अर्थ

सुदूरपश्चिमको आँखामा बजेटः अधिकाशं पुरानै योजना, कार्यान्वयनमा चुनौती

सरकारले अगामी आर्थिक बर्षका लािग प्रस्तुत गरेको बजेट सुदूरपश्चिममा घोषणा गरिएको बिभिन्न कार्यक्रम राम्रा भएपनि कार्यान्वयन हुनेमा स्थानीय तथा बिज्ञहरुले आशंका गरेका छन्। सुदूरपश्चिममा सरकारले बजेटमा प्रस्तुत गरेका योजनामा अधिकांश पुरानै छन्। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा अधिकांश पुरानै योजना भएकाले बिगतमा जस्तै कार्यान्वयन हुनेमा स्थानीयको आशंका रहेको हो।

‘समग्रमा बजेटमा राम्रा कुरा आएका छन, तर बिगतमा पनि कार्यक्रम राम्रा आएकै हुन’कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा.हेमराज पन्तले भने। पुरानै सिस्टम र बजेटको पैसा भ्रष्टाचारमा जाने कारण बजेटमा राम्रा कार्यक्रम भएर पनि जनता सम्म विकास पुग्न नसकेको उनको भनाई छ।

अर्थबिद तथा धनगढी ईन्जिनियरिङ कलेज प्रमुख शिवहरि मुढभरीले आत्मनिर्भर बनाउन रणनीतिक रुपमा परिवर्तन गराउने नयाँ कुरा बजेटमा आउन नसकेको बताए। ‘केहि शव्द यस्तो गरिने छ, उस्तो गरिने छ उल्लेख गरेर सुन्दा राम्रो लाग्ने हुने तर बजेट बिनियोजन नहुने हुदाँ कार्यान्वयनमा परिणाम नआउने हुन्छ’उनले भने,‘औद्योगिक करण गर्ने, पुराना बन्द उद्योग संचालन गर्ने, कृषीमा आत्मनिर्भर बनाउने ठोस योजना छैन।’  

प्रधानमन्त्री रोजगार कार्यक्रम उपलव्धीपूर्ण नभएकाले रोजगारका लागि बिनियोजन भएको सवै बजेट र केहि थप गरेर ७ वटै प्रदेशमा २ अर्वको उद्योग संचालन गरेर बरोजगारलाई उद्योगको मालिक समेत बन्न पाउने गरि रोजगारी दिने योजना ल्याउनु पर्ने उनको सुझाव छ।

सवारीसाधान खरिद जस्तो चालु खर्च कटौती, दोहोरो अनुदानको अन्त्य, स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम, कोरोना पीडितलाई राहत जस्ता कार्यक्रम बजेटमा राम्रो रहेको उनको भनाई छ।

बिगतमा सधै उल्लेख भैरहने पश्चिम सेती परियोजना , पंचेश्वर परियोजना कर्णाली बिद्युत परियोजना अघि बढाउने, दोधाराचाँदनीमा शुक्का बन्दरगाह बनाउने, हरैयामा आर्थिक क्षेत्र बनाउने योजना यो बर्ष पनि समावेश गरिएका  छन्। तीन दशकदेखि चर्चामा रहेर संचालन हुन नसकेको पश्चिम सेती परियोजनाका लगानी यकिन गरिने भनेर बजेटमा उल्लेख छ। यसैगरि कर्णाली जलबिद्युत आयोजनाको लगानी यकिन गरिने भनिएको छ।

महाकाली सिचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सुचिकृत १० अर्व २५ करोड बजेट बिनियोजन गरिएको छ भने गेटा मेडिकल अगामी बर्षदेखि संचालना गरेर सिकलसेल एनिमिया अनृुसन्धान केन्द्रका रुपमा बिकास गर्ने उल्लेख छ।

बजेटमा सधै प्रस्तुत भएपनि कार्यान्वयनमा नदेखिने कयौ योजना रहेका छन। खुटिया, दिपायल, चैनपुर र उरै सडक निर्माण, खुटिया दिपायल सुरुङ मार्गको संभाव्यता अध्ययन,सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको गोदावरीमा पुर्वाधार विकास, डडेल्धुरा अस्पताललाई बिशेषज्ञ सेवासहितको बनाउने बजेटको उल्लेख छ।

कंचनपुरको महाकाली पुल निर्माणका लागी ८८ करोड, धनगढी बिमानस्थलको स्तरोन्नती, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लगायतका बजेटमा राखिएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७७ ०८:०९ शुक्रबार

सुदूरपश्चिम बजेट२०७७-७८