अर्थ

बजारकाे दुध पुरा उमाले खानयाेग्य

काठमाडौं– बजारमा बिक्री भइरहेको दूधमा कोलिफर्म जिवाणु भेटिएकाले मानव स्वास्थ्यमा असर पर्ने सार्वजनिक भइरहेको बेलामा दूध ७२ डिग्री तापक्रममा पास्चराइजेसन (तताए) खानयोग्य हुने विज्ञहरुले बताएका छन्।

दूध दुहुँदा, ओसारप्रसार गर्दा र राख्न प्रयोग गरिने सामग्री समेतबाट कोलिफर्मको जीवाणु हुन सक्ने भएकाले ७२ डिग्री सेल्सिययमा १५ सेकेन्ड प्रशोधन गरे (उमाले) जीवाणु नष्ट भएर खानयोग्य हुने विज्ञ बताउँछन् । दूध वा पानी पूरा उम्लिनको लागि एक सय डिग्री सेल्सिययको तापक्रम आवश्यक पर्छ । पूरा उमालेपछि खानयोग्य हुने विज्ञले बताए।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा)ले आइतबार राजधानीमा आयोजित कार्यक्रममा खाद्य विज्ञ डा. अतुल उपाध्यायले संक्रमित दूध सही तवरबाट पास्चराइजेसन गरे खान हुने बताए । ‘६३ डिग्री सेल्सियस तापक्रममा ३० मिनेट वा ७२ डिग्री सेल्सियस तापक्रममा १५ सेकेन्ड प्रशोधन गरेपछि स्वच्छ हुन्छ,’ उपाध्यायले भने, ‘यो मापदण्ड पूरा गरे कोलिफर्मका जीवाणु नष्ट हुन्छन् ।’ उमालेर खाएपछि समस्या हुँदैन ।’नेफोस्टाले दूधलाई जिवाणुको संक्रमणबाट जोगाउन र हानिकारक रसायनको मिसावटलाई निरुत्साहित गर्न सरोकारवालाहरुमा संवेदनशीलता बढ्नुपर्ने सुभाव दिएको छ ।

डेरी उद्योगबाट उत्पादित प्रशोधित दूधको परीक्षण गर्दा सूक्ष्म जीवाणु कोलिफर्म र खाने सोडा लगायत रसायन भेटिएको विषय गम्भीर भएको विज्ञले बताएका छन् ।दूध दुहुँदा गाईको थुन र कल्चौंडामा टाँसिएको मलमूत्रबाट सुरुमै कच्चा दूधमा कोलिफर्मको संक्रमण हुने बताए ।खाद्यपदार्थको गुणस्तर तथा स्वच्छताको विषय सार्वजनिक भएपछि दूध तथा दुग्ध जन्य पदार्थ उपभोगमा कमी आएको डेरी सञ्चालकले बताएका छन् । कोलिफर्म भेटिएको चर्चापछि बजारमा दूध बिक्रीमा करिब ३० प्रतिशतले गिरावट आएको व्यवसायीले बताएका छन् । डेरी उद्योग र दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधमा कमी आएको हो।

मुलुकभर दैनिक करिब ४९ लाख लिटर दूध उत्पादन भए पनि ठूलो परिणामको दूध घरायसी प्रयोजनमा खपत हुन्छ । १५ प्रतिशतमात्र औपचारिक च्यानलबाट बिक्री हुने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । एसोसिएसनका अनुसार साढे सात लाख दूध औपचारिक रुपमा बजारमा गए पनि साढे १७ लाख लिटर दूध डेरीमा नगई किसानले सिधै उपभोक्ता समक्ष बिक्री गर्ने गरेका छन्।

नेफोस्टाले १४ बुँदे सुझाव दिएको छ । दूध तथा दुग्धजन्य पदार्थमा गुणस्तर तथा स्वच्छता हासिल गरी विदेशी दुग्ध उद्योगसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्यमीलाई सक्षम बनाउन सरकारले पहल गर्नुपर्ने, दूध चिस्यान केन्द्र तथा प्रशोधन उद्योगको मापदण्ड बनाई अनुगमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुणस्तर विभागका पूर्वमहानिर्देशक जीवनप्रभा लामाले बताइन् ।खाद्य निरीक्षणका लागि जनशक्ति र साधन स्रोत पर्याप्त व्यवस्था गर्नुपर्ने, दुग्ध तथा पानी उत्पादन गर्ने उद्योगहरुमा जोखिम बढि हुने भएकाले गुणस्तर तथा स्वच्छता मापन गर्ने आफ्नै प्रयोगशालाको व्यवस्था गर्नुपर्ने, खाद्य उद्योगको श्रेणी अनुसार अनुज्ञापत्र जारी गर्दा नै सर्त राख्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को क बमोजिम जारी गरेको ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन, खाद्य अनुज्ञापत्र नलिई खुला रुपमा बिक्री हुने दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर तथा स्वच्छताको अवस्था झनै बिकराल हुने हुँदा त्यस्ता व्यावसायलाई दुई वर्षभित्र विस्थापित गर्न भनेको छ ।
दूधको गुणस्तर तथा स्वच्छताको दायित्व तथा जिम्मेवारी दुग्ध प्रशोधन उद्योगले लिनुपर्ने, दूध प्रशोधनपछि ढुवानी गर्दा, बिक्री गर्दा उपभोक्ताले खरिद गर्नुपूर्व उचित तापक्रमको व्यवस्था गर्न आग्रह गरिएको छ।

दूध र पानीको विषयमा गुणस्तर नभएको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साउनदेखि कडाइ गर्ने भएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर साउनदेखि स्वच्छता अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने विभागका महानिर्देशक सञ्जिव कर्णले बताए । ‘उत्पादक र उपभोक्ताबीच सचेतनाको खाँचो छ,’ कर्णले भने, ‘अभियानको रुपमा अनुगमन गर्छौं ।’सरकारले केही समयअघि गरेको अनुगमनमा करिब दुई दर्जन डेरी उद्योगको दूधमा कोलिमर्फ भेटिएको जनाएको थियो । ४२ वटा ब्रान्डका दूधको नमुना संकलन गरेर परीक्षण गरेको थियो ।
 

प्रकाशित: २५ असार २०७५ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App