विचार

बूटी

कथा

धनुर्धारी सत्राजित सिकारका हेतु मयुरगंगाको बाटो भएर हिँड्दै थिए। मयुरगंगाको तटमा भाले मयुर पोथी मयुरको सामु नाचिरहेको थियो। आफ्नै गतिमा बगिरहेकी मयुरगंगाका कल्लोल घरीघरी तटसम्म आइपुग्थे र मयुरलाई रुझाउन खोज्थे। कल्लोलका छन्द र मयुरको नृत्यसँग सम्मोहित भएर सत्राजित हिँड्दाहिँड्दै अडिए। निश्चल उभिएर उनले मयुरको नृत्य हेरिरहेका थिए, उनको बाहुमा समाएर कसैले पछाडिबाट सुस्तरी तान्यो। शरीर तानिएको तत्कालै उनको चेतनाले थाहा पाएन, उनी मयुरको नृत्यमै मोहित थिए। 

किन्तु, उनको शरीरले स्त्री करपल्लव स्पर्शलाई अनुभूत गर्न समय लागेन। उनी बिस्तारै आफू तानिएतिर फर्किए। अब भने उनको सम्मोहनको केन्द्रबिन्दु जाम्बवतीको मुहार भइदियो। जाम्बवती नजिकै लुकेर मयुर नृत्य हेरिरहेकी थिइन्। अकस्मात धनुर्धारी पुरुष पुगेपछि उनलाई डर भयो, कतै यस पुरुषले मयुरको सिकार गर्ने त होइन! मयुरलाई बचाउन उनी धनुर्धारी पुरुषलाई समाउन पुगेकी थिइन्।  

‘तिमी मयुरको सिकार गर्न आएका त होइनौ ?’ जाम्बवतीले सुस्तरी साउती मारिन्, ‘नगर, यस्तो बेला मार्नु हुन्न।’ मयुर तर्सेर उड्ला भन्ने पीरले उनले साउती मारेकी थिइन्। उनको साउतीले सत्राजितलाई झनै रोमाञ्चित तुल्यायो। उनले बोल्ने कुनै शब्द पाएनन् र निःशब्द जाम्बवतीलाई हेरिरहेका थिए। मानिस भएको ठाउँमा शब्दहरू छैनन् भने त्यहाँ कि प्रेम हुन्छ, कि घृणा हुन्छ, कि कुनै षड्यन्त्र हुन्छ, कि त प्रकृतिको भाषा हुन्छ। सत्राजित आफूप्रति आकर्षित भएको जाम्बवतीले चाल पाइन्।

उनले घाँटीमा चम्किलो जणणि मणिको माला लगाएकी थिइन्। सत्राजितले त्यस मणिसँगै जाम्बवतीको अनुहार पनि प्रदीप्त देखेका थिए। आफूलाई एकतमासले हेरेको देखेपछि उनी बोलिन्, ‘स्त्रीलाई देख्नै पाएका छैनौ?’

यति भनेर उनले मयुरको नृत्य हेर्न थालिन्। उता भाले मयुरले पोथी मयुरलाई लखेट्न थाल्यो। उनी लजाएर त्यहाँबाट दौडँदै आफ्नो घरतिर लागिन्। सत्राजित पनि उनलाई पछ्याउँदै गए। कुनै पुरुषले आफ्नो घरसम्म पुत्रीलाई पछ्याउँदै आएको देखेर जाम्बवतीका पिता जाम्बवन्त तरबार लिएर निस्के। सत्राजित उनको अगाडि घुँडा टेक्दै हातमा जणणि मणि लिएर बोले, ‘यसलाई पुर्‍याउन आएको हुँ, उनले बाटोमा खसालेकी थिइन्।’ जाम्बवती दौडँदै आएर मणि आफ्नो हातमा लिइन् र बोलिन्, ‘हो पिताजी, मैले नै बाटोमा खसालेँछु।’ उनी मणि लिएर घरभित्र पसिन्।जाम्बवन्तले सत्राजितलाई सोधे, ‘त्यो मणिको रहस्य तिमीलाई थाहा छ ?’ थाहा छैन हजुर। बताउनुहुन्थ्यो कि !’

भोलि पनि रातमा यही बूटी चम्कन्छ भन्न सकिँँदैन। दिनभरिको हावा, घामपानी, कीराफट्याङ्ग्रा, जीवजन्तुको स्पर्शका कारण भोलि यही बूटी यति साह्रै नचम्केर कम चम्कन सक्छ। यसभन्दा बढी अर्को कुनै बूटी चम्कन सक्छ। धेरै बूटीका माझ एउटा मात्रै अलि बढी चम्कन्छ, जुन विशेष बूटी हुन्छ।

यो मणि मेरा पितामहले हलो जोत्दा धर्तीबाट निस्केको हो। यस मणि निस्केको वर्ष हाम्रो अन्नबाली निकै सप्रेको थियो। त्यस उपरान्त हामीले यसलाई वर्षमा दुईपटक पूजा गर्दै आएका छौँ। बाली लगाउनुअघि र बाली भित्र्याइसकेपछि यसको विधिपूर्वक पूजा हुन्छ। यसको पूजाले हाम्रा अन्य मनोवाञ्छा पनि पूरा भएका छन्। अब भन, यो रहस्य थाहा पाएको भए तिमीले मणि फिर्ता गथ्र्यौ कि गर्दैनथ्यौ ? ‘यसको पूजाले हजुरहरूलाई जेजति लाभ भएको छ, त्यो नितान्त हजुरहरूको विश्वासको कुरा हो। परन्तु, बाली सप्रन मलजलको मात्रा मिल्नुपर्छ। सही समयमा वर्षा हुनुपर्छ। अनि, बालीमा कुनै प्रकारको जीवाणु वा कीरा लाग्नु हुँदैन।  

