अर्थ

‘कृषि अनुदान सदुपयोग भएन’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लिएर काम नगर्नेहरूको सूची सार्वजनिक गर्न लागेको बताएका छन्। धादिङबाट काठमाडौं आएर विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग मंगलबार भेटघाट यस्तो बताएका हुन्।

राज्यले कृषि क्षेत्रमा अनुदानमार्फत धेरै लगानी गरे पनि त्यसको सदुपयोग नभएको चर्चा गर्दै उनले भने, ‘कृषि मन्त्रालयले पछिल्लो ५/७ वर्षका बीचमा अर्बौं रूपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन। यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु। कसैले तिर्दिन भन्छ भने म कहाँ ल्याउ भनेको छु । केही दिनमा यसको सूची नै सार्वजनिक हुनेछ।’

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनलगायतका यावत समस्या रहेको चर्चा गर्दै अधिकारीले दुग्ध किसानको दुधको पैसादेखि उखु किसानसम्मको पैसा दिन बाँकी रहेको बताए । ६५ रूपैयाँमा किनेको दूध ९५, ९८ र १०० रूपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रूपैयाँ पनि लिने, त्यसको मख्खन पनि झिक्ने अनि किसानलाई चाहिँ पैसा छैन भनेर नदिने, यस्तो मुलुक अन्त कतै पाइएला ? भन्ने प्रश्न गर्दै अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड रूपैयाँ दूध किसानको हातमा गइसकेको जानकारी दिए। 

डेढ अर्ब रूपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उनले भने, ‘बाँकी रकम पनि निकासाका लागि प्रयास भइरहेको छ।’ मन्त्रालयमा अप्ठ्याराहरू रहेको जनाउँदै अधिकारीले भने, ‘उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैंको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ। रकम निकासाका लागि प्रयास गरिरहेको छु।’

मन्त्री अधिकारीले कृषि मन्त्रालय र वास्तविक किसानबीच ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर लागि परेको जिकिर गरे। राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै अधिकारीले कांग्रेस–एमालेको वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताए।

प्रकाशित: ५ भाद्र २०८१ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App