नेपाली नागरिकको आँखा स्वास्थ्य सेवा सहज र सुलभ बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरिएको हो।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिमा सहयोग गर्नेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गम क्षेत्रका नागरिकलाई १० प्रतिशत र अन्य नागरिकलाई थप छुटमा उपलब्ध गराउनेछ।
सम्झौताअनुसार सरकारले तिलगंगाका परियोजना कार्यान्वयनका लागि मातहतका निकायमार्फत समन्वय गर्नेछ। प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउने व्यवस्था मिलाइनेछ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रियापछि प्रयोग हुने लेन्सको कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि करमा सहुलियत प्रदान गर्नेछ।
सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालले आँखा उपचार क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको उल्लेख गर्दै डा. रुइतको कार्यको उच्च मूल्याङ्कन गर्नुपर्ने बताए।
‘डाक्टर रुइतले आँखा उपचारमा विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा ख्याती कमाएका उहाँको कार्यलाई थप सहयोग गर्न सरकार प्रतिबद्ध छ।’
डा. रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारका लागि सक्रिय रहेको भन्दै मन्त्रालयसँग हातेमालो गर्न तयार रहेको बताए। ‘हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सघाउन आवश्यक छ,’ उनले भने, ‘हामी मन्त्रालयसँग सहकार्य गर्न उत्साहित छौं।’
प्रकाशित: ३ चैत्र २०८१ १९:०५ आइतबार