यज्ञ वा मन्त्रका प्रभावले वर्षा हुन्छ र प्रकृतिको पूजाले बाली सप्रन्छ भन्नेमा मेरो रतिभर विश्वास छैन। किन्तु म मानिसको आस्था र विश्वासलाई सम्मान गर्छु। मानिसले आ–आफ्नो विधिले यस प्रकृतिमाथि विश्वास गरेका छन्। हजुरले यस प्रकृतिको पूजा गरी माटोलाई माया गर्नुभएको छ, माटोप्रति सम्मानभाव जगाउनुभएको छ। मलाई विश्वास छ, मानिसहरू यस धर्तीमा रहेसम्म माटोलाई नै माया गर्नेछन्। माटोलाई माया र सम्मान गर्न छाडेको दिनदेखि, अर्काले मलजल गरेको माटो हडप्न थालेको दिनदेखि मानिस विनाशको बाटोमा अघि बढ्नेछ। र, यस धर्तीमा माटोका लागि रक्तपात भइरहनेछन्,’ सत्राजित घुँडा टेकेरै बोलिरहेका थिए।

जाम्बवन्तले उनलाई सुखपूर्वक बस्ने र भोजनका लागि फलफूलको व्यवस्था गरे। तिमी लोकायतिक रहेछौ। अलौकिक र मिथ्या कुरा गर्नेभन्दा मलाई तिमीजस्तै तर्क गर्ने व्यक्ति मनपर्छ। परन्तु यस प्रकृतिमा केही रहस्य पनि छन्, जुन तिम्रा तर्कभन्दा पर छन्। जाम्बवन्त बोल्दै थिए, त्यसैबीच बस्तीमा खैलाबैला मच्चियो। एउटी महिला दौडँदै आएर हडबडाउँदै बोलिन्, ‘मुखिया ! हजुरको घरलाई लक्ष्य गरेर लुटेराहरू जणणि मणि लुट्न आएका छन्। आज बस्तीका पुरुष सबै सिकारका लागि वनमा गएका छन्, अब के गर्ने ?’

‘पहिले उनीहरूलाई यहाँसम्म आउन देऊ। जाऊ, तिमीले गाउँमा भएका बलिया स्त्री सबैलाई मेरो घरपछाडि एकै ठाउँमा जम्मा गर। जे हतियार छन्, लिएर आउन भन। थाहा छैन, परिस्थिति कस्तो बन्छ ! सबैले एकैपटक आक्रमण गर्नुपर्ने पनि हुन सक्छ,’ जाम्बवन्तले आदेश दिए। केहीबेरमै सय जनाजति लुटेरा चिच्याउँदै, कराउँदै र वरपर विध्वंश मच्याउँदै आइपुगे। लुटेरामध्येको नाइके अगाडि आएर बोल्यो, ‘हामी यस लोकका श्रेष्ठतर जाति हौँ। यस संसारको सुखसयल पहिले भोग गर्ने हक हामी श्रेष्ठतर जातिलाई मात्रै छ, तिमीहरूजस्तो वनवासीलाई होइन। आत्मसमर्पण गरेर आफूसँग भएका सबै श्रीसम्पत्ति हामीलाई सुम्प, त्यसमै तिमीहरूको भलाइ छ। नत्र पराजित गरेर यहाँको श्रीसम्पत्ति लैजान्छौँ, यही नै हाम्रो धर्म र नियम हो।’

जाम्बवन्तले शान्त मुद्रामा भने, ‘ठीक छ, तिमीहरू यस लोककै श्रेष्ठतर जाति रहेछौ। किन्तु तिमीहरूलाई अरूले पसिनाले जोडेको सम्पत्ति लुट्नु, अरूलाई दुःख दिनु अधर्म हो भन्ने ज्ञान रहेनछ। युद्ध र लुटपाटमै विश्वास रहेछ। म बिन्ती गर्छु, जाऊ परिश्रम गर। कसैलाई पनि अनावश्यक दुःख नदेऊ, यसमै सम्पूर्ण लोकवासीको हित छ।’ ‘वनवासी भएर हामीलाई धर्म र अधर्मका कुरा सिकाउँछस् ! तेरो बस्ती जलाइदिऊँ ? तिमीहरूजस्ता वनवासीलाई दुःख दिएर हामीले कुनै अधर्मको फल भोग्नुपर्दैन,’ लुटेराको नाइके कड्कियो।

‘ठीक छ, युद्ध नै गर्छौ भने एक–एक गरी मसँग आऊ। शस्त्रले गर्छौ कि निशस्त्र ?’ जाम्बवन्तले हाँक दिए। एक–एक गरी जाम्बवन्तसँग तरबार युद्ध गर्न लुटेराको नाइके राजी भयो। जाम्बवन्तले ढाल र तरबार उठाएर २५ जनाजति लुटेरालाई एक–एक गरी ढलाए। आफ्ना एक चौथाइ सेना ढलेको देखेर लुटेरा नाइके तर्सियो। उसले सबै सेनालाई जाम्बवन्तमाथि आक्रमण गर्न इसारा गर्‍यो। लुटेराहरू जाम्बवन्तमाथि खनिएको देखेपछि सत्राजितले पनि तरबार उठाए। सत्राजित तरबार कला र धनुर्वाणमा निपुण थिए। पछाडि लुकेर बसेका स्त्रीले लुटेरामाथि बाण र ढुंगा बर्साए। सबै लागेर क्षणभरमै लुटेरालाई ढलाउन र भगाउन सफल भए।  

