अर्थ

नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह

फाइल तस्बिर: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ। चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे। ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ’, अध्यक्ष मल्लले भने।

भारत, बङ्गलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको अवस्थामा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दा प्रतिफलको सुनिश्चित हुने उनको भनाइ थियो। अध्यक्ष मल्लले दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्ने बताए। ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ’, उनले भने।

अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यम खालका उद्योगमा लगानी गर्नसमेत राजदूत पार्कलाई आग्रह गरे। सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल रु १२ अर्ब ८१ करोड लगानी गरेको छ। जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन्।

भेटमा राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए। दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो। नेपालमा उत्पादन हुने सबै वस्तु वातावरणमैत्री भएकाले यहाँ उत्पादित वस्तुलाई आफ्नो मुलुक भित्र्याउन पहल गर्ने बताए।

प्रकाशित: २८ असार २०८० १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App