शिक्षा

१२ विद्यार्थीका दुई शिक्षक, प्रअ भन्छन्: विद्यालयमा चरम दलीय राजनीति भयो

तस्बिर : गाेल्डेन बुढा/ नागरिक

जुम्लाको तातोपानी गाउँपालिका-४ मा रहेको श्री गणेश आधारभूत विद्यालय गिडिचौरमा केही समय यता विद्यार्थी संख्या ह्वात्तै घटेको देखिन्छ। हाल सो विद्यालयमा मात्र १२ जना छात्रछात्रा अध्ययनरत छन्। उनीहरूमध्ये बाल विकास केन्द्रका १० जना छन् भने अन्य कक्षा २ मा अध्ययनरत छन्। अरू कक्षा ३, ४ र ५ मा भने विद्यार्थी नै छैनन्। तर उक्त विद्यालयलाई कक्षा ५ सम्म पढाउने अनुमति छ। 

विद्यार्थीको सङ्ख्या घटेपछि विद्यालयको अस्तित्व नै धरापमा परेको प्रधानाध्यापक नन्दकृष्ण चौलागाईंले बताए। उनका अनुसार हरेक वर्षको भर्ना अभियानमा शिक्षकहरू अभिभावकको घरदैलोमा पुग्छन्, बच्चा पठाइदिन आग्रह गर्छन्। तर अभिभावकले विद्यार्थी पठाउँदैनन्। 

विद्यालयमा भौतिक संरचनाको अवस्था राम्रो छ। घेराबारा गरिएको छ। खानेपानी र शौचालयको सुविधा पनि छ। प्रधानाध्यापक चाैलागाईँले भने, '२०४९ सालमा स्थापना भएको यस विद्यालयमा एक जना स्थायी शिक्षक छन्।' उनी विद्यालयका प्रधानाध्यापक हुन्। काम पर्दा उनी पनि विद्यालयमा पुग्न सक्दैनन्। विद्यालय प्रायः बाल विकास सहजकर्ताको भरमा चल्ने गरेको छ।

विद्यालयमा स्थायी शिक्षक दरबन्दी भने तीन वटा छ। विद्यार्थी नभएको भन्दै गाउँपालिकाले दुई शिक्षकलाई विद्यार्थी चाप भएको अर्कै विद्यालयमा पठाइसकेको छ। प्रधानाध्यापक चौलागाईं नजिकै माध्यमिक विद्यालय भएकाले विद्यार्थी रोक्न नसकिएको बताउँछन्। ‘साना बच्चा दिदी-दाइसँगै माध्यमिक विद्यालयमा जान्छन्,’ उनले भने, ‘नजिकै निजी विद्यालय पनि छ। कतिपय अभिभावकले सदरमुकाम खलंगामा खोलिएका निजी विद्यालयमा छोराछोरीलाई पठाउँछन्।’

विद्यालयले मंसिर र चैतमा अभिभावक भेला बोलाउने गरेको प्रधानाध्यापक चौलागाईंले जिकिर गरे। उनले अभिभावक भेलामा विद्यार्थी नपठाए विद्यालय नै खारेज गर्ने प्रस्ताव समेत उठाएको सुनाए। 'अभिभावक भेलामा कि विद्यार्थी पठाइदिनुस् कि त विद्यालय नै खारेज गर्नुस् भन्ने प्रस्ताव लैजान्छौं भनेर भन्छाैँ। भेलामा सबै अभिभावकले सकारात्मक कुरा राख्नुहुन्छ,' प्रधानाध्यापक चौलागाईंले भने।

आफ्ना बालबालिका पठाउँदैनन् तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न भने हानाथाप गर्ने गरेको उनले सुनाए। विद्यालयमा चरम दलीय राजनीति पनि हुने गरेको उनको दाबी छ। उनका अनुसार अध्यक्ष हुने पक्षले मात्र विद्यार्थी पठाउने गर्छन्, अर्को पक्षले कार्यकालभरि विद्यार्थी पठाउँदैनन्। ‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।

विद्यालयमा अतिविपन्न परिवारका विद्यार्थी मात्रै आइरहेको अभिभावक ददिम सार्कीले बताए। उनले विद्यालयमा पठनपाठन पनि राम्रो नभएको गुनासो गरे। ‘सरकारी स्कुलमा पढाउने शिक्षकका छोराछोरी बोर्डिङमा छन्। अतिविपन्न परिवारका विद्यार्थी मात्रै आइरहेका छन्,' उनले भने, 'विद्यालयमा पठनपाठन पनि राम्रो छैन।' 

नाजुक अवस्था देखिएका विद्यालयलाई गाभ्ने अभियान पनि तातोपानी गाउँपालिकाले चलाएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनले भने, ‘अहिले हरेक विद्यालय अनुगमन गरेर विद्यालयको टाउको गनिरहेका छौं।’

प्रकाशित: ३ पुस २०८१ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App