नेपाली कांग्रेसको केन्द्रीय तहको एउटा पक्षमा स्थानीय तहको निर्वाचनका लागि जनतामा जाने रणनीतिस्वरूप ‘वाम–लोकतान्त्रिक गठबन्धन’ को एकोहोरो सुँगा–रटाइ सुनिन्छ तर कांग्रेसको एउटा पक्ष मातहतका निकायहरू र आमकांग्रेसजनमा त्यस्तो चुनावी गठबन्धनको विपक्षमा दिनानुदिन विरोध चर्किरहेको देखिन्छ। सबभन्दा चर्को आवश्यकता माओवादीलाई चुनाबी गठबन्धन नगरी अस्तित्व बचाउन नसकिने आत्मबोधले सकेसम्म कांग्रेससँग, कांग्रेसले नमाने एमालेसँग ‘त्वं शरणम्’ को शैलीमा गठबन्धन गर्नुपरेको छ।
माओवादी र एकीकृत समाजवादी नामका दुई कम्युनिस्ट पार्टीहरूसँग कांग्रेसले चुनावी गठबन्धन गरे पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवामा निर्वाचन जितिन्छ भन्ने आत्मविश्वास देखिन्न। तर एकातिर ‘कम्युनिस्ट एकता’ को फेरि तरखर गर्न थालेको एउटा विदेशी शक्तिको विरुद्ध अर्को विदेशी शक्तिले कम्युनिस्ट एकता हुन नदिएर ती दुई कम्युनिस्ट पार्टीलाई आफैँसँग अल्मल्याएर राख्न देउवामाथि परेको नरम दबाबमा वशिभूत भएकाले उहाँ गठबन्धनको पक्षमा एकोहोरो लाग्नुभएको विश्लेषण गर्न सकिन्छ।
कांग्रेसजस्तो लोकतन्त्रवादी मास पार्टीमा आन्तरिक लोकतन्त्र जति–जति कमजोर हुँदैजान्छ, नेतृत्वलाई आफ्नो ‘कुर्सी’ सुरक्षाका लागि अन्य पार्टीको बैसाखी त्यति नै खाँचो महसुस हुन्छ। तर सिद्धान्तहीन गठबन्धन वा मनपरी सम्झौताले गर्दा पार्टीको विजय र मतदाता (जनता) त्यति नै टाढा हुनथाल्छन्। नेतृत्वको निजी स्वार्थको गह्रौँ बोझले थिचिएको कांग्रेस आज यही नियति भोगिरहेको छ। तर नेतृत्वले धरातलीय यथार्थको विपरीत बालुवाभित्र टाउको घुसारेर लुकाएपछि संसारका सबै जोखिमबाट बचिन्छ भन्ठान्ने ‘सुतुरमुर्गे प्रवृत्ति’ अपनाएको देखिन्छ।
कांग्रेसले कुनै गठबन्धन वा तालमेलविना २००७ सालको क्रान्ति सम्पन्न गर्यो। त्योबेला गठबन्धन चाहिएन। २०१५ सालको आमनिर्वाचनमा कांग्रेस एक्लै लडेर दुईतिहाइ बहुमत हासिल गर्यो, त्योबेला गठबन्धन चाहिएन।
२०१७ सालपछि २०३३ सालसम्म पञ्चायतविरुद्ध ‘सशस्त्र कारबाही’ चलायो, त्योबेला पनि कसैसँग तालमेल वा साँठगाँठ गर्नुपरेको थिएन। २०३६ को जनमत संग्रहमा एकलरूपमा बहुदलीय व्यवस्थाको झण्डा बोकेर जनतामा गयो र पञ्चायतको हाराहारीमा शानदार मत लिएर बहुदलीय पक्षका मतको मुख्य हकदार बन्यो। खोइ त्यसबेला गठबन्धन? २०४२ को सत्याग्रहमा ५ कम्युनिस्ट पार्टीले सहकार्य गरे पनि कांग्रेस एकलरूपमा सत्याग्रहमा गयो।
२०४८, २०५१ र २०५६ का आमनिर्वाचनहरू कांग्रेसले गठबन्धन नगरी सम्पन्न ग¥यो। त्योबेला कांग्रेस नै सबभन्दा सशक्त र बहुमतमा थियो। २०६३ पछि माओवादीसँगको सम्झौता र लेनदेनमा कांग्रेस जसरी चुक्दै गयो, तब पार्टीको हात कमजोर हुँदैगएको हो। आज देउवाको काँधमा नेतृत्व आउँदा तिनै मोलाहिजा, मनपरि सम्झौता र अमंगल साँठगाँठको पराकाष्ठाले गर्दा कांग्रेस स्खलित र कमजोर भएको हो। हुँदाहुँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति पनि रहेका देउवा नै जहाँसुकै पराजित मानसिकता देखाउँदै भन्न थाले, ‘एमालेसँग एक्लै लडेर जितिँदैन।’
