अर्थ

नेपालमा ६० हजार उद्योग सञ्चालन,४० प्रतिशत उद्योग ऋणको भरमा

राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाण्डौँले नेपालमा ६० हजार १८५ उद्योग प्रतिष्ठान गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७५/०७६मा गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नजिता बिहिबार चितवनमा सार्वजनिक गरेको हो।

यी उद्योग मध्ये नेपालमा औद्योगिक उत्पादन क्षेत्रका ५६ हजार ६११ उद्योग छन्। त्यसमध्ये ५ हजार १७ ठूला उद्योग छन् भने ५१ हजार ५९४ वटा साना उद्योग रहेको तथ्याङ्क सार्वजनिक भएको छ। खानी तथा उत्खनन् क्षेत्रका ३५६, विद्युत, ग्यास, बाफ तथा वातावरण अनुकुलिन सेवा क्षेत्रका ९९४ र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रका २ हजार २२४ वटा उद्योग रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।  

उद्योगहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ३३३ वटा रहेका छन्। सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ हजार ६३५ वटा उद्योग रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए। कोशी प्रदेशमा १२ हजार २२५, लुम्वेनी प्रदेशमा १० हजार ५०८, मधेश प्रदेशमा ७ हजार २७९,  गण्डकी प्रदेशमा ६ हजार ८१८, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३८७ वटा उद्योगहरु रहेका छन्।

नेपालमा ४० प्रतिशत उद्योगहरु ऋण लिएर सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय औद्योगिक सर्वेक्षणको तथ्याङ्कक अनुसार, वित्तिय संस्था तथा व्यक्तिबाट ऋण लिएर उद्योग सञ्चालन गरेका छन्। करिब ३४ प्रतिशत उद्योगले वित्तीय संस्थाहरुसंग ऋण लिएको छन् भने ५ प्रतिशतले साना उद्योग प्रतिष्ठानहरुबाट ऋण लिएको सर्वेक्षणले देखाएको छ। १ प्रतिशतले ऋणको प्रतिवद्धता लिएका छन्। ६० प्रतिशत उद्योगहरुले ऋण लिएका छैनन्।  

करिव ५ लाख जना उद्योगमा संलग्न  

नेपाली उद्योगहरुमा करिव ५ लाख नेपाली संलग्न रहेका छन्। उद्योग प्रतिष्ठानमा कार्यरत व्यवसायी, साझेदार संस्था तथा कामदार गरी ४ लाख ९१ हजार २२७ जना रहेको धिताले जानकारी दिए। ‘कामदारमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४८५ जना संलग्न छन्,’ तथ्याङ्कक सार्वजनिक गर्दै उनले भने ‘सबैभन्दा बढी औद्योगिक क्षेत्रमा ४ लाख ४४ हजार ९६४ जना आवद्ध रहेको पाएका छौँ।’ उनका अनुसार विद्युत ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ जना र पानीको आपूर्ती ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप क्षेत्रमा १८ हजार १८५ जना व्यक्तिहरु खटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ५९ हजार ७४६ जना व्यक्ति विभिन्न उद्योगमा आवद्ध छन्। कोशी प्रदेशमा ९५ हजार ९६४, लुम्बेनी प्रदेशमा ८७ हजार ०६७, मधेश प्रदेशमा ८० हजार ७७३, गण्डकी प्रदेशमा ४० हजार ६३२, सुदूरपश्चिम प्रदेशमा २० हजार ४९ र कर्णाली प्रदेशमा ६ हजार ९९६ जना उद्योगमा आवद्ध रहको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ।  

