१) नेपाली नब्बे प्रतिशत गीतमा धोका, विछोड, मुटु अनि पराई शब्दको बहुलता हुन्छ। ती सबै गीतमा भरिसक्य गाउने पात्रले आफ्नी प्रियलाई वा प्रेमिकालाई निर्दयी वा निष्ठुरी भनेर गाली गरिएको हुन्छ।
२) नेपाली गीतमा तिमी र तपाईंको फरक सधैँ छ, पुरुषले सम्बोधनमा महिलालाई तिमी भनिरहेको हुन्छ, तर महिला वा गायिकाले पुरुषलाई अक्सर (पचास प्रतिशतभन्दा बढी गीतमा) ‘हजुर’ भनिरहेका हुन्छन्, गीतमा यस्तो विभेद किन ?
३) गीतको म्युजिक भिडिओ बनाउँदा पुरुषले गाएको गीतमा पनि जबर्जस्ती महिला र मोटरसाइकलको प्रयोग गरिन्छ। के पुरुषले गाएको गीतमा कथाले महिला मागेकै हुन्छ ?
***
यी विषयमा पटकपटक आवाज उठ्दै आएको हो। १२ वर्षअघि (२०६५ मा) नेपाली गीत रेकर्डिङ भएको सय वर्ष पुगेको उपलक्ष्यमा ‘शुभारम्भ द म्युजिकल जर्नी’ले काठमाडौंस्थित रसियन सांस्कृतिक कार्यक्रममा आयोजित छलफलमा पनि माथिका प्रश्न ज्वलन्त भएर देखापरेका थिए।
गीतमा पहिलो महिला राजमती
नेपाली गीत रेकर्डिङ इतिहास सेतुराम श्रेष्ठबाट सुरु हुन्छ, विक्रमाब्द १९६५ मा। सेतुरामले त्यतिबेला गाएको गीत नेवारी भाषाको थियो, जसमा पूर्णतः एक महिला अर्थात् राजमतीको बयान गरिएको छ।
राजमती कुमती जिके वसा पिरति हाय बाबा राजमतीचा।
राजमती मबिलसा काशी वनेतेल बाबा हया ब्यू राजमतीचा।
सँ धासा कुलि कुलि मिखा धासा बाला बाला।
सकुमिया म्ह्याय् मचा ला।
ख्वा धासा तुयू ख्वाः, ख्वालय् निगः ती दु।
ताः ननिया राजमती चा।
अर्थात्
राजमती कुमती मसित आए हुन्छ पिरती मेरो प्यारो राजमती
राजमती दिएनन् भने म त काशी जानेछु बुवा ल्याइदिनुस् राजमती
कपाल भने कल्की कल्की परेको आँखा भने बाटुली परेको
साँखुकी कन्या हुन् कि
मुहार भने गोरो गोरो, मुहारमा दुइटा कोठी छन्
ताननी टोलकी छोरी हुन् कि !
जम्माजम्मी तीन मिनेटको यस गीतमा सम्पूर्ण रूपमा एक उत्साही, कर्मशील, रूपवान अनि शक्तिशाली महिलाको बयान गरिएको छ। त्यस्तै, यसमा काठमाडौं सहरको तीन ठाउँ (ठँहिटी, मरुहिटी र कोहिटी) को पनि बयान गरिएको छ, ती ठाउँ अहिले क्रमशः ठमेल, मरुटोल र जैशीदेवल भएका छन्। यस गीतमा कतै पनि महिलालाई अपमानित, असान्दर्भिक रूपमा व्यंग्य वा हेलाहोँचो गरिएको छैन।
राणा प्रधानमन्त्री जंगबहादुरको बेलायत भ्रमणका बेला यो गीतलाई एक दिनको राष्ट्रगानका रूपमा प्रयोग गरिएको पनि सुन्नमा आउँछ, पुष्ट–अपुष्ट रूपमा। यस गीतमा बयान गरिएकी महिलाका नाममा चलचित्र निर्देशक नीर शाहले फिल्म नै बनाए, राजमती।
पहिलो गीत रेकर्ड गराउने सेुतरामले ‘झल्झली मैँया पातली’ र ‘यता हे¥यो यतै नजरमा राम प्यारा छन्’ जस्ता गजल पनि रेकर्ड गराए, कलकत्ता (भारत) गएर।
