अर्थ

हाइड्रोपावरले जग्गा र घट्टको मुआब्जा ठग्यो

माथिल्लो लोहोरे हाइड्रोपावरबाट आफूहरु ठगिएको बारे बताउँदै खम्वीलाल कठायत। तस्बिरः गोविन्द/नागरिक

नौमुले गाउँपालिकामा निर्माणाधीन माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा नदिँदा स्थानीयहरु आक्रोशित भएका छन्। हाइड्रो निर्माणका क्रममा जनप्रतिनिधि, प्रभावित स्थानीयसंग गरेको सम्झौता कार्यान्वयन नहुँदा अन्यौलता भएको हो।

माथिल्लो लोहोरे हाइड्रोेपावरबाट प्रभावित ७२ वर्षीय खम्वीलाल कठायतले चलाएको घट्टको मुआब्जा दिन्छु भनेर अहिलेसम्म नदिएको गुनासो गरे। ‘खेतमा आउने सिँचाइ कुलो पनि सुकेको छ।’ उनले भने, स्थानीयहरुलाई मुआब्जा माग्दा कर्मचारीले धम्काउने गर्दछन्।’ उनका अनुसार स्थानीय अनिल कठायत लगायतका स्थानीय दलित समुदायहरुको जग्गा पास गरेपनि हाइड्रोपावरले पैसा अँझै दिएको छैन। स्थानीयहरुको माग सम्बोधन नगरेर हाइड्रोपावरका कर्मचारीले मनलाग्दी, दादागिरि देखाउन थालेपछि स्थानीयहरु आजित छन्।

स्थनीयका अनुसार ट्याम साईट र पाईपलाईनमा जथाभावी डोजर लगाएर खन्दा सिँचाइ कुलोमा पानी कम बन्न थालेको छ। जसले खेतमा सिँचाइ समस्या भएको उनीहरुको भनाइ छ। क्षतिपूर्ति नदिई काम सुरु गर्दा मुहान सुकेर घट्ट चल्न छाडेको कठायतले बताए।

कम मूल्यमा जग्गा पास गरेर हाइड्रोपावरसंग जोडिएका कर्मचारीले स्थानीयलाई मर्कामा पारेका छन्। नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढा मगरले हाइड्रोपावरबाट प्रभावित स्थानीयहरुको समस्या आफूले बुझेको र समाधानका लागि हाइड्रोसंग र सम्बन्धित व्यक्तिहरुसंग कुरा गर्ने बताए। हाइड्रोपावरका कर्मचारीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित: २२ कार्तिक २०७८ ०९:४० सोमबार

हाइड्रोपावर जग्गा र घट्टको मुआब्जा माथिल्लो लोहोरे हाइड्रोपावर