अर्थ

भाडा तिर्न नसकेपछि व्यवसाय बन्द

कोभिडको असर

राजधानीमा सैलुन चलाउँदै आएका मनोज ठाकुरको पसल बन्द भएको पाँच महिना भयो । कोभिड–१९ को कारण लकडाउन, निषेधाज्ञाले ठाकुरले पसल खोल्न पाएनन् ।  

भाडा तिर्न कठिन भएपछि उनले यसै साता सटर छाडेका छन् । ‘भाडा तिर्ने उपाय नभएपछि सटर खाली गरिदिएँ,’ ठाकुरले भने । उनी अहिले सडक पेटीमा तरकारी बेचिरहेका छन् । रौतहटका ठाकुरले यही अवस्था रहिरहे सधैंका लागि गाउँ फर्किने तयारी गरेको बताए । भाडा तिर्न कठिन भएर ठाकुर जस्तै धेरैले व्यवसाय छाडेका छन् ।

भाडा तिर्न कठिन भएपछि रौं, दाह्री फाल्नेहरूको छाता संस्था नेपाल नाई संघले लकडाउन अवधिको भाडा छुट पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको थियो ।

कोरोनाको असर न्यूनीकरण गर्न निरन्तरको लकडाउन र निषेधाज्ञाले व्यापार गर्न नपाएपछि साना व्यवसायी समस्यामा परेका छन् । कोभिडको कारण प्रायः सबै व्यवसाय चौपट भएको छ । घरभाडा तिर्न कठिन भएपछि किराना बाहेकका सानोतिनो सैलुन, कपडा पसल, व्यक्तिगत अफिस, होस्टेल, चिया तथा खाजा पसल लगायत बन्द भएका छन् । ट्रेकिङ, ट्राभल, मेनपावर व्यवसायीका अफिसलाई घटाएका छन् । फ्याट भाडामा लिएका एक÷दुई कोठामा मात्र सामान राखेका छन् । दैनिक खाद्यान्न बिक्री गर्ने किराना, औषधि, तरकारी, फलफूल पसल मात्र सञ्चालनमा छन् । केही व्यापारीले सटर छाठेर कोठामा सामान ल्याएर राखेका छन् । धेरै कोठा भाडामा लिएकाले एक÷दुई कोठामा मात्र भाडमा लिएका छन् ।

घरभाडा तिर्न कठिन भएपछि किराना बाहेकका सानोतिनो सैलुन, कपडा पसल, व्यक्तिगत अफिस, होस्टेल, चिया तथा खाजा पसल लगायत बन्द भएका छन् । ट्रेकिङ, ट्राभल, मेनपावर व्यवसायीका अफिसलाई घटाएका छन्।

लामो समयदेखि स्कुल कलेज बन्द भएपछि उपत्यकामा सञ्चालित होस्टेल धमाधम बन्द भएका छन् । करिब तीन सय होस्टेल बन्द भएको नेपाल होस्टेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अरूण पराजुलीले बताए । ‘विद्यार्थीलाई लक्षित गरेर होस्टेल सञ्चालन गरिएको हो,’ उनले भने, ‘विद्यालय कलेज बन्द हुँदा शून्य कारोबार भएपछि होस्टेल धमाधम बन्द भएका छन् ।’  

तीनवटा होस्टेल सञ्चालन गरेका पराजुलीले पनि दुईवटा होस्टेल बन्द गरेको बताए । पराजुलीले मासिक लाख रूपैयाँ भाडा तिर्न नसक्ने अवस्था भएपछि सूर्य किरण गल्र्स, ब्वाइज होस्टेल बन्द गरेका हुन् ।

अहिले राजधानीका धेरै ठाउँमा व्यवसाय गर्ने सटर भाडामा लगाउन ‘टू लेट’ टाँसेको देख्न सकिन्छ । सटर मात्र नभएर कोठासमेत खाली भएका छन् । राजधानीमा कोठा भाडा लिएर सानोतिनो व्यवसाय गर्ने, जागिर खाने गाउँ गएपछि फर्किएका छैनन् । विश्वविद्यालय, कलेजको पढाइ अनिश्चित भएकाले विद्यार्थीले कोठा छाडेका छन् । कतिपयले रुम सेयरिङ गरेर सामान राखेका छन् ।  

मुलुकका प्रमुख व्यापारिक केन्द्र ठमेल, न्युरोडलगायत ठाउँमा पनि सटर खाली भएका छन् । पर्यटन क्षेत्र खोल्ने अझै अनिश्चित भएकाले ठमेलमा भाडामा लिएर सटर छाड्ने क्रम बढेको छ । व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन घर भाडामा छुट दिन लबिङ गर्दै आएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए । ‘व्यवसायबाट विस्थापित हुन थालेपछि घरधनीले ५० प्रतिशत छुट दिएका छन्,’ शर्माले भने, ‘धेरै व्यवसायबाट पलायन हुने अवस्था छ ।’ कोभिडको कारण आन्तरिक र बाह्य पर्यटक आउने सम्भावना कम भएकाले सबैभन्दा ठूलो असर पर्यटनमा परेको उनले बताए ।