त्यसपछि उस्ताद साइँला (अष्टमान श्रेष्ठ), उस्ताद बद्री (बद्रीलाल जोशी), मास्टर मित्रसेन थापा मगर, मास्टर रत्नदास प्रकाश (रत्नदास खड्गी) आदिले गीत रेकर्ड गराए, त्यसपछि गीतमा रोमान्टिक युग सुरु भयो। उस्ताद साइँलाले गाएको ‘कालो ठेकी नारान’मा चर्कै रूपमा नारीको रूपको बयान देखियो।
पाटनको नारान आफल तोरी हलहलेको साग छ
आमाबाबु नजा भन्छ पोईको माया लाग्छ
बारुलो जत्रो कम्मर छैन फर्सी जत्रो चाक छ
कर्मै रिसाउने...।
त्यसपछि मित्रसेन थापाको ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले’ जस्ता गीतमा नारी चाल र चरित्रका कुरा बढ्दै गए। प्रथम महिला गायिका मेलवादेवी गुरुङले आफ्ना पति उस्ताद् भगतकृष्ण मानन्धरको संगीतमा गाएका गीतमा बल्ल महिला चेतना र जागरणका कुरा आए।
सवारी मेरो रेलैमा
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झन् पर जान्छु लै लै झन् माया लाग्छ बरिलै
झन् पर जान्छु लै लै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलै मा...।
स्वरमा शास्त्रीयताको गन्ध भएकी गायिका मेलवादेवीको गायकीमा राजनीतिक चेतना र काव्यलाई बुझ्न सक्ने क्षमता भएका कारण उनी राणा सरकारको कोपभाजन परी विदेश निर्वासित हुनुपर्यो। उनले नेपालमै हुँदा चन्द्र शमशेरको शासनकालमा गाएको गीत–
‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो
एक मात्र नै धर्म साधन नारी घरको द्वार हो...।’
नेपाली संगीत आकाशकी अद्वितीय गायिका मेलवादेवी यही गीत गाएका कारण र यसका रचनाकार शुक्रराज शास्त्रीसितको निकटताका कारण त्यतिबेलाका शासक चन्द्र शमशेरका भाइ जुद्ध शमशेरका आँखाको तारो भइन्।
क्रान्तिकारी विचारधाराका लेखक शुक्रराज शास्त्रीको नाटक ‘स्वर्गको द्वार’का निम्ति लेखिएको यो गीत मेलवादेवीले गाएपछि त्यति बेलाको सत्ताको सिँढी हल्लियो। विरोध, विवाद र कायलका बाबजुद पनि मेलवादेवीले यो गीत कोलकत्ता गएर रेकर्ड गराइन्। मेलवादेवीले यसबाहेक अन्य गीत पनि गाइन्–
‘हरियो भन्नु सुरतीपत्र, पहेँलो सुरती
परन्तुसम्म नलाउने भए के लाउनु पिरती
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो...।’
उनले अर्को रोमान्टिक गीत ‘आउ बसौँ पियारी मिर्मिरे झ्यालैमा’ गाइन्।
मेलवादेवीकै समयमा गायिका उर्मिला श्रेष्ठ आउँदासम्म गीतमा धेरै परिवर्तन आइसकेको थियो। उर्मिला श्रेष्ठको ‘सन्ध्या तिम्रो रिमझिमतामा’ होस् वा ‘सहनाई बज्यो’ गीतमा होस्,।
यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा, धर्मराज थापा, तारिणीप्रसाद कोइराला, बालकृष्ण सम, शंकर लामिछानेका गीतमा त्यतिविघ्न महिला चर्चा देखिएन।
गीतमा हजुर किन ?
