सम्पादकीय

अस्वाभाविक जनसांख्यिक स्थिति

राष्ट्रिय जनगणना २०७८ का अनेकन सन्देश छन्। त्यसमध्ये बालबालिकाको जन्मसम्बन्धी पछिल्लो तथ्यांकले चिन्तित तुल्याउने स्थिति छ। बालबालिकाको जनसंख्या घटेको देखिनुले मानव संसाधनमा समस्या मात्र देखाउँदैन, भविष्यमा बहुआयामिक असर पर्न सक्छ। त्यसमा पनि बालिका जन्मने अनुपात बालकको भन्दा कम देखिनु थप चिन्ताजनक पक्ष हो। यस्तै अवस्था रहे अबको केही वर्षभित्र बालिकाको संख्या घटेका कारण जनसंख्यामै असन्तुलन आउँछ। विवाह गर्ने उमेरका पुरुषको तुलनामा महिला संख्या कम हुँदा सामाजिक पक्षमा  असन्तुलन आउँछ। त्यसले ल्याउन सक्ने विकृति अनेकन हुन सक्छन्। मागअनुसारको आपूर्ति नभएपछि स्वाभाविक रूपमा सबै पक्षमा असन्तुलन हुन्छ। मानव सम्बन्धमा पनि यसको प्रभाव हुन्छ नै।

त्यही भएर जनसंख्याविद्हरूले यसलाई एउटा गम्भीर समस्याका रूपमा  प्रस्तुत गरेका छन्। हाम्रो मुलुकमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको छ। आर्थिक विकासका निम्ति जनसंख्या वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ। मुलुकको आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरूपको जनसंख्या भएन भने त्यसलाई कतै न कतैबाट पूर्ति गर्नुपर्ने अवस्था आउँछ। आज कैयन् मुलुकले नेपालबाट जनशक्ति लगेर पनि आर्थिक वृद्धि गरिरहेका छन्। केहीअघि दक्षिण कोरियाली राजदूत पार्क ते–योङले राजधानीमा आयोजित कार्यक्रममा नेपाली कामदारले आफ्नो मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान गरेको बताएको पक्षलाई स्मरण गर्न सकिन्छ। अरब मुलुकले पनि आफ्नो यही पक्षलाई ध्यानमा राखेर नेपाललगायतका मुलुकबाट कामदार लैजाने गरेका छन्।

नेपालले आफूलाई अबको दुई वर्षपछि सन् २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा उकास्दैछ। त्यो भनेको अहिलेको अवस्थाबाट थप आर्थिक गतिविधितर्फ जाने हो। अहिले पनि नेपालको जनसंख्या युवा नै छ। तर नेपालले आर्थिक समृद्धि हासिल गर्दैै गर्दा भविष्यमा काम गर्न सक्ने जनसंख्या कम हुने र आर्थिकरूपमा निष्क्रिय जनसंख्या बढ्ने अवस्था आउँदैछ। त्यस्तो अवस्थालाई ध्यानमा राखी जनसंख्या र विकासलाई सन्तुलन कायम गर्नुपर्ने अवस्था छ। विकासका लागि पुँजीको जति आवश्यकता छ, त्यत्तिकै आवश्यकता मानव संसाधनको छ। त्यसकारण पनि जनसंख्यामा युवा जनशक्ति थपिन अहिल्यै कम हुनुको अर्थ गम्भीर हुन सक्छ। वयोवृद्ध जनसंख्या बढ्नुको अर्थ त्यसका निम्ति स्वास्थ्य सेवादेखि लालनपालनसमेतमा राज्यले ध्यान दिएको अवस्था हो। अहिले कैयन् मुलुकमा नेपालबाट ‘केयरगिभर’ का रूपमा गएर सेवा गरिरहेका छन्। भविष्यमा नेपाल आफैंले यस्ता कामदार भित्र्याउनुपर्ने अवस्था आउन सक्छ।

नेपालको जनसंख्यामा लैंगिक असन्तुलन अहिल्यै देखिएको पक्ष हो। यसले विस्तारै पारिवारिक असन्तुलन र विशृंखलता ल्याउनेछ। जनसंख्यामा महिला र पुरुष अनुपात समान हुनुपर्छ। हामीकहाँ अझै पनि छोरी हुनुलाई अन्यथा मानिन्छ। कतिपयले भ्रुण पहिचान गरेर जन्मनै नदिएका कारण पनि यस्तो अवस्था आएको हुनुपर्छ। सरकार आफैँले यसलाई निराकरण गर्न सशक्त नीतिगत निर्णय गर्नुपर्ने हुन्छ। छोरी जन्माउने परिवारलाई विशेष सहयोग वा राज्यको तर्फबाट लाभ दिन सक्ने अवस्था सिर्जना गर्नु आवश्यक छ। जसरी कैयन् मुलुकमा सन्तान उत्पादनलाई नै राज्यले महŒवपूर्ण कार्यका रूपमा ग्रहण गर्दै बिदा र अन्य लाभकारी योजना अघि सारेको देखिन्छ, परिवारसँगको बसाइलाई प्रोत्साहित गर्न आवश्यक नीति अंगीकार गरिएको हुन्छ, हामीकहाँ पनि बालबालिका कम जन्मिन थालेका छन् भने यसका धेरै अर्थ हुन सक्छन्। एक, धेरै व्यक्तिलाई सन्तान जन्माएर हुर्काउन, बढाउन र पढाउन सकिँदैन भन्ने लाग्न थालेको छ। सन्तान पाइसकेपछि पनि तिनलाई यथोचित व्यवस्थापन गर्न सकिँदैन भने मानिस निरुत्साहित हुन्छन्। आर्थिक कठिनाइ बढ्दै गएको समाजमा थप सन्तान जन्माउने आकांक्षा कम हुन्छ।

जनसंख्यामा बालिकाको संख्या कम देखिनु भनेको हाम्रो समाजमा गहिरो गरी बसेको लैंगिक हिंसा पनि कारक हुन्छ। अझै पनि छोरी जन्माउनेप्रति भेदभाव गर्ने गरेको देखिन्छ। छोरा पाउने बुहारीलाई विशेष हेरचाह गर्न तत्पर हुनेबित्तिकै सबैको प्राथमिकता छोरीमा हुन छाड्छ। यसले जनसंख्यालाई असन्तुलित तुल्याउँछ। छोरीको संख्या कम हुँदा बेचबिखन र तस्करीको खतरा पनि बढ्छ। अहिले पनि कतिपय महिलालाई विभिन्न मुलुकमा तस्करी गरी पु¥याउने गरेको देखिएको छ। यस्ता समाचार/कथा नेपाली समाजले पहिल्यै थाहा पाइसकेको छ। त्यसैले जनसंख्याको यो आँकडालाई गम्भीरताका साथ हेर्नु र  तद्नुकूलका सशक्त नीतिगत तयारी आवश्यक देखिएको छ। आवधिक जनगणनाको उद्देश्य पनि यही हो। मुलुकको विकास निर्माण र गति जनसंख्या र यसको विशेषता मिल्नुपर्छ।

प्रकाशित: २९ श्रावण २०८१ ०५:०६ मंगलबार

Download Nagarik App
Download Nagarik App