यसो गर्दा दिनलाई रातले निलिसकेको थियो, आकाशमा तारा चम्कन थालेका थिए। लुटेराको आक्रमणबाट बस्तीका केही व्यक्ति घाइते भएका थिए। सबैलाई जाम्बवन्तको अगाडि जम्मा गरिएको थियो। जाम्बवन्तले सबै घाइतेतिर नजर दौडाए, कतिको निधारमा स्पर्श गरे। चोट र दुखाइले छटपटाएका सबै एकैछिनमा शान्त भए।  

त्यसपछि जाम्बवन्त वरिपरि बूटी खोज्नतिर लागे। सत्राजितले जाम्बवन्तलाई नियालिरहेका थिए। उनले जाम्बवन्त गएकोतिर केही जडीबूटी ताराजस्तै चम्किरहेको देखे। जाम्बवन्तले तिनै चम्केका जडिबूटी ल्याई घाइतेको उपचार गरे। अधिकांश घाइते मुख र घाउमा औषधि पर्नेबित्तिकै तंग्रिएर उठे। सत्राजितको पनि बाहुमा तरबारको चोट लागेको थियो। औषधिको लेप लगाउनेबित्तिकै उनको घाउ पुरियो र छाला पूर्वावस्थामा फर्कियो, उनले शीतल अनुभव गरे।  

एक वृद्धलाई भने औषधिको कुनै असर देखिएन। उनको टाउकोमा चोट लागेको थियो, उनी निश्चल ढलिरहेका थिए। जाम्बवन्तले ती वृद्धलाई काखमा लिएर आँसु खसाए। यी सबै काम जाम्बवन्त मौन भएर गरिरहेका थिए। जब उनले ती वृद्धलाई काखमा लिएर आँसु खसाए, त्यहाँ रुवाबासी मच्चियो।  

लुटेरासँगको युद्धमा वृद्ध पनि सहभागी भएका थिए। प्राण त्याग गर्ने वृद्ध जाम्बवन्तका पिता थिए। त्यस राति नै विधिपूर्वक उनको सद्गत् गरियो। यी सबै कार्य सकिँदा मध्यरात भएको थियो। सत्राजितलाई खाने–सुत्ने व्यवस्था जाम्बवतीले गरिन्। दिनभरिका घटनाको स्मरणले उनलाई एक प्रकारको उकुसमुकुस हुन थाल्यो। अर्कोतिर घरीघरी स्मृतिमा छालहरू जस्तै लहराउँदै जाम्बवती आउँथिन् र निद्रा हरेर जान्थिन्।  

मूत्रत्याग गर्ने बहानामा शयन कक्षबाट निस्केर उनी बगैँचातिर लागे। मन बहलाउनु उनको उद्देश्य थियो। बगैँचामा वरपर केही जडीबूटी चम्किरहेका थिए। दिनको उज्यालोमा यी जडीबूटी यसरी चम्केका थिएनन्, उनलाई त्यो दृश्य अघिदेखि नै अनौठो लागिरहेको थियो। त्यसरी चम्केको जडीबूटीलाई चिन्न उनी नजिक गए। उनी जतिजति नजिक जान्थे, जडीबूटीको चमक बिस्तारै हराउँदै जान्थ्यो र सामान्य झारमा बदलिन्थ्यो।

अघि भर्खरै कुन बूटी चम्केको थियो भनी छुट्ट्याउन उनले सकेनन्। कतै यो जाम्बवन्तको जादुटुना त होइन ? सत्राजितलाई शंका हुन थाल्यो। सशंकित भएर उनले वरपर नियाले। नजिकै काठको मेचमा बसेर जाम्बवन्त घरी आकाशका तारालाई, घरी धर्तीका वनस्पतिलाई हेरेर रोइरहेका थिए। सत्राजित नजिकै गएर बोले, ‘हजुरलाई निद्रा लागेन, यो मध्यरातमा यसरी यहाँ किन बस्नुभएको ?’

‘मेरो निद्रा पुगिसक्यो। म पलभरमै रातभरको निद्रा निदाउन सक्छु। अहिले यहाँ मैले पिताजीको स्मरण गरिरहेको छु। सत्राजित ! जीवन साँच्चिकै क्षणभंगुर छ। केही समय धर्तीमा रहँदा यही क्षणभंगुर जीवन र प्रकृतिको महान् रहस्य बुझ्नुछ, त्यहीअनुसार बाँच्नुछ,’ जाम्बवन्त पर क्षितिजमा बादलका बीच देखिएको एउटा चम्किलो तारालाई हेर्दै बोले। वसन्त ऋतुको उत्तराद्र्ध थियो। बस्दाबस्दै उनीहरूमाथिको आकाशलाई कालो बादलले घेर्न थाल्यो।

‘हजुरलाई मेरो नाम कसरी थाहा भयो ? यहाँ अहिलेसम्म मेरो नाम कसैले सोधेको छैन !’ सत्राजित आश्चर्यमा परे। जाम्बवन्त मुसुक्क हाँसेर बोले– तिमी त्यस्तो समुदायको प्रभावमा परेको मानिस हौ, जहाँ व्यक्तिको चरित्र, स्वभाव, गुणलाई अनुभूत गर्नुभन्दा बढी त्यस व्यक्तिलाई बुझाउने नाम शब्दलाई महत्वपूर्ण मानिन्छ। एउटै नामलाई अनेक अवतारका रूपमा दोहो¥याएर मानिसको मन–मस्तिष्कमा स्थापित गर्न खोजिन्छ।  

