मरण कसैका लागि पनि प्रिय हुन सक्दैन। चाहे त्यो मर्ने व्यक्ति स्वयंका लागि होस् या उसका आफन्तका लागि। त्यसैले मरणलाई सधैँ असामयिक, दुःखदायी, पीडादायी तथा अपूरणीयका रूपमा चित्रण गरिन्छ। निकै वृद्ध अवस्था वा कष्टपूर्वक रोगले थलिएको लामो समय भइसकेको व्यक्ति मर्दासमेत अपवादबाहेक कसैले पनि यसलाई स्वाभाविक मान्न गाह्रो हुन्छ। जीवनसँग मृत्यु अनिवार्य छ। तैपनि त्यसलाई सहज स्वीकार गर्न दार्शनिक पक्ष बलियो भएका व्यक्तिलाई मात्र सहज हुन्छ।
तथापि कतिपय अवस्थामा मृत्युको पनि कामना गर्नुपर्ने हुन्छ। कसैलाई यस्तो दुसाध्य रोगले सताउँछ, मृत्युको अँगालो पनि आरामको अन्तिम अवस्था बन्न पुग्छ। त्यस्तो बेला पीडा खप्नै यति गाह्रो हुन्छ कि बरु ऊ चाँडै मरियोस् भन्ने कामना गर्न बाध्य हुन्छन्। कतिपय घटनामा बिरामीको अवस्था देखेर परिवार र आफन्तले नै सोझै नभने पनि ‘बरु मरे पीडा त भोग्नुपर्दैनथ्यो’ भन्ने गरेका हामीले सुन्दै आएका छौँ। यस्तो बेलामा इच्छामरणको व्यवस्था स्वाभाविक हुने धारणा पनि धेरैको पाइन्छ।
अहिले धेरै देशमा इच्छा–मरणको कानुनी व्यवस्था छ पनि। कतिपय देशमा भने इच्छामरण धार्मिक मान्यता विपरित हुने धारणा प्रबल छ। पीडाले तड्पिइरहनु,, बाँचेर पनि पलपल मरिरहनुभन्दा बरु वास्तवमै मर्नुले उक्त व्यक्ति पीडारहित हुने धारणा पनि उत्तिकै बलियो छ। त्यसैगरी कतिपय आफन्तले समेत यस्तो अवस्थालाई सकारात्मक ठान्ने गरेका छन्। अझ कतिपय क्यान्सरलगायत रोग त यस्ता हुन्छन् जसले न ज्यान रहन्छ न त पैसा नै बच्छ। यस्तो अवस्थामा आफन्त गुमाएर पनि धन अभावमा सिंगो परिवार सडकमा आएका घटना पनि थुप्रै छन्। इच्छा–मरणको पक्षमा वकालत गर्नेहरूले अगाडि सार्ने एउटा आधार यो पनि हुने गरेको छ।
अझ नेपालको सन्दर्भमा धेरै नेपाली आफूलाई लागेका गम्भीर रोगको उपचार गर्ने हैसियत नै राख्दैनन्। जीवनमा सबैभन्दा महत्त्वपूर्ण शिक्षा र स्वास्थ्य हो तर नेपालमा यी दुई क्षेत्रमै सबैभन्दा बढी शोषण छ। स्वास्थ्योपचार यति महँगो बनाइएको छ कि त्यो सर्वसाधारणको पहुँचमै छैन। सरकारी अस्पतालहरूमा केही सस्तो छ तर त्यहाँ बढ्दो चापका कारण धेरै समय कुनुपर्छ। कतिपय रोग यस्ता हुन्छन् जुन कुर्ने समय पनि हुँदैन। र, कुर्दाकुर्दै यस धर्तीबाट बिदा भइसक्नुपर्ने खालका हुन्छन्। निजी क्षेत्रमा चाँडै पालो आउँछ, उपचार पनि हुन्छ तर त्यसका लागि लाग्ने खर्च सबै नेपालीले बेहोर्न सक्नेखालको छैन। यस्तो अवस्थामा धन र जनमध्ये एउटा रोज्नुपर्ने बाध्यता छ। जसले पनि इच्छा–मरणलाई बहसमा तान्न मद्दत गरिरहेको छ।
नेपालमा मृत्यु कुरेर बस्न सक्ने सहज किसिमको हस्पिसको व्यवस्था पनि खासै छैन। यस्तो व्यवस्था हुँदो हो त मृत्यु स्वीकारपछिका जीवनका अन्तिम क्षणहरूलाई आरामदायीतवरबाट बिताउने व्यवस्था उपलब्ध हुन्थ्यो। खासगरी मुटु, फोक्सो, मिर्गौला, क्यान्सरजस्ता दीर्घ रोगका पीडाबाट मुक्ति पाउन आफूले चाहे जस्तो शैलीबाट जीवन बिताउने सुविधा मिल्थ्यो। ठूला र महँगा औषधिभन्दा पनि बिरामीको दुखाइ कम गर्ने तथा सास फेर्न सजिलो हुने उपायलाई प्राथमिकता दिइन्थ्यो। तर यही व्यवस्था यहाँ अभाव छ। जसले पनि इच्छामरणलाई जबर्जस्ती नै किन नहोस् बहसमा तानिरहेको छ।
एकातिर सरकार आफ्ना नागरिकलाई सस्तो र सुलभ स्वास्थ्योपचार उपलब्ध गराउन असमर्थ छ। जसका कारण बिरामीहरू अस्पताल खर्च तिर्न नसकेर डिस्चार्ज भएको महिनौँसम्म पनि अस्पतालमै रहन बाध्य छन्। अझ कतिपय त बिलमा अंकित रकम देखेपछि बेहोस भएकादेखि तनावका कारण अस्पतालकै चौथो/पाँचौँ तलाबाट हाम्फालेर जीवन सिध्याएका घटना पनि एक/दुई पटक हैन, बारम्बार सञ्चार माध्यममा आइरहेका छन्। यसबाट पनि पीडितले बाध्यताको मरणबाट विकल्प खोजिरहेका देखिन्छ।
विकसित देशहरूले इच्छामरणलाई प्राथमिकता दिएका छन्। यसका लागि स्विट्जरल्यान्ड प्रख्यात छ। जहाँ विश्वभरका धनाढ्यहरूदेखि इच्छामरणप्रेमीहरूसमेत यही अधिकार प्रयोगका लागि त्यहाँ पुग्छन्। अन्य देशले पनि इच्छामरणलाई स्वीकारेका छन्। त्यसैले नेपालमा मात्र यसलाई निषेध गर्नुपर्ने कुनै कारण छैन। यसको मतलव तुरुन्तै यसलाई अपनाइहाल्नुपर्छ भन्ने होइन तर यसबारे बहस सुरु गर्नचाहिँ अब ढिलो गर्नु हुँदैन। इच्छामरणको कुरा गर्दा एउटा बिर्सनै नहुने कुराचाहिँ यो हो कि यस्तो व्यवस्थाको व्यापक दुरूपयोग हुन सक्छ। जसप्रतिचाहिँ कानुनी रूपमै कडा हुनै पर्छ। यसबारे अध्ययन गरेर एउटा निष्कर्षमा पुग्नु उचित हुन्छ।
प्रकाशित: ३ माघ २०८१ ०५:४७ बिहीबार