फुटेर क्षतविक्षत भएको एमालेलाई सभापति देउवाले यसरी शक्तिशाली देखाइदिएर उनको मुख्य चुनाव प्रचारक भईदिए। विगतमा सारा अधिनायकवादी शक्तिसँग जुधेर विजय हासिल गरेको आजको कांग्रेसका सभापतिको यस्तो पराजित तथा हिम्मतविहीन मानसिकता! कांग्रेसका कार्यकर्ताहरूको मनोबल गिराउने र लाचार बनाउने हर्कत कांग्रेस सभापति नै गर्दै हुनुहुन्छ।
कांग्रेसमा प्रधानमन्त्री तथा सभापति देउवा महाभारतका अन्धाराजा धृतराष्ट्रजस्तो हुनुभएको छ, जो कौरब र पाण्डब दुवैको सर्वमान्य र निष्पक्ष हुनुको सट्टा कौरबको मात्र अन्धपक्षपात गर्ने दृष्टिविहीन, विवेकविहीन र भूमिकाविहीन, पराजीत मानसिकताले ग्रसित लाचार ‘अन्धो मान्छे’ जस्तो। वास्तवमा प्रधानमन्त्री देउवाले जनसभामा बोलेर कांग्रेसको मत बढ्न सक्दैन। जनसभालाई प्रभाव पार्ने उहाँको अभिव्यक्ति नै हुँदैन। पार्टी प्रतिबन्धित र आफू जेल वा निर्वासनमा जान बाध्य हुँदा पनि कांग्रेसका संस्थापक नेताहरूमा कहिल्यै यस्तो पराजित र प्रतिरक्षात्मक परिस्थिति र मनस्थिति देखिएको थिएन।
२०७४ मा तीनै तहको निर्वाचनमा कांग्रेस हार्नुमा जुन मुख्य १० कारणहरू थिए आज पनि नेतृत्वको मनोवृत्ति यी कारण दोहोर्याउने अवस्थाबाट बिल्कुल भिन्न देखिन्न– १. निर्वाचनकेन्द्रित राष्ट्रिय राजनीतिक मुद्दा भए पनि नेतृत्वले तिनीहरूलाई जनतासम्म पुर्याउने, जनमतलाई कांग्रेसतिर आकर्षित गर्ने जवाफी नारा, अजेन्डा हुँदाहुँदै पनि संयन्त्र र प्रणालीको विकास नगर्नु, २. प्रमुख विपक्षी दलका रूपमा संसद्मा सशक्त विरोधी भूमिका निर्वाह नगरेर सत्तासँग मोलाहिजा र स्वार्थपूर्तिमा रमाउनु।
३. निर्वाचनको परिस्थितिलाई समेत बेवास्ता गर्दै तत्कालीन अख्तियारका प्रमुख आयुक्त लोकमानप्रति देखाइएको मोलाहिजा र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध हाँस्यास्पद महाअभियोगको अगुवाइ गर्नु, ४. स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने काममा जिल्ला कार्यसमितिलाई वञ्चित र भूमिकाविहीन गरिनु, अर्कातिर एउटै पदमा दुई वा तीनजनासम्मलाई आर्थिक प्रलोभनमा परी टिकट दिएर चरम अन्योल र अराजकता निम्त्याउनु, ५. भारतले लगाएको नाकाबन्दीलाई कांग्रेसले ‘नाकाबन्दी’ नै हो भनेर परिभाषित नगर्नु, ६. वाम तालमेलपछि लोकतान्त्रिक गठबन्धनको हल्ला गरिनु तर जनाधारबिहीन पार्टीहरूलाई बोकेर उनीहरूको ढाल बनिदिनु, ७. स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्नु तर सोही गठबन्धन प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म टिकाउन नसक्नु, स्वयं पार्टी सभापति चितवनको स्थानीय चुनावमा प्रचण्डकी छोरीलाई भोट माग्न गएर देशभरिका कार्यकर्ताको स्वाभिमान तथा शिर निहुरिने हर्कत देखाउनु।