अघि लुटेरामाथि तरबार चलाउँदै गर्दा तिमीले पटकपटक मुखबाट शब्द निकालेका थियौ– म वीर पुरुष सत्राजित हुँ। सत्राजितलाई सूर्यदेवको वरदान मिलेको छ। सत्राजितले यस तरबारको भरमा पहाड फुटाउन सक्छ। तैँले सत्राजितलाई चिनेको छैनस् ? तिमीले शब्द र उच्चारित मन्त्रलाई महत्व दिन्छौँ। शब्द वा मन्त्रभन्दा धेरै पर छ, जीवनको शक्ति र सौन्दर्य। शब्दको गरिमा सत्य बोल्नुमा छ, मिथ्या दोहो¥याउनुमा होइन। आफूलाई श्रेष्ठतर जाति भन्नेहरूले मलाई ऋक्षराज अर्थात् भालुको मुखिया पनि भनेका छन्। उनीहरू हामीलाई भालुजस्ता वनवासी मान्छे भन्छन्। उनीहरूले आफ्ना रंगमञ्चमा पनि हाम्रा पुर्खालाई भालुको मुकुण्डोमा देखाएका छन्। हामी प्रकृतिपूजक हौँ, जुन माटोमा फुल्नफल्न पुग्छौँ, त्यही माटोसँग जोडिएर चिनिन्छौँ।  

सत्राजित साष्टाङ्ग दण्डवत गर्दै बोले, ‘मलाई ज्ञानको प्रकाश दिने हे गुरु ! म बढी बोले हुँला, क्षमाप्रार्थी छु। मैले यहाँ आएदेखि जीवनको शक्ति र सौन्दर्यलाई शब्द र दृश्यभन्दा पर देखिरहेको छु। मलाई एउटा भ्रम भयो, यहाँ वरपर मैले केही दिव्य जडीबूटी देखेको छु, तर जब नजिक जान्छु, ती जडीबूटीको प्रकाश हराउँदै जान्छ। म यो कस्तो छलमा परेँ ? कृपा गरेर यसको सत्य मलाई बताउनुहुन्थ्यो कि !’

त्यही बेला वर्षा हुन थाल्यो। उनीहरू दुवैले एउटा रूखको ओत लिए।

‘अहिले तिमीले वरपर कुनै प्रदीप्त जडीबूटी देखेका छौ ?’ जाम्बवन्तले सोधे।

सत्राजितले वरपर नियालेर भने, ‘अहिले त कतै देखिएन।’

‘किन देखेनौ ?’

‘खोइ किन देखिएन ! मैले केही भेउ पाउन  

सकेको छैन।’

अकस्मात् पर अँध्यारोमा मानिसजस्तै कालो आकृति देखियो। सत्राजितले म्यानबाट तरबार निकाले। दिनको घटनाले गर्दा आफ्नो रक्षार्थ उनले तरबारलाई छाडेका थिएनन्। उनी तरबार उजाउँदै ‘त्यहाँ को हो ?’ भन्दै कालो आकृतितिर जाँदै थिए, जाम्बवन्तले रोके, ‘छाडिदेऊ, मलमूत्र त्याग गर्न निस्केका हाम्रै मान्छे हुन्।’

केहीबेर दुवै मौन रहेपछि पुनः जाम्बवन्त बोले, ‘तिम्रो निद्रा पुगेको छैन। जाऊ, सुत। एकै दिन धेरै कुरा बुझ्न थाल्यौ भने मस्तिष्क नै अलमलमा पर्छ र निरर्थक साबित हुन्छ। यस दिव्य बूटीको बारेमा म तिमीलाई अर्को दिन भन्नेछु। अतिथि भएर आएका छौ, केही दिन बस। तिम्रो सेवा गर्ने मौका पनि हामीलाई मिलेको छैन।’ जाम्बवन्तको भनाइमा राजी हुँदै सत्राजित सुत्न गए। उनी केही दिन जाम्बवतीको समीपमा बस्न चाहन्थे।

भोलिपल्ट बिहानै जाम्बवन्तको दैलोमा नजिकैका दुई गाउँका मुखियासहित केही मानिस आए। यता लुटेरा लागेको थाहा पाएर उनीहरू हिजै आउन खोजेका थिए। परन्तु उता उनीहरूलाई पनि दुःख परेको थियो। मयुरगंगाको पुल भाँचिएर दुईजनालाई गंगाले बगायो। आज बिहानै उनीहरू दुःख साट्न आएका थिए।  

यसअघि उनीहरूको गाउँमा पनि लुटेरा लागेका थिए। त्यतिबेला जाम्बवन्त गएर दुःख साटेका थिए। परेका दुःखसुखमा यी तीन गाउँबीच ओहोरदोहोर भइरहन्थ्यो। पैँचो र व्यापार पनि चल्थ्यो।

पटक–पटक विभिन्न समूहबाट आक्रमण हुन थालेपछि तीन गाउँका मुखियाबीच छलफल हुन थालेको थियो। छलफलमा तीन गाउँ मिलेर एउटा गणराज्य बनाउने, राज्य सञ्चालनका लागि एक प्रमुख र दुई सहायक मुखिया छान्ने, अनि युद्ध र खेतीपातीका लागि सेनाको समूह बनाउने, गाउँ वा राज्यको वरपर पर्खाल लगाउनेमा सबै सहमत भएका थिए।  

यसपटक तीनैजना मुखिया बसेर मुखिया छान्ने दिन र विधि–प्रक्रियाको छिनोफानो गरे। आउँदो पूर्णिमाको दिन मुखियाका लागि मतदान गर्ने निधो भएको थियो।  

मतदान हुन साता दिनजति बाँकी थियो। केही दिन जाम्बवन्तकहाँ अतिथि भएर बस्ने सत्राजितले निधो गरे, यो खबर उनले आफ्नो घरमा पनि पठाए। त्यसपछि सत्राजित गाउँलेसँगै कहिले सिकार, कहिले खेतीपातीका काम, कहिले सामूहिक भोजन र हरेक साँझ नाचगानमा सरिक हुन थाले। हरेक साँझ भोजनपछि गाउँलेहरू जाम्बवन्तको आँगनमा जम्मा भएर नाचगान गर्थे। मेलापात, नाचगान सबैमा जाम्बवती पनि सहभागी हुन्थिन्। किन्तु यसबीचमा सत्राजितले आफ्नो प्रेम जाम्बवतीका सामु शब्दमा व्यक्त गर्न सकेनन्।

