अंकुर चन्द
‘आज आमा र म बाहिर जाँदैछौं। तिमी छोरीहरूलाई खाना खुवाएर बस है। साँझ अलि ढिलो हुनसक्छ भन्दै’ निस्किए उजेलीको श्रीमान् र सासू आमा।
दुई छोरी भएपछि घर र छिमेका धेरैले आफूलाई फरक रूपमा हेरेको उनले महसुस गर्दै थिइन्।
विचरी छोराको आशै आशमा सातआठ पटक गर्भपतन गराएको पीडा उनको मनमा छचल्किरहेको थियो। अझ घरमा कोही आउँदा सासू आमाले एउटा नाति पनि दिन नसक्ने अलच्छिनी भन्दै काटेको कुराले उनको मन झन् कुँडिंदै जान्थ्यो।
छोरी नै हाम्रा दुःखका साथी हुनेछन् भन्दै मन शान्त पार्न खोज्ने श्रीमान् झन् साँझ भट्टीमा खाएर आई एउटा छोरा पनि जन्माउन नसक्ने तँ भन्दै गाली गर्दा उनको मन कटक्क खान्थ्यो।
अब त अर्को बिहे गर भन्दै आमाले छोरालाई उक्साइरहेकी उनले सुनेकी थिइन्।
धेरै दिनदेखि अचेल यस्तै व्यवहार देखाउँदै आएको श्रीमानको वचनले मुटुमा ढुंगाले थिचेझै हुन्थ्यो।
सधैं जस्तै उनी अबेर साँझसम्म छोरीहरूलाई सुताएर बसेकी थिइन्।
उनको श्रीमान् आए र खुसी हुँदै भन्यो, ‘उजेली, अब त छोरा हुने भयो!’
उनले छक्क पदै सोधिन्, ‘कसरी?’
केही न भएको छैन जस्तो गरी उनको श्रीमानले सजिलैसँग भने, ‘आज आमा र मैले केटी हेरेर आयांै। भोलि दुईचार जना जन्ती लगेर लिन जान्छौं।’
प्रकाशित: १५ माघ २०७८ ०३:२४ शनिबार