाउँदा काम गर्न र हिँडडुल गर्न असहज हुने भएको भन्दै उनीहरूले यो अभियान सुरु गरेका हुन्।
प्रकाशित: २५ श्रावण २०७६ ०४:०१ शनिबार