कोभिडको कारण विभिन्न व्यवसायमा गरिएको अर्बौं रूपैयाँको लगानी जोखिम परेको छ । पर्यटनलाई लक्षित गरेर होटल, पूर्वाधार गरेको लगानी जोखिमा परेको हो । ठमेलमा भाडामा लगाउनकै लागि तयार गरिएका घरका धनीले बैंकको किस्ता तिर्न नसकेको उपाध्यक्ष शर्माले बताए । ‘भाडामा बस्नेमात्र होइन भाडा लगाउन बैंकबाट ऋण लिएर लगानी गरे,’ उनले भने, ‘बहालमा बस्नेमात्र नभएर घरधनी पनि समस्यामा छन् ।’

कोभिडको प्रकोप कति लम्बिन्छ भन्ने अनिश्चित भएकाले व्यवसायी आत्तिएर व्यवसायबाट विस्थापित भएका छन् । व्यापार, व्यवसाय गरेर घरखर्च, बैंकको ब्याज, किस्ता, भाडा तिर्नेहरू आत्तिएका छन् । उनीहरू कोभिड संक्रमण घट्ला र व्यवसाय पुरानो लयमा फर्किएला कि भन्ने आसमा कुरिरहेका छन् ।  

सानादेखि ठूला व्यवसायीले कठिन परिस्थितिको सामाना गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । ‘सानोतिनो लगानीका व्यवसाय बन्द भइरहेको सुनिएको छ,’ राणाले भनिन्, ‘सबै प्रकारका व्यवसायमा कठिनाइ छ ।’ धेरै ठाउँमा भाडा तिर्न कठिन भएको गुनासो आएकाले सम्बन्धित घरधनीले हेर्नुपर्ने राणाले बताइन् । ‘अहिले कसरी हुन्छ सबैलाई टिकाउनु पर्छ,’ राणाले भनिन्, ‘व्यवसायबाट विस्थापित हुन दिनु हुँदैन ।’ व्यवसायबाट विस्थापित भएको व्यक्ति तत्काल सम्बन्धित व्यवसायमा नआउने र उद्यमशीलता समेत गुम्ने भएकाले त्यसले समग्र मुलुकको अर्थतन्त्रलाई पनि असर पर्ने उनको तर्क छ ।

चैतमा लकडाउन घोषणा गरेपछि सरकारले एक महिनाको भाडा छुट दिन आह्वान गर्दा केहीले छुट दिएका थिए । स्वेच्छाले छुट दिए पनि अधिकांशले भाडा तिरेका थिए । केहीले भाडामा छुट र भाडाको दर समेत घटाएका छन् । केही व्यावसायिक संस्थाहरूले विस्थापित नहून् भनेर भाडा छुट दिएका छन् । ललितपुरको व्यावसायिक लबिम मलले त्यहाँ भाडामा व्यापार गर्नेलाई तीन महिनाको ५० प्रतिशत भाडा छुट दिएको थियो । भाडा तिर्न नसक्ने भन्दै सिभिल मलका व्यवसयाी आन्दोलनमा उत्रिएपछि तीन महिनाको ४० प्रतिशत भाडा छुट पाएका छन् ।  

कोभिडले दैनिक जनजीवनसहित आर्थिक गतिविधि ठप्प हुँदा मुलुकको अर्थतन्त्रमा पनि असर पु¥याएको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा सबै ठप्प हुँदा उद्योगी, व्यवसायीको व्यापार चक्र प्रभावित भएको छ । साना व्यवसायी मात्र नभएर ठूला व्यापारिक घरानालाई पनि उत्तिकै दबाब छ । नेपाल उद्योग परिसंघ (सिएनआई) र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रूपमा गरेको अध्ययनमा कोरोना भाइरसका कारण ८१ प्रतिशत व्यवसाय सञ्चालन रोकिएको देखिएको थियो । सेवामूलक उद्योग, ट्रान्सपोर्ट, टेक्सटाइल, गार्मेन्ट, लेदर, फुटवेयर, स्वास्थ्य, हस्तकला, खाद्य, पेय पदार्थ लगायतका साना, ठूला सबै उद्योग,व्यवसाय प्रभावित छन् ।

कोभिडको चपेटामा व्यवसायीलाई राहत दिन सरकारले बजेट र मौद्रिक नीतिमार्फत प्रयास गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीतिमा साँवाको किस्ता र ब्याज तिर्ने समय पछि सारेको छ । उद्योग, व्यवसायलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावितको सूची बनाएर बैंकमार्फत सुविधा दिने भएको छ ।

प्रकाशित: १८ भाद्र २०७७ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App