चुनावी तालमेल गरेर कांग्रेसले भरतपुरमा माओवादीलाई मत दिए पनि पोखरालगायत अन्य नगरपालिकामा माओवादीले कांग्रेसका उम्मेदवारलाई मत नदिएर कांग्रेसलाई पराजित हुने अवस्थामा धकेल्नु। ८.कांगे्रसलाई विपक्षीहरूले लगाएका आरोपको राष्ट्रियरूपबाट सशक्तरूपमा खण्डन गर्दै वास्तविकता जनतासमक्ष पुर्याउनुपर्ने संवेदनशील मामिलामा पनि चरम उदासीनता प्रकट गर्नु, ९. पार्टीभित्रको अवाञ्छित गुट/उपगुटलाई अन्त्य गरी पार्टी एकता बनाउने रणनीति अख्तियार गर्नुको सट्टा सभापति देउवा नै एउटा गुटविशेषको मात्र नेता भएको पाइनु, र १०. कतिपय जिल्लामा आन्तरिक विवाद, असहयोग र अन्तरघातले पार्टी कमजोर हुँदा पनि केन्द्रीय नेतृत्वले त्यस्ता चरित्रउपर कठोर अनुशासनको कारबाही गर्ने इच्छाशक्ति नदेखाइ अनुशासनहीन र अराजकतावादी चरित्रलाई प्रश्रय दिनु।
पार्टीलाई आजको हालतमा पुर्याउने यस्ता धेरै कमी, कमजोरी र गल्ती विगतमा भए, ती सबैजसो चरित्र आज पनि विकृत विरासत र त्यसको निरन्तरताका रूपमा त्यसै छाडेर सिद्धान्तहीन र विवादास्पद चुनावी गठबन्धनतिर पार्टीलाई घिसार्ने काम भइरहेको छ।
जनता नै प्रधान र सर्वोच्च हुन् भन्ने शाश्वत सत्य पहिलोपटक नेपाली समाजमा स्थापना गरेको पार्टी नेपाली कांग्रेस सिद्धान्त र नीतिमा नभए पनि आजको नेतृत्वले त्यसको सदुपयोग गर्न नजान्दा जनाधार मजबुत हुँदाहुँदै पनि कमजोर हुनपुगेकामा शंकै छैन। कांग्रेसले २००७ सालमै आफ्नो पहिलो घोषणापत्रबाट सचेतनाको यो शिक्षा पार्टी, कार्यकर्ता र लोकतान्त्रिक आन्दोलनलाई दिएको थियो तर वर्तमान नेतृत्वले यस वास्तविकतामा हेक्कै राखेन, “....जनता टिनका रित्ता बट्टा होइनन्, जहाँ हामी आफूलाई सर्वगुण सम्पन्न सम्झेर तिनमा आफ्नो ज्ञान थोपर्न सक्छौँ। न त उनीहरू कागजका खाली पाना हुनसक्छन्, जहाँ हामी आफ्ना प्रोपोगन्डा (प्रचार नारा) पोत्न सक्छौँ। हामीले छडी र बन्दूक लियौँ भने उनीहरूलाई यातना दिन त सकौँला तर उनका भावना परिवर्तन गर्न कदापि सक्दैनाैँ...।'
७० वर्षभन्दा लामो जीवनमा कांग्रेस आजको निरपेक्ष सत्तामुखी वा सुविधाभोगी मनस्थितिमा चुनावी गठबन्धनका लागि होमिएको छ। तर थपिएका ३८ लाख नयाँ मतदातालाई कांग्रेसतिर तान्ने रणनीति अपनाउनुको सट्टा गठबन्धनको नाममा अन्य पार्टीतिर धकेलेर पठाइदिने देउवा–षड्यन्त्रको मार सिंगो कांग्रेसले भोग्ने परिस्थिति आउँदैछ, जुन मतदातालाई यसपछिका निर्वाचनमा कांग्रेसतिर केका आधारमा आउ भन्ने? पार्टीको नेतृत्व तमाम निष्ठावान कार्यकर्ताको आस्थालाई बोकेर आन्तरिक लोकतान्त्रिक पद्धति र संस्थागत प्रक्रियाबाट चल्नसक्दा मात्र पार्टीको विजय सम्भव छ। ऐँजेरुलाई हरियाली ठान्ने भ्रम पालियो भने त्यसले रुखलाई मार्छ अनि आफू मर्छ भन्ने तत्वज्ञान लियो भने नेतृत्वमा सुधार देखापर्न सक्छ।
प्रकाशित: १७ चैत्र २०७८ ०३:५६ बिहीबार