अर्थ

ज्वार्चनको अटेरी

जहाज उडाउन नमान्दा दुईदिनमा करोड नोक्सानी

नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक दीपुराज ज्वार्चनको ‘अटेरी’का कारण निगमले लगातार घाटा व्यहोरिरहेको तथ्यांक बाहिरिएको छ। असार १६ (जुन ३०) र असार २० (जुलाई ४) गतेका दुई दिनमा मात्रै निगमले एक करोड १७ लाख नोक्सानी ब्यहोरेको सूचना बाहिरिएको हो।

बाहिरिएको सूचनाअनुसार जिम्मेवारीअनुसार उनले उडान भर्न नमान्दा निगमलाई यो घाटा भएको प्राप्त सूचनामा उल्लेख छ। निमित्त महाप्रबन्धक भइसकेपछि उनले आफ्नो जिम्मेवारी बहन गर्दै उडान भर्न अटेरी गरेकाले निगमलाई नोक्सानी भएको स्रोतले बतायो।

ज्वार्चन निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहे पनि नेपाल एयरलाइन्सको पाइलट (क्याप्टेन) पनि हुन्। उनलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले यही असार ९ गते निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएका थिए।

ज्वार्चनको अटेरी !

स्रोतको सूचनाअनुसार असार १६ गते अन्य सबै पाइलटहरू उपलब्ध नहुने अवस्था आएपछि काठमाडौं–ब्याङ्लोर–काठमाडौं उडानका लागि ज्वार्चनलाई ‘अनुरोध गरिएको’ थियो।

अर्का एक पाइलट एस भण्डारी कोभिड–१९ पोजेटिभ संक्रमण देखिएकाले उपचारमा थिए। यस्तै बाँकी सबै पाइलटको महिनामा स्वीकृत १०० घण्टाको उडान अवधि सकिएको थियो। नागरिक उड्डयन प्राधिकरण र आइओएसीले प्रतिमहिना १०० घण्टामात्र उडान भर्न पाउने मापदण्ड तोकेको छ। त्यही कारण बाँकी पाइलट आराममा थिए।

यसैले ज्वार्चनलाई उडानका लागि अनुरोध गरिएको स्रोतले जनाएको छ। अनुरोधका साथ उनले उडान नभरे उडान नै रद्द गर्नुपर्ने अवस्थाको समेत जानकारी गराइएको थियो।

यति हुँदाहुँदै पनि घाटामा चलिरहेको निगमको जिम्मेवारीमा रहेका उनले त्यो अनुरोध अस्वीकार गरे र उडान रद्द हुनपुग्यो। तर  ज्वार्चन आफूभने दोस्रोदिन होटल र्‍याडिसनमा पार्टी मनाएर रमाइरहेको स्रोतले उल्लेख गरेको छ। यो उडान रद्द भएपछि २३ लाख ३५ हजार ८२८ रूपैयाँ निगमलाई क्षति भएको जनाइएको छ।

यस्तै दोस्रो घटना त्यसको लगत्तै पाँच दिनपछि असार २० गतेको छ। जुन दिन फेरि १६ गतेजस्तै काठमाडौं–बैंकक–काठमाडौं उडान गर्नुपर्ने थियो। जसमा पाइलट ज्वार्चनमात्रै उपलब्ध थिए।

सोही कारण अपरेसन निर्देशकले रात्रिकालीन उडानका लागि ज्वार्चनलाई अनुरोध गरे। तर, उनको अनुरोध ज्वार्चनले ठाँडै अस्वीकार गरिदिए। त्यस उडानमा काठमाडौंबाट बैंकक १५३ जना र बैंककबाट काठमाडौं ११५ जनाले टिकट काटेका थिए। तर ज्वार्चनले उडानका लागि अस्वीकार गरेपछि उडानको कार्यतालिका नै फेर्नुपरेको स्रोतले जनाएको छ।

यही कारण निगमले ९३ लाख ६५ हजार रकम घाटा व्यहोर्नुपरेको स्रोतले जनाएको छ।  यसरी पाँचदिनको अन्तरमा दुईपटक जहाजको उडानमा अटेरी गरेर ज्वार्चनले निगमलाई कम्तीमा एक करोड १७ लाख ८२८ रूपैयाँ क्षति भएको छ।

यसरी दुई पटक उडान रद्द गरेर आर्थिक क्षतिमात्रै नभई निगमको प्रतिष्ठामाथि नै आँच पुगेको स्रोतले जनायो। ‘एकपटक यसरी धोका भएको यात्रुले अर्को पटक नेपाल वायुसेवा निगमको जहाजको यात्रा गर्दैन,’ स्रोतले भने,‘फेरि अन्तर्राष्ट्रिय हवाईयात्रा क्षेत्रमा समयको एकदमै ख्याल गरिन्छ। यहाँ त काटिएका टिकट फिर्ता गर्नुपरेको छ। यसले हाम्रो प्रतिष्ठा र भविष्यमा समेत असर गरेको छ।’

विवादित पात्र!

निमित्त महाप्रबन्धक ज्वार्चन आफै विवादित पात्र हुन्। उनीमाथि भ्रष्टाचारको पनि अभियोग लागेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जसबारे अनुसन्धान गरेर मुद्दा चलाइरहेको छ।

उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन, निगमभित्र आर्थिक अनियमितता, विमान चालकको उडान तालिका निर्धारणमा विभेद, कानुनी प्रावधानविपरीत अपरेसन डाइरेक्टरमा नियुक्ति लगायत आरोप छन्।

यसअघि उनलाई अपरेसन डाइरेक्टर नियुक्तिका विषयमा पनि अख्तियारमा उजुरी छ। उनीमाथि विभिन्न मुद्दामा छानबिन भइरहेको अख्तियारले जनाएको छ। यस्ता विवादित पात्र ज्वार्चनलाई जाँदाजाँदै पूर्वपर्यटनमन्त्री आलेले स्वार्थका कारण निमित्त महाप्रबन्धक नियुक्त गरेको स्रोतको दाबी छ।

प्रकाशित: २९ असार २०७९ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App