सत्तारुढ नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुने भनिएको एकताको पहल अल्मलिन थालेको संकेत मिलेको छ । दुई दलबीच निर्वाचन तालमेल हुँदा स्थायित्वका निम्ति मात्र प्रतिबद्धता जनाइएको थिएन, दुवै दलबीचको सम्भावित एकताको आश्वासनले समेत मतदातालाई आकर्षित गरेको हो।
सर्वसाधारण नेपालीका निम्ति स्थायित्व र एकताजस्ता शब्दावली आकर्षक बन्ने गरेका छन् । वामपन्थी दलहरूको संख्या धेरै हुँदा मतदाताले तिनलाई मतदान गर्न चाहे पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको आलोकमा पनि तिनका बीच एकता हुनुपर्छ भन्ने खास आग्रह हुँदै आएको पनि हो । दलको विभाजनलाई नेपाली राजनीतिक सन्दर्भमा सर्वसाधारणले कहिल्यै मन पराएनन्।
नेपाली कांग्रेसको विभाजन भई नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्दा त्यसले राजनीतिमा सकारात्मक परिणाम दिन सकेको महसुस भएन । पछि विभाजित भई बनेको कांग्रेस प्रजातान्त्रिक मूल भँगालोमै फर्के पनि त्यसको प्रभाव अहिलेसम्म त्यो दलमा देखिएको छ । विभाजन र एकताको भुक्तभोगीमा वाम दलहरूको अनुभव सबैभन्दा घनीभूत छ । विभाजन र एकताका अनेकन् चरण पार गरी एमाले र माओवादी केन्द्र अहिलेको अवस्थामा आएका हुन्।
जसरी नाटकीय रुपमा यी दुई दलले आपसमा मिलेर निर्वाचनमा सहभागिता जनाए अहिले तिनको एकतामा पनि जटिलता देखिँदैछन् । निर्वाचनमा दुई दलको गठबन्धन जति सहज रह्यो, एउटै दल बन्नु त्यति सहज छैन भन्ने यसबीचमा भइरहेका असफल प्रयासले पनि मुखरित गरिरहेका छन्।
एमाले र माओवादी केन्द्रको निर्वाचन गठबन्धन सहज हुनुको कारण सिट बाँडफाँट थियो । कांग्रेसले एमालेले भन्दा बढी स्थान माओवादी केन्द्रका निम्ति दिएको भए निर्वाचन गठबन्धन अर्कै बन्न सक्थ्यो । तर, एमाले र माओवादी केन्द्रबीच ६०ः४० को अनुपात एकअर्काका निम्ति सहज अवस्था बन्न पुगेको हो । एउटा दल बनेपछि हुनसक्ने सम्भावित आन्तरिक गुटबन्दी र संघर्षले माओवादी केन्द्रलाई एकीकरण गरिहाल्न रोकेको महसुस हुन थालेको छ ।
एमाले र माओवादी केन्द्र मिलेर अर्को दल बन्ने वा एउटा दल अर्कोमा समाहित हुने भन्ने दृष्टिकोणकै समस्या पनि देखिएको छ । अहिले हतारमा एकीकरण गरेर फुर्सदमा पछुताउनुपर्ला कि भन्ने मानसिकता पनि माओवादी केन्द्रमा देखिन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको दल सञ्चालनको तरिकाले भविष्यमा माओवादी केन्द्रबाट आउनेलाई समस्या पर्ने आशंका पनि हुन थालेको छ।
अन्तरपार्टी लोकतन्त्रको कमीका कारण दलहरूभित्र गुटबन्दी छ । एमाले र माओवादी केन्द्रबीच एकता भइहाल्यो भने पनि अहिले ती दलहरूभित्र रहेका गुटको विकास नयाँ ढंगले हुनेछन् । गुटबन्दी र आगामी दिनमा आफ्नो भूमिका सुनिश्चितताका लागि पनि प्रमुख नेताहरूमा पार्टी एकतामा अलमलको स्थिति आएको देखिन्छ।
अहिले एकीकरण भए पनि फेरि विभाजित हुनुपर्दा दलको केन्द्र वा संसदीय दलमा आवश्यक संख्या पुर्याउन सकिने- नसकिने रणनीतिक तयारीलाई पनि यी दलका नेतृत्व र कार्यकर्ता पंक्तिले हेरिरहेको बुझ्न सकिन्छ ।वास्तवमा मुलुक लोकतान्त्रिक शासन प्रणालीमा अघि बढिरहेको भए पनि अन्तरपार्टी लोकतन्त्रको अभ्यासमा सबैजसो दल कमजोर देखिएका छन् । अन्तरपार्टी लोकतन्त्रको कमीका कारण दलहरूभित्र गुटबन्दी छ । एमाले र माओवादी केन्द्रबीच एकता भइहाल्यो भने पनि अहिले ती दलहरूभित्र रहेका गुटहरूको विकास नयाँ ढंगले हुनेछन् ।
गुटबन्दी र आगामी दिनमा आफ्नो भूमिका सुनिश्चितताका लागि पनि प्रमुख नेताहरूमा पार्टी एकतामा अलमलको स्थिति आएको देखिन्छ । यो एकता प्रयासमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल दुईजनाको विशेष भूमिका हुँदाहुँदै पनि दुवै दलभित्रका अन्य नेताको स्थान भोलि कहाँ हुने हो भन्ने पक्षले पनि काम गरेको छ । कतिपय नेताले मुखै फोरेर दुई नेताको व्यवस्थापन मात्र होइन आफूहरूको स्थानबारे पनि सुनिश्चित गर्न आग्रह गरेको सार्वजनिक चर्चामै छ।
यी दलहरूको एकता प्रयासका जेसुकै तत्वले अवरोध गरेको भए पनि सर्वसाधारणमा तिनले निर्वाचनअघि गरेको प्रतिबद्धता पालना नहुँदा धोका भएको महसुस गर्न सक्ने अवस्था आउनेछ। स्थिर सरकारमार्फत मुलुकमा समृद्धि हासिल गर्ने सर्वसाधारणको इच्छा पूरा गराउन पनि सत्तारुढ दलहरूको ध्यान जानु आवश्यक छ । यी दलबीच एकता प्रयास अलमलिँदा समृद्धिको प्रयास पनि अलमलिन सक्नेछ।
प्रकाशित: ५ वैशाख २०७५ ०६:३० बुधबार