विचार

प्रधानमन्त्री निवासलाई गिज्याउने दृश्य

नेपालको राजनीतिक, प्रशासनिक क्रिया, प्रक्रिया र व्यवस्था सम्बन्धमा सधैँ चासो र चर्चामा रहने गरेका महŒवपूर्ण दुई स्थान सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, नेपालमै बस्ने र नेपाल हेर्न आउने सर्वसाधारणदेखि विद्वान्, प्रबुद्ध वर्ग र राजनीतिक रापताप बुझेकालाई पनि कस्तो न होला ? भन्ने लाग्छ। यो स्वाभाविक पनि छ। नेपालको इतिहासमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायतको वकिङ्गघम प्यालेस देखेर राजर्षि ठाँटको प्रशासनिक भवन सिंहदरबार बनाएकोबारे सबै जानकार छन्। यसको वरिपरि पनि प्रशासनिक माहोल छ। छरछिमेक मिलेको स्वरूपमा देखिन्छ। त्यहाँ सर्वसाधारणले स्वतन्त्र भएर घुम्ने अवसर छैन। सधैँ निहित स्वार्थका लागि मरिहत्ते गर्नेहरू त्यहाँ प्रवेश गरेका देखिन्छन्। उनीहरूका चलाखी र दलाली पद्धतिले सर्वसाधारण त्यहाँसम्म पुग्न सक्दैनन्। त्यसैले सिहंदरवार घुम्ने र हेर्ने उत्कट चाहना बोकेका जिज्ञासु शायदै भित्र गएका पाइन्छन्।  

यसको तुलनामा बालुवाटार प्रवेश निषेध र प्रवेश सहजका रूपमा छ। प्रधानमन्त्रीको जिल्लाको नाम लिनोस्, प्रधानमन्त्रीकै पार्टीको कार्यकर्ता बन्नुहोस्, प्रवेश सहज छ। बिचौलियाको जालोमा बाँधिएको वा त्यस्ता श्रव्यदृष्य सामग्रीमा नेता बिचौलियासँग कुरा गर्न लागेको वा हात मिलाएको फोटो, भिडियो छ भने सबै सहज छ। विचरा सुरक्षाकर्मी आगन्तुकको भेउ नपाउँदै जानोस् वा नजानोस् भन्न बाध्य हँुदारहेछन्। उहिले भक्तपुरका सिध्दहस्त कुमाले कृष्णमान जसको नामले नै मल्ल राजाका वाग बगैँचामा विनारोकतोक जान पाउँथे रे, त्यसबारे दन्त्य कथा जस्तो कृष्णमान कुमालका भैँसी पाल्नेका मान्छेको मान्छे भए पनि दरवारको सुरक्षा घेराभित्र सहज प्रवेश हुने गथ्र्यो भन्ने सुनेको थिएँ।  

नेपालमा २०४७ सालको संविधानमा शासन व्यवस्था बहुदल भएर आएपछि चर्चामा आउन थालेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार त्यसपछिका वर्षमा नाम र कामको हिसाबले सिंहदरबारसरह वा त्यो भन्दा माथि पुगेको जस्तो चर्चाको शिखरमा देखिन्छ। यो पंक्तिकारले बालुवाटारमा प्रधानमन्त्री निवास देखेको र त्यहाँभित्र प्रवेश गरेको अवधि गणना गर्दा २०७९ माघ ११ गते सम्ममा पाँच पटक भएको छ।  

पहिलो पटक, २०४५ सालमा मरीचमान सिंह प्रधानमत्री हुँदा म युवा स्नातकको हैसियतमा स्वयंसेवा गर्न प्रधानमन्त्रीका आसेपासेले बालुवाटारमा प्रधानमन्त्री भेट्न जाने भनेर बोलाएर पुगेको थिएँ। त्यतिबेला २ महिनाको अन्तरालमा दोहो¥याएर गएको थिएँ।  