पूर्णिमाको दिन आयो। बिहानै तीनै गाउँका मुखियासहित मानिसहरू भेला भए। सबैले सँगै भोजन गर्ने कार्यक्रम थियो। आफ्नो क्षमता अनुसार समूह–समूहमा बाँडिएर सबै भोजको व्यवस्थापनमा लागे। केहीबेरमै विभिन्न जनावरका मासु, फलफूल, अन्नका परिकार तयार भए। आ–आफ्नो रुचि अनुसार सबैले भोजन लिए। त्यसपछि मतदान कार्यक्रम सुरु भयो।

ठूलो चौरको बीचमा एउटा रेखा कोरेर एकातिर गाउँले र अर्कातिर तीनै गाउँका मुखिया बसे। ती मुखियाको अगाडि बाँसका ठुल्ठूला भकारी राखिएका थिए। आफूलाई जुन मुखिया छान्नुछ, त्यही मुखियाको भकारीमा उमेर पुगेका गाउँलेले आफूले भर्खरै भोज खाएको जुठा टपरी हाल्नुपथ्र्यो। कसले कसलाई रोजेको छ भन्ने सबैको अगाडि छर्लंग हुन्थ्यो।  

केहीबेरमै मुखियाका भकारी टपरीले भरिए। टपरी गनेर पहिलो, दोस्रो र तेस्रो हुने मुखिया छुट्ट्याइयो। यदि उम्मेदवारले बराबर मत पाएमा बुद्धिचाल खेल खेलाइने र त्यसैका आधारमा पहिलो र दोस्रो मुखिया घोषणा गर्ने पहिले नै निर्णय भएको थियो, त्यसो गर्नुपरेन। सबैभन्दा बढी मत जाम्बवन्तले पाएका थिए।  

त्यसपछि पुनः सबैले भोज खाए। दोस्रो चरणको मतदान गर्नु थियो, त्यसका लागि जुठा टपरी चाहिन्थ्यो। भोजनपछि पहिलो र दोस्रो हुने मुखियाबीच पुनः मतदान गरियो। तीनवटै गाउँका एक प्रमुख मुखियामा जाम्बवन्त नै चुनिए।  

दोस्रो र तेस्रो हुने मुखिया आ–आफ्नै गाउँको उपमुखिया भए। सबैको रायमा राज्यको नाम जाम्बवती राखियो। यो नाम जाम्बवन्तले नै सिफारिस गरेका थिए।  

मुखिया छानिएको साँझ पनि जाम्बवती राज्यका सबै प्रजाले एकै ठाउँमा भोजन गरे। त्यसपछि राति अबेरसम्म नाचगान चल्यो। नाचगान गर्दा जणणि मणि र जाम्बवन्तको स्तुति गाइएको थियो। यी सबै कार्यक्रममा सत्राजित आनन्दित मनले सहभागी भए। बेग्लै गाउँका भएकाले उनलाई मतदान गर्ने हक थिएन, मतदानमा उनी केवल दर्शक बने।  

राति सबै गाउँले आ–आफ्नो घर फर्केपछि जाम्बवन्त केहीबेर टहलिन बगैँचामा गए। काठको मेचमा बसेर उनले वरपर नियालिरहेका बेला सत्राजित पनि पुगे। उनलाई धेरै रहस्य बुझ्नु थियो र भोलिका लागि बिदा माग्नु पनि थियो।

‘जनपति ! म हजुरसँग केही कुरा गर्न चाहन्छु,’ सत्राजित बोले।

‘बस, जाम्बवती राज्यमा कसैले पनि मसँग कुरा गर्न अनुमति लिनुपर्दैन। मेरोअगाडि आएर सिधै भन्दा हुन्छ। तिमी त अझ अतिथि भयौ,’ अर्को मेच औँल्याउँदै जाम्बवन्त स्मित हाँसोमा बोले।

‘पहिलो रात्रिको वार्तामा हजुरले दिव्य बूटीका बारेमा बताउँछु भन्नुभएको थियो। यसबीचमा विभिन्न कामले गर्दा हामीबीच कुरा हुन पाएन,’ सत्राजित वरपर हेर्दै बोले, ‘मैले आज पनि वरपर दिव्य बूटी देखिरहेको छु। कृपया मलाई यसको रहस्य अहिले नै बताउनुस्, भोलि म फर्कंदै छु।’

‘भोलि नै फर्कनुपर्ने के काण्ड पर्‍यो ? केही दिन बस,’ जाम्बवन्तले सत्राजितसँग आँखा जुधाउँदै भने, ‘मेरी पुत्री जाम्बवतीलाई प्रेम गर्छौ, होइन ?’

