अर्थ

चीनसँगको व्यापारमा सुधारको संकेत

भूकम्प र कोभिड महामारीको कारणले छिमेकी मुलुक चीनसँग खुम्चिएको वैदेशिक व्यापारमा पछिल्लो समय सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्षको चार महिनामा नेपाल–चीनबीचको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको चार महिनामा नेपालले चीनमा ८० करोड रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ। गत आवको सोही अवधिमा भने नेपालले चीनतर्फ २० करोड रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो। गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३०७.९ प्रतिशतले निर्यात बढेको छ।

चालु आर्थिक वर्षमा निर्यात मात्रै होइन, चीनतर्फ हुने आयातमा उल्लेखनीय रूपमा सुधार देखिएको छ। नेपालले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा एक खर्ब तीन करोड रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।

नेपालले गत आर्थिक वर्षको सोही अवधिमा भने ७४.६ अर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको थियो। गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा चीनबाट नेपालतर्फ हुने आयातमा ३४.४ प्रतिशतले वृद्धि भएको छ।

हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले चीनले गत सेप्टेम्बर महिनादेखि तातोपानी भन्सार खुला गरेसँगै नेपाल र चीनबीचको वैदेशिक व्यापारमा केही सहज हुँदै आइरहेको बताए। ‘२०७२ सालको भूकम्प र कोभिड महामारीको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापार लगभग ठप्प जस्तै थियो,’ उनले भने, ‘अहिले दुवैतर्फ सहज ढंगले नाका खुलेसँगै चीनतर्फको व्यापारमा केही सुधारको संकेत देखिएको छ।

चीनले नेपालका करिब आठ हजारभन्दा धेरै वस्तु तथा सामान शून्य भन्सारमा निर्यात गर्ने सुविधा दिए पनि नेपालले पर्याप्त मात्रामा निर्यात गर्न भने सकिरहेको छैन। ‘चीनले आठ हजारभन्दा धेरै वस्तु निर्यातमा शून्य भन्सार सुविधा दिने घोषणा गर्दै आइरहेको छ,’ उनले भने, ‘कुन वस्तु तथा सामानमा पाइने र कुनमा नपाइने भन्ने टुंगो नलाग्दा भने नेपालबाट निर्यात हुने वस्तुमा समस्या हुँदै आइरहेको छ।’

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा नेपाल र चीनबीचको वैदेशिक व्यापार घाटा दुई खर्ब २० अर्ब ९५ करोड रूपैयाँ रहेको छ। नेपालले गत आर्थिक वर्षमा दुई खर्ब २२ अर्ब ७२ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको थियो। सोही अवधिमा नेपालले एक अर्ब ७६ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आथिर्क वर्ष २०८०-८१ को प्रथम चार महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२ प्रतिशतले ह्रास आइ ६ खर्ब ५३ अर्बमा सीमित हुन पुगेको छ।

केन्द्रका अनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः नौ प्रतिशत र ९१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ७.७ प्रतिशतले ह्रास आइ ५०.५७ अर्ब रूपैयाँ तथा कुल पैठारीमा ३.८ प्रतिशतले ह्रास आएर पाँच खर्ब १२ अर्बमा सीमित भएको छ। आव २०७९-८० को पहिलो चार महिनामा निकासी-पैठारी व्यापारको अनुपात १ः९.७ रहेकोमा आव २०८०-८१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.१ रहन आएको छ।

केन्द्रका अनुसार चालु आवको चार महिनामा फलाम तथा तिनका उत्पादनको निर्यातमा ९३.६ प्रतिशतले वृद्धि भई पाँच अर्ब ७० करोड पुगेको छ। त्यसैगरी यार्नको निर्यातमा ३.५ प्रतिशतले ह्रास आइ तीन अर्ब ८४ करोड रूपैयाँमा सीमित भएको छ। ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ५.८ प्रतिशतले ह्रास आइ तीन अर्ब ७० करोडमा झरेको छ।

तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा १२.० प्रतिशतले वृद्धि भई तीन अर्ब २२ करोड पुगेको छ। समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ४.६ प्रतिशतले ह्रास आइ दुई अर्ब ५१ करोडमा सीमित भएको छ। चालु आवको चार महिनाको अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ९.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १५ करोड रूपैयाँ पुगेको छ। चालु आवकै चार महिनाको अवधिमा अदुवाको निर्यातमा ८९.९ प्रतिशतले वृद्धि भई ५७ करोड रूपैयाँ पुगेको छ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १४.५ प्रतिशतले ह्रास आइ ३३ अर्बमा सीमित भएको छ। नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७०.५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सो हिस्सा ६५.३ प्रतिशत झरेको छ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क टर्की र नेदरलेन्ड प्रमुख रूपमा रहेका छन् । पैठारीतर्फ समग्रमा आव २०८०-८१ को पहिलो चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ९.५ प्रतिशतले ह्रास आइ ८८.९८ अर्बमा झरेको छ।

चालु आवको चार महिनामा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको आयातमा ७.६ प्रतिशतले ह्रास आइ ४४.४३ अर्ब रूपैयाँ पुगेको छ। मसिनरी तथा पार्ट्समा ७.६ प्रतिशतले ह्रास आइ ३२.०९ अर्बमा सीमित भएको छ। कच्चा भटमास तेलको आयातमा ६८.५ प्रतिशतले ह्रास आइ ५.७६ अर्ब रूपैयाँमा झरेको छ।

प्रकाशित: २० मंसिर २०८० ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App