भाषागत रूपमा हेर्दा नेपाली गीतमा ‘तँ’, ‘हजुर’, ‘तिमी’को चर्चा धेरै पाइन्छ, कुनै कुनै गीतमा ईश्वर वा भगवानलाई पनि ‘तँ’ सम्बोधन गरिएको छ, तर धेरै गीतमा पुरुषले महिलालाई ‘तिमी’ भनेरै लेखिएको वा गाइएको पाइन्छ। कहिलेकाहीँ महिलाले लेखेको गीतमै पनि पुरुषलाई आदरार्थी शब्द प्रयोग गरेर ‘हजुर’ भनिएको छ। रेडियो नेपालकी प्रथम संगीतकार कोइलीदेवीले गाएको गीत यस्तो छ– ‘सम्झिरहन्छु निस् दिन केवल हजुरलाई, सम्झिरहन्छु...।
यस गीतको रचनाकार छिन्नलता (रमोलादेवी शाह) हुन्। त्यतिवेलाको शक्तिको केन्द्र राजदरबारका शक्तिशाली पात्र अधिराजकुमारकी पत्नीले लेखेको यो गीतमा हजुर शब्दको प्रयोग भएपछि प्रायः नेपाली गीतमा महिलाले आफ्नो प्रेमी वा पतिलाई ‘हजुर’ भन्ने शब्दको बाहुल्य बढ्दै गयो।
गायिका तारादेवीको स्वर र भैरबहादुर थापाको रचनामा २०११ सालमा रेकर्ड भएको भनिएको गीतमा पनि हजुरको प्रयोग व्यापक छ– ‘अब हजुर नजानुस् लाहुर, नेपालमै पाइन्छ जागिर...।’
यो गीतमा पनि बिन्ती गरिएको व्यक्ति ती नारीको पति हुन् भन्ने बुझिन्छ।
महाकवि देवकोटाले ‘मुनामदन’ गीति नाटकमा नायिकालाई भन्न लगाएका छन्, ‘नछोडी जानुस् ए मेरा हजुर अकेली मलाई...।’
नेवारी लोकनाटक ‘जि वया ला लच्छि मदुनि’बाट प्रभावित यो नाटकको मौलिक रचनामा ‘हजुर’ अर्थ लाग्ने शब्दको प्रयोग कतै छैन। नेवारीभाषामा ‘वसपोल’ भन्ने शब्द निकै सम्मानका साथ प्रयोग गरिन्छ, तर त्यो शब्दको प्रयोग पनि त्यहाँ देखिँदैन। भाषिक संरचनाका आधारमा नेवारी भाषामा अंग्रेजीमा जस्तै जम्मा दुइवटा सम्बोधन पाइन्छ– तँ र तपाई। त्यस गीति नाटकमा ती दुई शब्द मात्र प्रयोग भएका छन्। मुनामदनमा देवकोटाले हजुरसम्म प्रयोग गरिदिएका छन्।
नेपाली संगीतको स्वर्णिम युगमा आएका (२० सालपछिका) राम्रा अनि चलेका गीतमा धेरैजसो शब्दमा महिलाले पुरुषलाई सम्बोधन गर्दा ‘हजुर’ नै धेरै प्रयोग गरेका छन्, यो प्रायः गीतकार पुरुष परेर पनि हुन सक्छ।
जस्तो, दीप श्रेष्ठको रचनामा दावा ग्याल्मो र दीप श्रेष्ठले गाएको गीतमा पुरुषको भनाइ छ– ‘भन भनन तिम्रो हजुर कस्तो छ ? सावनको रूप या भगवानको अवतार जस्तो छ।’ यसै गीतमा गायिकाले भन्छिन्, ‘मेरो हजुर पूर्णेको चन्द्रमा, हाँसी दिए प्रभातको आगमन, लहलह जून मस्त जवानी, यस्तै नै छ मेरो हजुर...।’
यसपछि मधु क्षेत्रीको रचनामा मधु क्षेत्रीकै संगीतमा क्षेत्री र ग्याल्मोको युगल स्वरमा अर्को गीत आयो, त्यहाँ पुरुष गायक सोध्छन्–
बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ
यो माया कसलाई हो ?
प्रतिउत्तरमा गायिका भन्छिन्–
यो माया हजुरकै हो नि,
यो माया हजुरलाई हो नि।
यसरी गाइएका वा रचिएका गीतमा धेरैजसो सम्बोधन प्रेमी–प्रेमिकाको बीचमा तिमी–तिमी सम्बोधन भए पनि महिलाले प्रायः पुरुष वा प्रेमीलाई हजुर भनेको पाइन्छ, दमन वा शोषणको रूप यहाँ पनि देखिन्छ कि !