सत्राजित केही बोल्न सकेनन्, नजर झुकाए।  

उनले त्यस दिन दिउँसो भोज खाँदादेखि साँझ नाचगान गर्दासम्म जाम्बवतीलाई मन पराउने थुप्रै पुरुष देखे। एउटी उपमुखियाकी पत्नीले त पहिलो चरणकै मतदानमा आफ्ना पतिलाई मतदान नगरेर जाम्बवन्तलाई गरेकी थिइन्। उनी जाम्बवन्तको परिवारसँग सम्बन्ध राख्न चाहन्छिन्। उनले जाम्बवतीकी आमासँग आफ्नो पुत्र र जाम्बवतीको बिहेको प्रस्ताव पनि राखिसकेकी थिइन्।  

ज्ञान र प्रेम पहिले बीज बनेर विचारमा आउँछ। त्यस विचारमाथि वादविवाद, चिन्तनमनन गर्दै जाँदा एउटा निष्कर्ष निस्कछ, त्यो निष्कर्ष व्यवहारमा व्यक्त हुँदा संसारका सबै मानवको हितमा देखिन्छ भने ज्ञान र प्रेम अंकुरण हुन थाल्छ, नत्र बीजकै रूपमा मर्न पुग्छ। अधिकांश मानिसको ज्ञान र प्रेम विचारको तहमै मरेको छ।

भर्खरै उदाएको संघीय राज्यलाई बलियो बनाउन यो विवाह आवश्यक छ भनी धेरैले कानेखुसी गरेका थिए। बेलुका जाम्बवतीसँग नृत्य गर्न धेरै पुरुषले धकेलाधकेल गरे। कति पुरुष उनका लागि ज्यान दिन तयार थिए। जाम्बवतीले भने एकपटक राजीखुसीले उपमुखियाका छोरासँग नृत्य गरेकी थिइन्। मेलापात र हरेक साँझको नृत्यमा भने जाम्बवतीले आफ्नो गाउँको कुनै पुरुषलाई मन दिएकी थिइनन्, सबैसँग समान व्यवहार गर्थिन्।

यो सबै देखे–सुनेपछि सत्राजितको मन भाँचिँदै गयो। बरु आफूमा भर्खरै टुसाउँदै गएको प्रेमलाई उखेलेर उनले भर्खरै उदाउँदै गरेको जाम्बवती राज्य बलियो भएको हेर्ने विचार लिए। त्यसैले उनी भोलिपल्टै घर फर्कन चाहेका थिए। धेरै दिन बस्दा जाम्बवतीप्रति झनै प्रेम बढ्ने र त्यसले पीडा मात्रै थपिने उनले आकलन थिए।  

जाम्बवन्तले नजिकै औँल्याउँदै भने, ‘त्यता हेर त, चहकिला बूटी देख्छौ कि !’  

हो, देखेँ। एउटा अलि बढी नै चहकिलो छ। त्योभन्दा कम चम्किएका थुप्रै छन् !

– पवित्र मन भएको मान्छेले नै यस बूटीलाई देख्न सक्छ। यहाँ आएदेखि तिमी जाम्बवतीको प्रेममा छौँ। निश्छल प्रेममा परेका वेला मानिसको मन अन्य विषयतिर धेरै भड्कँदैन र केही हदसम्म पवित्र बन्न पुग्छ। त्यसैले तिमीले यस दिव्य बूटीलाई देख्यौ। यसै पनि तिमी छलकपट गरेर अरूलाई अनावश्यक दुःख दिने स्वभावको व्यक्ति होइनौ।  

सत्राजित बीचमै बोले, ‘यहाँका अन्य मानिसले पनि यस बूटीलाई देखेका छन् ?’

देखेका छैनन्।

‘उसो भए, के यहाँका सबै मानिसको मन शान्त र पवित्र छैन ?’  

– तिमीले यही प्रश्न गर्छौ भन्ने मलाई थाहा थियो। मेरा पिताजीले भने अनुसार, यो ज्ञान धेरै वर्षअगाडि हाम्री कुनै आदिम आमालाई प्राप्त भएको थियो। उनले धेरै कोसिस गर्दा पनि त्यो ज्ञान अर्को व्यक्तिलाई दिन सकिनन्। मैले भने बच्चादेखि बूटीहरू चम्केको देख्थेँ। सुरुमा मलाई पनि तिमीलाई जस्तै हुन्थ्यो, छुन सक्दिनथेँ। यो कुरा मैले पिताजीलाई सुनाएँ। उहाँले मलाई हाम्रा पुर्खाको कहानी सुनाउनुभयो। अन्ततः मैले केही वर्षको चिन्तनमननपछि दिव्य बूटीलाई उखेल्न सक्ने भएँ। हो, मबाहेक यस गाउँमा यो बूटी देख्ने चक्षु अरूले पाएको छैन। किनभने, यहाँका सबै मानिस कुनै न कुनै त्रास र मोहमा छन्। यिनीहरूलाई त्रास र मोहबाट मुक्त पारेर सुखी जीवन दिने विधि र व्यवस्थाका म चिन्तन गर्दै छु।

सत्राजित ! यसलाई छुन सक्ने हुन मनमा कुनै त्रास र मोह राख्नु हुँदैन। यहाँ आएको पहिलो दिन तिमीले जाम्बवतीलाई आफ्नो बनाउने र नबनाउने भनी निर्णय गरेका थिएनौ। तिमी मात्र उनको प्रेममा लीन थियौ। त्यसैले त्यस दिन यी दिव्य बूटी देखेका थियौ। अर्को दिनदेखि तिमी जाम्बवतीप्रति आशक्त हुन थाल्यौ, जसरी पनि जाम्बवतीलाई पाउने चाह राख्यौ। जसले तिम्रो मनलाई स्थिर हुन दिएन, भड्काइरह्यो। त्यसैले त्यसयताका रातमा तिमीले यस बूटीलाई देखेनौ। अहिले साँझदेखि तिमीले आफ्नो प्रेम पाउने लालसा छाड्यौ र बूटीलाई अझ चम्किलो देखेका छौ।  

किन्तु अझै पनि तिम्रो मनमा धेरै कुराको मोह छ। तिमीले मातापिता र आफूलाई औधि माया गर्छौ। अर्कोतिर तिमीले मानसिक र शारीरिक शक्ति आर्जन गर्ने लालसा पनि पालेका छौ, यी सबै मोहबन्धन नै हुन्।  

