अर्थ

चिनियाँ राष्ट्रपति आउने भएपछि सडक मर्मत

काठमाडौं – सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत भिभिआइपी आउँदा उपत्यकाका सडक मर्मत गरेर चिटिक्क पारेको थियो।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्। सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विदेशी पाहुनालाई लक्ष्य गरेरभन्दा पनि नियमित सडक मर्मत गर्ने योजना अनुसार काम गर्न लागेको बताए।

‘चाडपर्वमा सडक मर्मत गर्ने पुरानै संस्कार हो,’ उनले भने, ‘बर्खामा भत्केर खाल्डाखुल्डी भएका सडक मर्मत गर्न खोजेका हौं।’ प्रवक्ता सापकोटाले सडक बोर्डबाट सडक मर्मतसम्भारको लागि बजेट निकासा भएकाले काम सुरु भइसकेको बताए। ‘उपत्यकाको धेरै खाल्डाखुल्डी भएका सडक मर्मत गर्न लागेका हौं,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ।’

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–कोटेश्वर–तिनकुने, बानेश्वर हुँदै सोल्टीमोड, त्रिपुरेश्वर–सुनधारा, जमल, पुतलीसडक, गौशाला–चाबहिल लगायत सडक खण्ड मर्मत गर्न लागिएको छ। सडक बोर्डले सडक मर्मतको लागि आठ अर्ब रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेटबाट ७० प्रतिशत राजमार्ग मर्मतसम्भार र ३० सहरी सडक मर्मतसम्भारको लागि बजेट विनियोजन गरेको छ।

कोटेश्वरका शलिकराम उप्रेती सरकारले विदेशी पाहुना आउँदामात्रै सडक मर्मत गर्ने गरेको बताउँछन्। ‘विदेशी हिँड्ने सडक मात्रै चिटिक्क पार्छन्,’ उनले भने, ‘जनता हिँडने सडक सधैं उस्तै।’

वर्षाैंदेखि चाबहिल–जोरपाटी–साँखु सडक र कंलकी–नागढुंगा सडक जीर्ण छन्। चाबहिल–साँखु सडक अस्तव्यस्त भएको वर्षाैं बितिसक्यो। ‘चाबहिल–जोरपाटी खण्डलाई सरकारले वर्षाैंसम्म देखेको नदेख्यै ग-यो,’ बौद्धका रितेश पन्तले भने, ‘चिनियाँ राष्ट्रपति आउने भनेपछि मर्मत सम्भार गर्ने तयारीले जनताको बेवास्ता गरेको ठहर्छ।’ पन्तले विदेशी पाहुना आउन लागेपछि त रातारात मर्मत गर्न तर, नेपाली जनताको दुःख नदेख्ने प्रवृत्ति हाबी भएको गुनासो गरे।

कोटेश्वरका उप्रेतीले विदेशी पाहुना आउँदा रातारात काम गर्नेले अरू बेला किन नगरेको भनेर पनि सोधे। ‘राजधानी सफा राख्न पनि विदेशी पहुना नै कुर्नुपर्ने हो त ?’ उनको प्रश्न छ।

प्रकाशित: १५ आश्विन २०७६ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App