पौने ४ लाख व्यक्तिलाई रोजगार  

नेपालका उद्योगहरुले करिव ४ व्यक्तिहरुलाई रोजगार दिएका छन्। यी उद्योगहरुबाट नियमित रुपमा तलव, ज्याला लिने गरि ३ लाख ८१ हजार ६८१ जना कामदार खटिएका छन्। ती मध्ये औद्योगीक उत्पादन क्षेत्रमा ३ लाख ४६ हजार १४३ जना रहेका छन्। त्यस्तै खानी उद्योगमा ५ हजार ७१९, विद्युत ग्यास क्षेत्रमा १७ हजार २३८, र ढलनिकास फोहर व्यवस्थापनमा १२ हजार ५८७ जना खटिएका छन्।  

तलब/ज्याला तथा सुविधामा १ खर्ब ७ अर्ब ८९ करोड खर्च  

यहाँका उद्योगहरुले तलब/ज्याला तथा सुविधामा बार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्ने रहेका छन्। सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानले कार्यरत कर्मचारीलाई तलब तथा ज्यालामा सो रकम खर्च गरेका छन्। उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीले औषतमा बार्षिक २ लाख ८२ हजार रुपैयाँ तबल बुझ्दछन्। औद्योगिक उत्पादन क्षेत्रका कर्मचारीले सबैभन्दा बढी ९५ अर्ब ७७ करोड रुपैयाँ बुझ्दछन्। यसरी सरदरमा औद्योगिक क्षेत्रमा एक कर्मचारीले २ लाख ७६ हजार रुपैयाँ प्राप्त गर्दछन् । यो रकम अन्यो उद्योगहरुमा भन्दा औषतमा कमी हो। खानी उत्खनन्मा काम गर्ने कर्मचारीले बार्षिक औषतमा ३ लाख १४ हजार ९७३ रुपैयाँ कमाउँछन्। विद्युत तथा ग्याँस उद्योगमा काम गर्ने कर्मचारीले बार्षिक ४ लाख रुपैयाँ तबल बुझ्द्छन्। १७ हजार २३८ कर्मचारीले बार्षिक ६ अर्ब ९२ करोड रुपैयाँ ज्याला पाउँदै आएका छन्।  

बार्षिक १२ खर्ब मुल्य बराबरको सेवा तथा वस्तु उत्पादन

बार्षिक औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानले १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा उत्पादन गरेका छन्। यो उत्पादन गर्न ८ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने सर्वेक्षण रिपोर्टमा बताईएको छ। औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ। लागत उत्पादन अनुपातमा ० दशमलव ७० प्रतिशत रहेको छ। यी उद्योगहरुको स्थायी सम्पती ६ खर्ब १९ अर्ब ५१ करोड रहेको छ। नेपालमा सञ्चालित उद्योगहरु २७० दिन नै सञ्चालन हुँदै आएका छन्। खानी उद्योगहरु १८० देखि २६९ दिन, उद्योग प्रतिष्ठान ९० देखि १७९ दिन र बाँकी प्रतिष्ठानह ९० भन्दा कम दिन सञ्चालन भएको देखिन्छ। उद्योगको उत्पादन क्षमता ४० प्रतिशत रहेको छ। तर, उद्योगहरु क्षमता अनुसार सञ्चालनमा छैनन्। कच्चा पदार्थको अभाव, बजारमा मागको कमी र स्रोतको कमीका कारण उद्योगहरु समस्यामा परेका हुन्।

कोरोना भाइरस (कोभिड १९)को महामारीको समयमा सरकारले गरेको लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योगहरु पुर्ण रुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ। यसैरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा सञ्चालनमा रहेका र बाँकी १३ प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा रहेको बताइएको छ। लकडाउनमा १७ प्रतिशत कामदारले विना सुविधा स्थायी रुपमा आफुले गरिरहेको काम छाडेका छन्। ६० प्रतिशत कामदारले बिना तलब अस्थायी रुपमा कामबाट अलग भएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ। ११ प्रतिशतका तलब सुविधा कटौती भएको र बाँकी १२ प्रतिशत कामदारले तबल ढिला गरिए पाएको सर्वेक्षणले देखाएको छ।  

प्रकाशित: १५ वैशाख २०८० ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App