अन्य

‘दर्ताबिनै चलेका उद्योगधन्दा र व्यवसायलाई करको दायरामा ल्याउनेछु’

मनोजकुमार घिमिरे, वडाध्यक्ष तारकेश्वर नगरपालिका–८
जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
 वडा कार्यालयबाट चालु आर्थिक वर्षमा परेका योजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न  भएको छ । अन्य १० प्रतिशत धमाधम भइराखेको छ।

वनदेवी मार्गमा १२ फिट चौडा भएको  सात सय मिटर सडक सडक ढलान गरिसक्यौं । ज्ञानभूमी हाइटमार्गमा करिव ६ सय मिटर ढलान सम्पन्न गरेका छौं । वडा कार्यालयमा वडामा रहेका आधा दर्जनभन्दा धेरै भित्रीसडक निर्माण गरेका छौं । वडा कार्यालयले खाल्डाखुल्डी परेका सडक मर्मतसम्भार देखि स्तरान्तिको कामलाई अगाडी बढाइरहेका छौं।

शेषमतिदेखि जरङ्कु जाने सडक लथालिंछ, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
 शेषमतिदेखि जरङ्कु जाने सडक लामो समयदेखि व्यवस्थित हुन सकेको छैन ।केही समय अघिसम्म वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे हुने अवस्थाबाट गुज्रिरहेको छ ।

वडा कार्यालयले हालसालै उक्त सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, लोडरले सम्याउने लगायतका काम गरेको छ । अहिले उक्त सडकमा बालुवा तथा ग्रेगान राखेर गाभ्रेलिङ गरेका छौं । वर्षायाम सकिने बित्तिकै कालोपत्रे गर्ने योजना बनाएको छु ।

नगरपालिकाबाट उक्त सडकको लागि दुई करोड रुपैयाँ बिनियोजन भएको छ । त्यसैगरी डाडाँगाउँदेखि फुटुङसम्मको डेढ किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुरेर प्याचिङको काम सम्पन्न गरिसकेका छौं । वडा कार्यालयले आगामी तीन वर्षभित्रै वडामा रहेका सम्पूर्ण सडक ढलान तथा कालोपत्रे गर्ने योजना बनाएका छौं।

तपाईको वडामा खानेपानीको समस्या कस्तो छ ?
वडामा माग अनुसारको खानेपानीको आपूर्ति गर्न सकिरहेका छैनौं । जसको कारणले केही स्थानमा खानेपानीको समस्या छ।

अन्य वडाको तुलनामा खानेपानीको राम्रै व्यवस्था भएपनि नियमित नआउने समस्या छ । त्यसैले वडा कार्यालयले रोटरी क्लवसँग समन्वय गरेर ५० लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की बनाउने योजना बनाएको छु । रोटरी क्लवबाट ७० लाख र वडा कार्यालयबाट ३० लाख गरेर १ करोडको लागतमा व्यवस्थित ढंगले खानेपानीको वितरण गर्ने योजना रहेको छ । वडामा प्रशस्त मात्रामा पानीका स्रोत रहेका छन् । मुहानको संरक्षण गर्दे वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनेछु्।


सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ, रोक्ने कस्तो योजना रहेको छ ?
वडामा  एक सय २७ रोपनी सार्वजनिक जग्गा छ । वडामा यति नै मात्रामा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्ने यकिन तथ्यांक  छैन् ।यद्यपी  केही स्थानमा सार्वजनिक जग्गा मिचिएका छन् ।

वडाध्यक्षको नेतृत्वमा सार्वजनिक जग्गा संरक्षण समिति बनिसकेको छ । सार्वजनिक जग्गा छुट्टाउनको लागि मालपोत कार्यालय र नापी कार्यालयबाट दुई जना प्राविधिक माग गरेका छौं । वडा कार्यालयले सार्वजनिक जग्गाको संरक्षण र तारझाली लगाउनको लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

