स्वास्थ्य

खोटाङमा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट पठाइएका ३३ जनाको स्वाबमध्ये २० वर्षीय युवाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको रिपोर्ट आएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्यावले सोमबार साँझ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक युवामा कोरोना पोजिटिभ देखिएको रिपोर्ट जिल्ला अस्पताललाई पठाएको छ । ‘साँढे ६ बजे ल्यावबाट पोजिटिभ देखिएको जानकारी आयो,’ डा. श्रेष्ठले भने, ‘त्यसको एक घण्टापछि रिपोर्ट नै प्राप्त भएको छ ।  

यस विषयमा प्रदेशलाई पनि जानकारी भइसकेको छ ।’ प्राप्त रिपोर्टका आधारमा जिल्ला अस्पतालले इमेलमार्फत जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारीका लागि पत्र पठाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । एक युवाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको विषय स्वास्थ्य मन्त्रालयबाट भने सार्वजनिक हुन बाँकी छ ।  

कोरोना पोजिटिभ देखिएको रिपोर्ट सार्वजनिक भएपछि जिल्लामा त्रास फैलिएको छ । शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाबाट उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बैसाख १२ गते बसमार्फत गाउँ आएका थिए । गाउँ आएपछि उनी होम क्वारेन्टिनमा बसेको नगरपालिकाले जनाएको छ ।

गत शुक्रबार नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टिनमा बसिरहेका १ जना र काठमाडौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टिनमा बसिरहेका २४ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो ।  

पोजिटिभ देखिएका युवाको घर सिल 

एक युवाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनको घर सिल गरेको छ । घर सिल गर्नका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि पठाइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् । नगरपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले नगरपालिकाको सबै नाका बन्द गर्ने, संक्रमित युवाको पुन: पिसिआर टेष्ट गर्ने र उपचारमा पठाउने, उनका परिवारको पनि पिसिआर टेष्ट गर्ने, नगरपालिकाको सरकारी कार्यालय तथा बैंकिङ कारोबार बन्द गर्ने लगायतका निर्णय गरिएको उपमेयर राईले बताईन् । 

प्रकाशित: ५ जेष्ठ २०७७ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App