कला

‘कबड्डी कबड्डी कबड्डी’ घोषणा

काठमाडौं – फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण हुने भएको छ। फिल्मको कलाकार समूहमा नयाँ सदस्यका रूपमा अभिनेता कर्मा र नायिका उपासना सिंह ठकुरी भित्रिएका छन्। फिल्ममा ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ अभिनेता अभिनेता दयाहाङ राई भने यथावत छन्।

फिल्म निर्माण समूहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म चाँडै नै फ्लोरमा जाने जानकारी दिएको हो। फिल्मका निर्देशक रामबाबु गुरुङले फिल्मले स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वलाई प्रस्तुत गर्ने बताए। ‘अघिल्ला संस्करणका भन्दा केही फरक विषयबस्तु समेटेका छौं।

दर्शकले अघिल्ला संस्करणका भन्दा बढी रमाइलो लिनुहुन्छ भन्नेमा विश्वस्त छौं’, निर्देशक गुरुङले भने। फिल्मका अघिल्ला दुई सिरिजको निर्देशन रामबाबुले नै गरेका थिए। उनका अनुसार फिल्म यो वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउनेछ। फिल्ममा गुरुङ र उपेन्द्र सुब्बाको कथा हुनेछ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा दयाहाङ, कर्मा र उपासनासँगै रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

जेठ ५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहनेछ। मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा रुदेना साडा लेप्चा सह–निर्माता छन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App