‘मातापितालाई माया गर्नु कसरी मोहबन्धन भयो ?’ सत्राजितले प्रश्न गरे।  

– जबसम्म तिमीले मानिसलाई तुलनात्मक रूपमा माया गर्छौ, त्यो बन्धन बन्छ। तिमीले संसारका सबै मानवलाई समान माया गर्न सक्नुपर्छ, एउटालाई माया गर्दा अर्को विभेदमा पर्नु हुँदैन, यस्तो अभ्यास गर्दै जाँदा मायाले प्रेमको रूप लिन थाल्छ र तिमी मोहमुक्त र ज्ञानी मानव ठहरिन्छौ। माया र प्रेममा फरक छ, सत्राजित। मायामा आफ्नो मनसाको वस्तु भौतिक रूपमा प्राप्त गर्नैपर्छ, प्रेम मनको शान्तिसँग सम्बन्धित छ। यो फरकलाई तिमीले माया र प्रेम शब्दको कसीमा नबुझेर अन्य नाम दिन पनि सक्छौ।  

सत्राजित चहकिलो बूटी भएकोतिर गए। यसपालि पनि उनी जति नजिक गए, उति नै त्यस बूटीको प्रकाश धुमिल हुँदै हरायो। उनी त्यसलाई चिन्न नसकी फर्किए। त्यसपछि जाम्बवन्त गएर त्यस बूटीलाई उखेले। सत्राजितले परबाट जाम्बवन्तको हातमा पनि बूटी चम्किरहेको देखेका थिए। तर, उनी नजिक जाँदा त्यस बूटी चम्कन छाड्यो।  

सत्राजितले त्यस बूटीलाई आफ्नो हातमा लिँदै भने, ‘यही बूटी हो ? अब त म यसलाई दिनमा पनि चिन्न सक्छु।’  

जाम्बवन्तले बूटीको रहस्य वृत्तान्तमा बताए।  

सुन सत्राजित ! भोलि पनि रातमा यही बूटी चम्कन्छ भन्न सकिँँदैन। दिनभरिको हावा, घामपानी, कीराफट्याङ्ग्रा, जीवजन्तुको स्पर्शका कारण भोलि यही बूटी यति साह्रै नचम्केर कम चम्कन सक्छ। यसभन्दा बढी अर्को कुनै बूटी चम्कन सक्छ। धेरै बूटीका माझ एउटा मात्रै अलि बढी चम्कन्छ। जुन विशेष बूटी हुन्छ। मेरी आदिम आमाले यस विशेष बूटीको नाम जाम्बवती राखेकी थिइन्।  

बूटी चम्कनु वा नचम्कनु, रोगीको उपचार हुनु वा नहुनुमा तिम्रो आत्मशक्ति, शरीरको ऊर्जा र आँखाको तेजले पनि फरक पार्छ। चम्किएको बूटीमा मात्रै स्वास्थ्यका लागि हितकर तत्व हुन्छ। यस बूटीले पूर्ण रूपमा वृद्ध भइसकेको र जवान नै होस् किन्तु पूर्ण रूपमा आत्मविश्वास गुमाइसकेको व्यक्तिलाई कुनै असर गर्दैन। देख्यौ नि, मैले मेरा पिताजीलाई बचाउन सकिनँ।  

उमेरले त म पनि ६० नाघिसकेँ। परन्तु मेरो शरीर पनि बिस्तारै गल्दै छ। ढल्दै गरेको सूर्यमा मध्याह्नको जस्तो तेज हुँदैन, यही नै प्रकृतिको नियम हो।  

औषधीय गुण भएको बूटी दिनको घाममा पनि चम्कन्छ, त्यसलाई देख्न सक्नु वा नसक्नु फरक कुरा हो। परन्तु सुरुसुरुमा देख्ने मानिसले यसलाई चाँदनी वा तारामण्डल रातमा मात्रै देख्छ। सम्झना छ ? पहिलो दिन तिमीले पानी परेका बेला देखेका थिएनौ। यी सबै कुरा बुझ्न र यसलाई आफ्नै अनुभूतिमा प्रमाणित गर्न तिमीमा ठूलो धैर्य र साधना चाहिन्छ।

सत्राजित ! म तिमीलाई अर्को पनि रहस्य बताउँछु। तिमी यहाँ आएको पहिलो दिनको दिउँसोतिर मैले कुनै अपशकुनको संकेत पाएको थिएँ। त्यस संकटमोचनका लागि मसँग एउटा दृढ साहसी र निष्कपट पुरुष आवश्यक हुन्थ्यो। मैले आफ्नो आत्मशक्तिले वरपर तीन गाउँका पुरुषलाई लक्षित गरेर आह्वान गरेँ, कोही त्यस्तो पुरुष मेरो सामु आवोस्। त्यही पुरुषलाई पुत्री जाम्बवती सुम्पने पनि मेरो मनसाय थियो।  

ठीक त्यहीबेला तिमी यहाँदेखि नजिकै मेरी छोरीको प्रेममा परेका रहेछौ। त्यसैले मेरो आह्वान तिम्रो मनसँग जोडियो र तिमी मेरो घरसम्म आयौ। मैले तिम्रो शक्ति, संस्कार र मनको पवित्रतालाई जाँच्न तरबार उठाएँ। तिमीले घुँडा टेकेर संस्कार देखायौ। प्रेममा हार्नेहरूले नै जित्छन्। मलाई थाहा थियो, तिमीले जाम्बवतीको प्रेम पाउन मेरोअगाडि घुँडा टेकेका थियौ। तिमीजस्तो बलिष्ठ र वीर पुरुषले मेरी पुत्रीलाई हरण गरेर लैजान पनि सक्थ्यौ। त्यसो गरेको भए, त्यो तिम्रो मायामोहको व्यवहार हुन्थ्यो, प्रेम हुँदैनथ्यो। किन्तु तिमीले प्रेमको व्यवहारले जित्न खोज्यौ। त्यतिन्जेलसम्म मेरो आह्वानको पुरुष तिमी नै हौ भन्नेमा म विश्वस्त थिइन्। तिम्रो कुनै छल पनि हुन सक्थ्यो !  