तेस्रोपटक गिरिजाप्रसाद कोइराला २०५१ सालमा प्रधानमन्त्री भएताका मेरो गाउँको बेसीको चौर जहाँ अहिले १००० शैयाको वीर अस्पताल बन्ने हल्लाले जग्गा दलाल फस्टाएको चर्चित आवास क्षेत्र बनेको छ (त्यहाँ नेपाल इन्जिनियरिङ कलेज पनि छ) त्यहाँको पर्ती जग्गामा परोपकार संस्थाले अस्टे««लियन दूतावासको सहयोगमा परोपकार बालग्राम बनाउने भएपछि प्रधानमन्त्री शिलान्यास गर्न पुग्ने क्रममा हालको चाँगुनारायण स्कुल चौर (तत्कालीन पाटीको टार) बाट बेसी जाने पैदल बाटोमा वयोवृद्ध प्रधानमन्त्रीलाई हात समाउँदै १५ मिनेट ओरालो बाटो र उकालो चढाउँदा मलाई गाउँको परिचय साथै व्यक्तिगत परिचय दिने मौका मिल्दा उहाँले जिम्मेवार अभिभावकका रूपमा सहजै मलाई भन्नुभयो– ल बाबु मलाई भेट्न बालुवाटार आउनू, तिमी कामको असल मान्छे रहेछौ भन्नुभएकाले केहि महिनापछि उहाँलाई भेट्न पुगेको थिएँ। त्यतिबेला भक्तपुरे कांग्रेस नेताको साथ र नाम थाहा नपाएर बालुवाटारका बिचौलियाले मलाई प्रधानमन्त्री भेट्ने बाटो दिएनन्। उतिबेला अहिलेको जस्तो मोबाइल फोनको सुविधा थिएन, जाहेरी गर्नेको सर्त मेरा लागि फलामे बार भयो। आफूलाई ल्यान्डलाइनबाट गरेको फोन प्रधानमन्त्रीले उठाउने कुरा थाहा पनि भएन र निमुखा भएर बाहिरैबाट नभेटी फर्केको थिएँ।  

चौथोपटक २०७७ सालमा जिल्ला समन्वय समिति महासंघको प्रतिनिधित्व गर्दै राष्ट्रिय विकास समस्या समाधान समितिको अध्यक्षता प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्ने बैठकमा छिरेको थिएँ। त्यतिबेला कडा सुरक्षा व्यवस्थाअन्तर्गत ढोकाबाट घोडाझैँ सिधै बैठक कक्षमा गएको र बैठक सकिँदा पनि सोझै बाहिरिएकाले केही हेर्न पाइएन।  

यसपालि, पाँचौँपटक २०७९ माघ ११ गते जिल्ला समन्वय समिति महासंघ नेपालको नवनिर्वाचित केन्द्रीय पदाधिकारीसहितको प्रतिनिधिमण्डलमा मिसिएर बिहान ८:०० बजे बालुवाटार छिरेर १०:३० बजे बाहिरिए। माथि भनेझैँ बालुवाटार दरवार बिहानैदेखि वास्तवमै व्यस्त थियो। सधैँभरि शक्तिकेन्द्रसँग जोडिने बानी परेका, देश बनाउने सपना देख्नेदेखि सपना देखेको बहानामा अवसर खोज्ने, प्रधानमन्त्रीलाई सघाउने बहानामा खेती गर्ने, पार्टी हाँक्ने र आसेपासे, भरोसामन्दको संख्या बढाउने सामथ्र्य देखाउनेदेखि देशको संवैधानिक व्यवस्थाअनुसारका काम गर्न पाउँ भन्नेहरू त्यहाँ पुग्दारहेछन्।  