महिला गीतकार : न्यून उपस्थिति
पञ्चायतकालमा बनेका धेरै गीतमा महिलालाई हेय पात्रको रूपमा चित्रित गरेका धेरै गीत आए, पछि साहित्यकार पारिजातले केही गीतलाई सूचीबद्ध रूपमै लेखेर ती गीतमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेकी थिइन्।
विशेषतः त्यो वेला चलेका गीतमा ‘साइँली र माइली पोइल गएछन्, गाउँघर नै शून्य पारेर’, ‘डल्ली मगर्नी हौ डल्ली मगर्नी’ जस्ता गीतमा आपत्ति देखिएको थियो।
गायनका हिसाबले नारायणगोपाल र तारादेवीले गाएको ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, रुद्र गुरुङ र अरूणा लामाले गाएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ वा जीतेन्द्र बर्देवा र अरूणा लामाले गाएको ‘हेर ने हेर कान्छा डाँडामा फूलले ढाक्यो’ जस्ता गीतमा महिला र पुरुषको सम्बोधनमा समानता देखिए पनि यसपछि आएका केही गीतमा सन्देहास्पद रूपमा महिलालाई गरिने सम्बोधनमा अलि अन्याय भएजस्तो देखियो।
मूल्यांकनका हिसाबले यतिवेलासम्म नेपाली गीत गायनमा महिला कलाकार धेरै भए पनि गीत रचनाकारका हिसाबले महिलाको उपस्थिति न्यूनाधिक नै थियो।
छिन्नलता, कोइलीदेवी, रञ्जना शर्मा सिंहबाहेक अन्य गीतकारको नाम बिल्कुलै देखिएको थिएन। पछि बिस्तारै गोमा, चन्द्रमित लक्सम, वानिरा गिरी, कुमारी रेशमा, भगवती बस्नेत, पद्मावती सिंह देखिए। तिनकै अभिभावकत्वमा सक्रिय गीत लेखनमा साहित्यिक जगत्बाट कवि चाँदनी शाह, सोनी शाह, उषा शेरचन, वसन्ती लालचन, प्रतीक्षा थापा, हरिदेवी कोइराला, आचार्य प्रभा, गीता त्रिपाठी, पल्पसा (किरण प्रजापति), उन्नति बोहोरा शीला, रञ्जना थापा, प्रतिमा श्रेष्ठ आदि देखिए।
अझै पनि संख्यात्मक रूपले हेर्ने हो भने नेपाली संगीत आकाशमा महिला गीतकारको बलशाली उपस्थिति देखिँदैन। यसको कारण वा निक्र्यौल के हो खोजको विषय छ।
एउटा पुरुषले आफूले मनपराएको प्रेमिकाबाट धोका पाउनेबित्तिकै ती महिलालाई विभूषित गरेर एउटा गीत बनाइहाल्छ। गीतकार तीर्थराज तुलाधरले एउटै गीत लेखे– ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ।’
एउटै गीत लेखेर सर्वाधिक चर्चित हुने गीतकार युवान तुलाधरले एउटै गीत लेखे, ‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिनँ।’
यो क्रम त चलिरहन्छ, चलिरहेको छ। विनोद गौचनको रचनामा गायक अरूण थापाले गाएको दोस्रो (तर चर्चाको हिसाबले उनको पहिलो हिट गीत) गीतमा शब्द छन्– ‘जति माया लाए पनि, जति कसम खाए पनि, निष्ठुरीले बाटो लाग्दा...।’ अरूण थापादेखि नारायणगोपालसम्म वा दीप श्रेष्ठदेखि अहिलेका चर्चित गायक यम बरालसम्म हेर्दा पनि त्यही पाइन्छ– ‘निष्ठुरीले छाडेर गइहाली...।’
यस्ता धेरै गीत छन्, जसमा महिलाका गुण–अवगुण अझ धेरै महिलाले गरेको बेइमानीको टिपोट बढी पाइन्छ। वा, हाम्रा धेरै गीतकारले महिलाबाट धोका मात्र पाएका छन् भन्ने बुझिन्छ। शुद्धि नेपालीले रचना गरेको सत्यनारायण राजभण्डारीले गाएको अत्यन्त चर्चित गीत, जुन तीस दशकमा हरेक प्रेमी हृदयको आर्तनाद बन्यो, त्यो गीत पनि यस्तै छ– ‘मुटु मेरो चुँडी लगिन्, झूठो माया लाउनेले, निद्राबाट ब्युँझाइदिइन् सपनीमा आउनेले...।’
देशमा महिला गीतकारको अभावले हो वा लेखनमा पाइने सहभाव, सहअस्तित्वको कमीले हो, महिला गीतकारको विषय अझै प्रख्य रूपमा आउन सकेको छैन। भन्नु नै पर्दा, नेपालका चर्चित संगीतकार वा गायक नारायणगोपाल, अम्बर गुरुङ, गोपाल योञ्जनले महिला स्रष्टाका गीत–संगीत कमै गरेका छन्। नारायणगोपालले एक महिला स्रष्टाको गीत गाएका छन्, अम्बर गुरुङले एक महिला स्रष्टाको गीत संगीत गरेका छन्, संयोगले ती महिला पञ्चायतकालमा सबैभन्दा शक्तिशाली पात्र थिइन्, चाँदनी शाह। शाहको बाहेक अरूको गीत यी साधकको भागमा परेन।
प्रेमध्वज प्रधानले छिन्नलता, चन्द्रमित लक्सम, गीता त्रिपाठी, उषा शेरचनका गीत गाएका छन् भने फत्तेमान राजभण्डारीले पनि छिन्नलता, कुमारी रेशमा, उषा शेरचन, गीता त्रिपाठी आदिका गीत गाएका छन्।
गोपाल योञ्जनको भागमा महिला गीतकार परेनन् भन्दा अत्युक्ति नहोला।
नेपाली जनका अत्यन्त प्रिय गायिका तारादेवीले धेरै कम महिला गीतकारका गीत गाएकी छिन्, त्यसमध्ये चाँदनी शाह, छिन्नलताको मात्र नाम भेटिन्छ भने तारादेवी पछि सशक्त गायिकामा अरूणा लामा, मीरा राणा, दावा ग्याल्मोको नाम आउँछ। यी तीनैजना गायिकाले शशि ठटाल, छिन्नलताका केही गीत गाएको इतिहास भेटिन्छ।
पारिजातले लेखेको पहिलो वन्दना गीत श्री पाण्डेले संगीत गरेर रेकर्ड गरेकी छन् भने पारिजातका केही गीत संयोगले गायिका सुसन मास्केको स्वरमा रेकर्ड भएका छन्। यस हिसाबले हेर्दा गायक र महिला गीतकारको सहकार्य कम देखिन्छ भने गायिका र महिला गीतकारको सहकार्य झन् कम देखिन्छ। रचनाकारितामै महिलाको सक्रियता देख्न सकिएन भने महिलाका विषयवस्तु कसरी अगाडि देखिएला त ?
