अर्थ

दूध स्वच्छताका लागि नयाँ मापदण्ड

काठमाडौं - न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि सरकारले दूधको नयाँ मापदण्ड तयार गरेको छ। दूध उत्पादनदेखि बिक्रीसम्म व्यवस्थित बनाउन दूध तथा दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका, २०७५ तयार गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिकाको मस्यौदा तयार गरेर कृषि तथा पशुपक्षी मन्त्रालयमा पेस गरेको छ । उत्पादनदेखि उपभोक्तासम्म दूधको मापदण्ड तोकेर सुधारको प्रयास सुरु गरेको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए । ‘किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकेका छौं,’ कर्णले भने, ‘निर्देशिका पास भएर कार्यान्वयनमा आएपछि दूध बजार व्यवस्थित हुन्छ।’

केही समयअघि दूध बजारको अनुगमन गरेपछि कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले यो क्षेत्र सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रीको निर्देशन अनुसार नयाँ निर्देशिका तयार गरेको महानिर्देशक कर्णले बताए । ‘दूध उद्योगलाई व्यवस्थित गर्ने योजना हो,’ कर्णले भने, ‘गुणस्तरीय दूध उपभोग गर्न पाउने उपभोक्ताको अधिकार पनि निर्देशिकाले सुरक्षित गरेको छ ।’  विभागले दूधलाई मात्र लक्ष्य गरेर पहिलोपटक निर्देशिका जारी गर्न लागेको हो।

दूधको स्वच्छता र गुणस्तर कायम गर्न दूध उत्पादनको मापदण्ड तोकिएको छ । मापदण्ड लागू भएपछि दूधमा पानीलगायत अन्य कुनै पनि बाह्य पदार्थ मिसाउन पाइने छैन। दूध दुहेपछि दूधलाई संकलन केन्द्र÷चिस्यान केन्द्र वा प्रशोधन कारखानासम्म दुई घन्टाभित्र पु-याउनु पर्नेछ।

विहान दुहेको दूध विहानै र बेलुकाको दूध बेलुकानै संकलन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । संकलन केन्द्रमा दूध ढुवानीको लागि प्रयोग गरिएका भाँडा सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्नु पर्नेछ। उपचारको क्रममा रहेका पशुबाट उत्पादित दूध पशु चिकित्सकको सिफारिसमा मात्र संकलन केन्द्रमा पठाउनु पर्छ । चिकित्सकको सिफारिस नभएसम्म यस्तो दूध बिक्री गर्न पाइने छैन । दूध उत्पादनको लागि स्थलगत रुपमा सरसफाइ गर्नु पर्नेछ।

संकलन केन्द्रले अल्कोहल, सिबिओ, सुगर, एसिडिटी टेस्ट लगायत मिसावटको जाँच गरी स्वच्छ र गुणस्तरीय भएको यकिन भएपछिमात्र किसानबाट दूध खरिद गर्ने व्यवस्था मिलाउनु पर्नेछ । दूध घाम नपर्ने गरी ढाकेर राख्नुपर्ने, संकलन केन्द्र स्थानीय तथा सम्बन्धित निकायमा दर्ता गर्ने, रोगी पशुको दूध गुणस्तर बमोजिम नभए फिर्ता गर्न सक्नेछ।

किसानबाट उत्पादन भई संकलन केन्द्रबाट चिस्यानमा आएको दूधलाई थप मापदण्ड तोकिएको छ। चिस्यान केन्द्रले दूध कम्तीमा ४ डिग्री सेन्टिग्रेट तापक्रममा चिस्याउनुपर्ने, केन्द्रले दूधको स्रोत, परिमाण, गुणस्तरलगायत विवरणको अभिलेख राख्नुपर्ने, दूध संकलन र डेलिभरी गरिएको समयको रेकर्ड राख्नु पर्नेछ।

चिस्यान केन्द्रबाट डेरी पसलमा आएपछि डेरीले पनि गुणस्तरको मापदण्डलाई ध्यान दिनुपर्छ । डेरी पसलले दुग्ध उद्योगबाट उत्पादित लेबल भएका दूध तथा दुग्ध पदार्थमात्र बिक्री वितरण गर्नु पर्नेछ। काँचो वा अप्रशोधित दूधमा हुनुपर्ने चारित्रिक गुणस्तर अनुसार हुनुपर्ने, डेरी पसलले प्रशोधित दूध तथा दुग्ध पदार्थ बिक्री वितरण गर्दा कोल्ड चेन कायम गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

डेरी उद्योग स्थापनाको मापदण्ड पनि तोकिएको छ । डेरी उद्योग सञ्चालन गर्न बाटो, बिजुली, पानी र ढल निकासको समुचित व्यवस्था हुनुपर्छ । दूधमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुन सक्ने जोखिमका कारक तत्वहरु र प्रदूषण नहुने, गन्ध, धुँवा, धुलो, रसायन तथा जैविक प्रदूषणले असर नपार्ने ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ।

उद्योगमा काम गर्ने कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, प्रशोधन क्षेत्रमा प्रवेश गर्नुपूर्व साबुन पानीले हात धुने, बुट, एप्रोन, मास्क र हेडनेट लगाएरमात्र प्रवेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ । संक्रामक रोग लागेका बिरामी, घाउ खटिरा भएका कामदारलाई काममा लगाउन पाइँदैन । दूध भण्डारण कक्षमा ० देखि ४ डिग्री, फ्रोजन भण्डार कक्षमा न्यूनतम १८ डिग्री सेन्टिग्रेड तापक्रम हुनुपर्दछ। दूध तथा दुग्ध पदार्थ प्याकेजिङ कक्ष छुट्टै बनाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:५८ बिहीबार

दूध कृषि