त्यहाँको भिडभाड हेर्दा ‘सेवाहि परमोधर्म’ भनेर ‘कर्मण्डे वाधिकारस्थे मां फलेसु कदाचन’ का साधु मन अत्तालिएर थोरै कुरासहित छोटो समयमा बाहिरिनु राम्रो हुने बुझेँ। राम्रै कुरा भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग १५ मिनेट मात्र भेटघाटको अवसर मिल्यो। बाँकी समय पालो कुर्ने क्रममा पहिलो थरकमार्ने वास, दोस्रो परिचय र जाहेरी दर्ता कक्ष हुँदै तेस्रो तहको बैठकमा सुरक्षा जाँच र सहजीकरणका साथ प्रधानमन्त्रीले सर्वसाधारणलाई भेट्ने कक्षसम्म पुग्दा मैले कोठा भित्र र बाहिर, शौचालय तथा एक भवनबाट अर्को भवनसम्मका दूरीमा पैदल हिँड्दा नवनिर्मित नेपाली शैलीको प्रधानमन्त्री निवासका भवनहरू, अण्डा आकारको चौघेराभित्रका बारीबगैँचा, सडक, बाटा र अन्य आवतजावत गर्ने आगन्तुकलगायत बालुवाटार दरबारभित्र जति हेरेँ त्यति नै पर्खालबाहिरको अवस्था पनि नियालेँ।  

केही वर्षदेखि राजनीतिक संरक्षण र संलग्नतामा धावा बोलिएको, किल्ला ठोकिएको, किल्ला फुकालिएको, चित्रिएको र थोत्रिएको अवस्थामा पुगेको भनेर श्रव्य दृष्य र छापामा भंगेरामार अक्षरमा उद्धिृत, चिन्ता र चासो अनि सम्पदाका रूपमा आमसरोकारको विषय बनेको ललिता निवासको जग्गा प्रधानमन्त्री निवासको प्रभावशाली छिमेकीका रूपमा दक्षिणपट्टि देखेँ। भूमाफिया र बिचौलियाले राज्यशक्ति आफैँ लिएर चलखेल गरेकोबारे सुनेको स्थान पुगेको हुनाले पनि मलाई त्यो सर्वसाधारणले सहजै प्रवेश नपाउने चौघेराभित्रबाट चियाउन, नियाल्न र त्यो जबर्जस्ती करणीको पीडामा परेकी धराधामलाई छोएरै, सँुघेरै अनुभूत गर्ने मन थियो।  

मैले स्वदेश र विदेशमा लामो समय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र शान्ति स्थापना कार्यमा खटिने मिसनमा रहेर काम गर्दा युध्द र दंगाग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय भाइचारा, मानव अधिकार र मानव विकासका सूत्र र पध्दतिमा टेकेर काम गरेँ। यस क्रममा स्थान र अवस्थाअनुसारका नीति, कूटनीतिको अभ्यास गर्दै हारेको महसुस गरेका र जितेको महसुस गरेका पक्षहरूसँगको साक्षात्कार र संवाद तथा शासकीय प्रबन्धका पाटामा ‘डु नट हार्म’ को माध्यमबाट शान्ति स्थापना गराउन सघाएँ। जनप्रेमी शासक र जनताको शासन व्यवस्थाबारे वकालत, बहस पैरवी र मध्यस्थता गरेको, राजनीतिक, सामाजिक, आर्थिक विषयका आक्रोश र भावना सुनेको र कुन असल हुन्छ भनेर अध्ययन÷अनुसन्धान गर्दै आवश्यक क्षमता विकास र शान्तिका प्रक्रियाबाट नेतृत्वलाई प्रभावकारी बनाउन सफल भूमिका निभाएको पृष्टभूमि पनि थियो।  

सिंहदरवार र बालुवाटार दरवारबारेको मेरो अनुभूति केवल आत्मरति परिदृष्य हो त ? मैले फेरि सोचेँ र मेरो चासोको विषयको सारमा मन घोरिन पुग्यो। हे भगवान कुन स्रोत÷साधन वा प्रविधि नपुगेर, नमिलेर त्यस्तो विध्न मन कँुडिने अवस्थामा हाम्रा प्रधानमन्त्रीलाई बस्न निवास तोकिएको होला ? यदि मलाई भएको पीडा र उसिस, निषिस शासन व्यवस्थाको प्रपञ्च मिलाउने जिम्मेवारी बोकेकाले अनुभूत गरेका भए यसरी गिज्याएको सहनुपर्ने थिएन कि ? 

प्रकाशित: १ फाल्गुन २०७९ २३:४९ सोमबार