निष्क्रियताका अरू धेरै ठाउँ
नेपालमा बर्सेनि मिस नेपाल, मिस मंगोल, मिस तराई आदि प्रतियोगिता वा खेल भएजस्तै महिला गीतकारको प्रतिस्पर्धा वा सम्मेलन पनि गर्न जरुरी छ।
नेपालको पहिलो राष्ट्रगान राजमती कुमती’ एक महिलाको गुणगानमा बन्यो तर दोस्रो राष्ट्रगान सम्पूर्ण रूपमै पुरुषको बहादुरी गाथामा आधारित थियो,
श्रीमान गम्भीर प्रचण्ड प्रतापी...।
अहिलेको नयाँ राष्ट्रगान पनि पुरुषले नै लेखेको हुँदा त्यसमा फूल र आँचलबाहेक महिलालाई प्रतिविम्बित गर्ने अरू शब्द खोज्न गाह्रो छ। देशलाई माता वा आमा भनिए पनि छिमेकी मुलुकका केही राष्ट्रगानमा आमाको प्रसंग होला, हाम्रोमा त्यो पाइएन।
नेपाली चलचित्र, नेपाली गीति नाटक आदिमा महिलाको सहभागिता भागबन्डाको आधारमा पनि तलै छ वा छैन बराबरै छ। तर, सञ्चार क्षेत्रमा महिलाको सक्रियता बढेपछि गीति लेखनमा भन्दा अप्रत्यासित रूपमा गजल लेखनमा महिलाको सहभागिता बढेको छ। गजलमा मदिरा र महिलाको बढी चर्चा हुने गर्छ भन्ने पुरानो मान्यतालाई तोडेर नेपालमा महिला गजलकार आक्रामक रूपमा आइरहेका छन् र ती स्तरीय पनि छन्, जसमध्ये श्रेष्ठ प्रिया पत्थर, शीतल कादम्बिनी, मिथिला प्याकुरेल, सरस्वती श्रेष्ठ सरु, प्रमिला कोइराला, सुमन स्मारिका, अञ्जु स्मारिकाको नाम अग्रपंक्तिमै छ। गजलको गज वा जमिन बलियो भएको ठाउँ पाकिस्तानमै पनि परवीन शकिरपछि अर्को महिला गजलकारको नाउँ खोज्नुपर्छ भने भारतको पनि त्यही हाल छ, तर नेपालमा महिला गजलकार गुन्जिएकै छन् र गाइएकै पनि छन्।
गीतको आफ्नो संवाद र स्वाद छ, तर गजलमा झन् धेरै व्याकरणीय चुनौती र चयनका कुरा छन्, यी सबै फलदायी मान्यतालाई स्विकार्दै महिला गजलकार यसरी अगाडि देखिइनु एउटा शुभ संकेत हो।
गजलको भरिलो फाँटमा महिलाको यो अवस्था देख्दा गोपाल योञ्जनको शब्द संगीतमा गायिकाद्वय अरूणा लामा र मीरा राणाले गाएको गीत समर्पण गर्न सकिन्छ–
यो मायालाई भार ठान,
या पैतालाको धुलो मान,
तिम्रो खुसी तिम्रो मन तिम्रो विचार
तर हामीविना चल्दैन है तिम्रो संसार...।
प्रकाशित: २२ फाल्गुन २०७७ ०३:५७ शनिबार