शिक्षा

फक्ताङलुङले उच्च शिक्षाका लागि सतप्रतिशतसम्म छात्रवृत्ति दिने, यस्ताे छ मापदण्ड

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहनेहरू पालिका भित्रका नागरिकलाई सतप्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार मादण्ड पुगेका छात्रवृत्ति प्राप्त गर्न चाहनेहरूले फागुन मसान्तसम्ममा पालिकामा निवेदन दिनुपर्ने छ। पालिकाका सूचना अधिकारी जय रिजालका अनुसार एसईई उत्तीर्ण भई गाउँपालिकामा सामुदायिक विद्यालयहरूमा पठनपाठन नहुने संकायहरूमा कक्षा ११ र १२ वा अन्य प्राविधिक विषय जिल्लाभित्रका सामुदायिक विद्यालय तथा क्याम्पसहरूमा पढ्न चाहनेले ५० प्रतिशत छात्रवृत्ति पाउने छन्। 

फक्ताङलुङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट एसईई र कक्षा ११ र १२ उत्तीर्ण गरी जिल्लाभित्रका सरकारी वा सामुदायिक क्याम्पसहरूमा थप उच्च शिक्षा हासिल गर्न चाहनेहरूले भने सतप्रतिशत छात्रवृत्ति पाउने गाउँपालिकाले जनाएको छ। योग्यता र मापदण्ड पुगेकाहरूले छात्रवृत्ति प्राप्त गर्नका लागि गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ भने ताप्लेजुङ जिल्लाभित्रका सरकारी वा सामुदायिक क्याम्पसमा भर्ना भई नियमित अध्ययन गर्दै गरेको हुनुपर्ने पालिकाको सर्त रहेको छ।

सतप्रतिशत छात्रवृत्तिका लागि पालिका भित्रका सामुदायिक विद्यालयहरूबाट एसईई र कक्षा ११–१२ उत्तीर्ण भएको हुनुपर्ने छ। छात्रवृत्ति प्राप्त गर्न चाहनेहरूले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्राप्त नगरेको भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ।

यस्तै उच्च शिक्षा अध्ययन गर्ने शिक्षण संस्थामा बुझाएको शुल्क बिलको सक्कल प्रति, क्याम्पसले संकाय अनुसार शुल्क निर्धारण गरेको प्रमाणित सूची, विद्यार्थीको बैंक चेक भए त्यसको प्रतिलिपिका साथ हालसालै खिचेको पासपोर्ट साइजको एक थान समेत संलग्न गरी आवेदन दिनुपर्ने हुन्छ। आवेदन पेस गर्नु अघि गाउँ शिक्षा समितिका अध्यक्ष एवं पालिका अध्यक्षको तोक आदेश लगाई गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन गर्न गाउँपालिकाले आवह्वान गरेको छ।

प्रकाशित: ४ पुस २०८१ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App