जब म र लुटेराबीच युद्ध भयो, तिमीले विनासर्त मलाई साथ दियौ। मलाई थाहा थियो, तिम्रो मौन सर्त जाम्बवतीको प्रेम नै थियो। त्यस दिनको युद्धमा तिमी सबैभन्दा बढी जाम्बवतीको रक्षाका लागि खटिएका थियौ। तिम्रो जीवनको इतिहासमै त्यस दिन तिमी सबैभन्दा बढी वीर भएका थियौ, किनभने तिमी कसैको प्रेममा परेका थियौ। जाम्बवतीले पनि तिमीलाई पहिलो नजरमै मनपराउन पुगेकी थिइन्। अघि भर्खरै जाम्बवती उपमुखियाका छोरासँग नाचेको तिमीमा इष्र्या जगाउन हो। तिमीले प्रकट गरेको इष्र्यामा उनले आफूप्रतिको तिम्रो प्रेम देख्न चाहन्थिन्।

ढुक्क हौ, तिम्रो आफ्नै एक प्रकारको साधनाले तिमीले आफ्नो प्रेम पाइसकेका छौ। म र यस जाम्बवती राज्यको कोही पनि तिमीहरूको पवित्र प्रेममा बाधा बन्न सक्दैन। मलाई जाम्बवतीकी आमाले बिहानै भनेकी थिइन्– पुत्री जाम्बवती अतिथि सत्रातिजको प्रेममा परेजस्तो छ, अनौठो व्यवहार प्रदर्शन गर्न थालेकी छे।

जाम्बवन्त बोल्दै गर्दा नजिकै कालो आकृति देखियो। पहिलो दिनको रातमा जस्तै सत्राजितले तरबार निकाले।  

जाम्बवन्त बोले– कुनै शत्रु होइन, मेरी पुत्री जाम्बवती हुन्।  

तिमीलाई के लाग्छ, स्त्रीहरू मूर्ख हुन्छन् ! आफूलाई प्रेम गर्ने पुरुषलाई राम्रोसँग बुझ्दै नबुझी समर्पित हुन्छन् !  

त्यस दिन जणणि मणि बाटोमा खसेको होइन, उनैले खसाएकी हुन्, तिम्रो परीक्षा लिन। त्यस रात पनि हामी कुरा गरेर बसेका बेला तिमीले कालो आकृति देखेका थियौ, त्यो अरू कोही नभएर जाम्बवती नै थिइन्।  

तिमी को हौ ? कुनै गुप्तचर हौ कि ? कुनै चालबाजी रच्दै छौ कि ? अथवा, तिम्रो स्वास्थ्यमा कुनै खराबी देखियो कि ! त्यही थाहा पाउन उनले त्यस रात पनि तिम्रो चियो गरेकी थिइन्।  

अहिले उनले हामीबीच भएका धेरै कुरा सुनिन्। विशेषतः ‘हामी कोही पनि तिमीहरूको प्रेममा बाधा बन्दैनौँ’ भनेको सुनेपछि उनी खुसीले थामिन सकिनन् र गइन्।

‘हे मेरा गुरु ! जीवनमा साँचो ज्ञान र प्रेम पाउन कठिन रहेछ। किन यस्तो हुन्छ ?’ सत्राजितले सोधे।  

‘सत्राजित ! यही त हो, जीवन र जगत्को रहस्य। ज्ञान र प्रेम पहिले बीज बनेर विचारमा आउँछ। त्यस विचारमाथि वादविवाद, चिन्तनमनन गर्दै जाँदा एउटा निष्कर्ष निस्कछ, त्यो निष्कर्ष व्यवहारमा व्यक्त हुँदा संसारका सबै मानवको हितमा देखिन्छ भने ज्ञान र प्रेम अंकुरण हुन थाल्छ, नत्र बीजकै रूपमा मर्न पुग्छ। अधिकांश मानिसको ज्ञान र प्रेम विचारको तहमै मरेको छ।  

प्रेम गर्नु भनेको पवित्र विचार गर्नु मात्र होइन, व्यवहारले प्रमाणित गर्नु हो। उदाहरणार्थ ः जाम्बवतीले भेट भएदेखि तिम्रो व्यवहारलाई ध्यान दिएकी छन्। यहाँ आएदेखिका तिम्रा हर व्यवहार हामी सबैको हितमा छ। त्यसैले तिम्रो व्यवहारसँग उनी हारिसकेकी छन्।  

‘सत्राजित ! जाम्बवतीसँग बिहेका लागि के सोचेका छौ ?’ जाम्बवन्तले सत्राजितलाई हेर्दै सोधे।

‘भगवन् ! मैले त केही सोचेको छैन। के कसो गरौँ ? हजुरकै सल्लाह चाहन्छु,’ सत्राजित बोले।  

जाम्बवन्त मेचबाट उठ्दै भने, ‘भोलि बिहानको खाना खाएर आफ्नो घर जाऊ। उता मातापिताको आशीर्वाद लिएर जाम्बवतीलाई लिन आऊ। तिम्रो विवाहबारे मातापिताको इच्छा र आदेश के रहेको छ, त्यो पनि तिमीले बुझ्नुपर्छ। रात छिप्पिन थालिसक्यो, अहिले सुत्न जाऊ। म पनि केहीबेर निदाउँछु।’  

(कथा सकिएको छैन। यसको दोस्रो भाग छिटै प्रकाशित हुनेछ।)

प्रकाशित: १ जेष्ठ २०७८ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App