तपाईको वडामा उद्योग तथा पसल दर्ताबिनै सञ्चालन भइरहेका छन्, त्यस्ता उद्योगलाई कहिलेसम्म करको दायरामा ल्याउनु हुन्छ ?
 वडामा करिव २०–२५ वटा उद्योग  तथा पसलहरु सञ्चालन भइरहेका छन् ।तर, तिनीहरु अहिलेसम्म स्थानीय तहमा दर्ता भएर सञ्चालनमा आएका छैनन् । जसको कारणले लाखौं रुपैयाँ कर छली भइरहेको छ।

नगरपारिषदबाट नगरक्षेत्रमा रहेका सम्पूर्ण उद्योगधन्दा तथा पसलहरु अनिवार्य रुपमा दर्ता हुने प्रावधान गरेका छौं । साउनमहिनादेखि दर्ता बिनै सञ्चालनमा रहेका उद्योगधन्दा तथा व्यवसायलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनेछौं । करको दायरामा नआउनेलाई आवश्यक कारवाही गरिनेछ।

भूकम्पपीडीत कहिलेसम्म टहरामा नै बस्नुपर्ने होला ?
भूकम्प गएको तीन वर्ष बितिसक्यो । तर, अहिलेसम्म १५ प्रतिशत भूकम्पपीडीतले मात्रै पहिलो र दोस्रो किस्ता वापतको राहत रकम पाएका छन् । ८५ प्रतिशत भूकम्पपीडीतले आफ्नो नाममा लालपूर्जा नहुँदा राहत रकम पाउनबाट बञ्चित भइराखेका छन् ।

मोही र तहसिलको विवाद, सार्वजनिकस्थलमा घर बनाएर बसेका भूकम्पपीडीतहरु राहत पाउन समस्या भइराखेको छ । भूकम्पपीडीतको समस्या सल्टाउनको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग बारम्बार ताकेता गरिरहेका छौं ।तर, अपेक्षाकृत उपलब्धी हात पार्न सकिरहेका छैनौं ।

 नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन भएको थियो ।  बिनियोजन भएको रकममध्ये ९० प्रतिशत प्रतिशत काम भइसक्यो । बाकीँ  १० प्रतिशत धमाधम भइराखेको छ । सडक, खानेपानी तथा भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।

ज्येष्ठ नागरिक तथा महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
ज्येष्ठ नागरिकलाई नियमित रुपमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइराखेका छौं । वडा कार्यालयले ज्येष्ठनागरिकलाई लक्षित गरेर शान्तिनगरमा  ८ लाखको लागतमा  विश्राम भवन निर्माण गरिरहेका छ  । उक्त भवन अहिले अन्तिम चरणमा पुगिसकेको छ ।

आगामी भदौंभित्र सञ्चालन गर्ने लक्ष्यसाथ धमाधम निर्माण भइरहेको छ । उक्त भवनमा ज्येष्ठनागरिकको लागि भेटघाटस्थलको साथै मनोरञ्जनको लागि भजन तथा किर्तिन र पुस्तकालय राखिनेछ । वडा कार्यालयले महिलाहरुको लागि मन्टेश्वरी क्लव तालिम प्रदान गरेको छ । आगामी आर्थिक वर्षमा व्युटिसियन,  ब्रेकरी तथा कुक  लगायतका तालिम दिने तयारी गरेको छु।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
 वडामा अहिलेसम्म व्यवस्थित सडक र खानेपानीको प्रर्याप्त आपुर्ति हुन सकिरहेको छैन ।त्यसैले आगमी तीनवर्षभित्र सडकका सवैस्थानमा सडक र खानेपानीको व्यवस्था मिलाउनेछु ।

वडामा हालसम्म एउटा पनि आधारभूत र माध्यामिक विद्यालय छैन ।त्यसैले पाँचवर्षभित्र व्यवस्थित ढंगले सामुदायिक विद्यालय स्थापना गर्ने लक्ष्य राखेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य राखेको छु ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १५ असार २०७५ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App