अन्तर्राष्ट्रिय

अमेरिकी सीमामा आप्रवासी पक्राउ

वासिङ्टन – अमेरिकी सीमा सुरक्षा अधिकारीले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार पाँच सय ४२, ११ हजार पाँच सय सातजना बालबालिका र ३६ हजार आठ सय ३८ जना एकल वयस्क व्यक्ति रहेका छन् ।

यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार तीन सय चार जना पक्राउ परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाइ गरे पनि त्यो रोकिएको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिको सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहेका छन् । अध्ययनले अधिकांश आप्रवासी मेक्सिकोसमेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ ।

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकोको सामानमा पाँच प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् । अमेरिकी दबाबपछि मेक्सिकन विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन् । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको बताउँदै आएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App