कला/संस्कृति

रुद्रराज पाण्डे: अँध्यारोको दियो

व्यक्तित्व

तस्बिर स्रोत: त्रिचन्द्र क्याम्पसको वेबसाइड

मैले रुद्रराज पाण्डे स्मृति पुरस्कार प्राप्त गरेकोमा गर्वको अनुभव गरेको छु। धेरै वर्ष बितिसकेको छ। मेरो स्मृतिमा भने त्यो क्षण बिर्सन नसकिने बनेको छ। यो पुरस्कार मलाई डिल्लीबजारस्थित सांस्कृतिक संस्थानमा दिइएको थियो।

यो पुरस्कारको जानकारी मलाई डा. मोहन लोहनीले दिनुभएको थियो। उहाँ अंग्रेजीका प्राध्यापक हुनुहुन्छ। उहाँ कूटनीतिज्ञ पनि हुनुहुन्छ। उहाँ लेखिरहनुहुन्छ। एउटा राम्रो लेखक। समाजको अध्ययन गर्न सक्ने क्षमतावान व्यक्ति। उहाँलाई समाजले विद्वान् मानेको छ। उहाँसँग मेरो पुरानो चिनजान हो। उहाँमा रहेको विद्वताका कारण म उहाँप्रति आकर्षित भएको हुँ। हामीले भेटमा चिया खाँदै घण्टौं कुराकानी गरेका छौं। चियाको प्रस्ताव सधैं उहाँले नै गर्दै आउनुभएको छ। उहाँको कुरा सुन्न म जहिले पनि लालायित हुने गरेको छु। उहाँप्रति मेरो सदैव उच्च सम्मान छ।

यस कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी हुनुहुन्थ्यो। उहाँसँग मेरो पुरानो परिचय हो। उहाँको स्मरण शक्ति प्रशंसायोग्य थियो। उहाँसँग एउटै ठाउँमा सँगै नबसेको धेरै भएको थियो। तर पनि उहाँले मलाई बिर्सनुभएको रहेनछ। मैले विश्वविद्यालयमा काम गरेको उहाँलाई थाहा थियो। त्यही कुराको निर्क्याेल गर्न मसँग प्रश्न गर्नुभयो। मैले राजीनामा दिएको कुरा बताएँ। प्रमुख अतिथिको उहाँको मन्तव्य आकर्षक थियो। रुद्रराज पाण्डे उहाँका गुरु हुनुहुन्थ्यो। आफ्नो गुरूप्रति उहाँले श्रद्धाभाव देखाउनुभयो। गुरुको गुणको बखान गर्नुभएको थियो। शिक्षा र साहित्यमा रुद्रराज पाण्डेको योगदानको स्मरण गर्नुभयो।

सत्यमोहन जोशी गुणग्राही हुनुहुन्थ्यो। उहाँलाई त्यतिखेर सरकारले शताब्दीपुरुष घोषणा गरिसकेको थियो। कार्यक्रमहरूमा प्रमुख अतिथिको प्रस्ताव राख्नेहरूको लर्को नै हुन्थ्यो। उहाँलाई भ्याइनभ्याइ हुने। सरल व्यक्ति। सकभर नाइँ नभन्ने। उहाँको अनौठो बानी थियो। सामान्य टोपी, जुत्ता, दौरासुरुवाल र कोट उहाँको ट्रेड मार्क नै बनेको थियो।

हिँडेर नै कार्यक्रम स्थल पुग्ने। यो कुराले पाटनका मेयरलाई छोएछ। उहाँलाई सवारी साधन र ड्राइभर नै उपलब्ध गराउनुभयो। सत्यमोहन जोशीले मन्तव्यका क्रममा भन्नुभयो– कतिपय कार्यक्रममा म जान्नँ तर यो कार्यक्रममा भने मैले इन्कार गर्न सकिनँ। आफ्नै गुरुको नाममा खोलिएको साहित्य सेवा समितिको कार्यक्रममा कसरी नजाने ?

सत्यमोहन त मैले उदाहरण दिएको। नेपालमा नाम चलेका विद्धान्हरू रुद्रराज पाण्डेका चेलाहरू नै थिए। अहिलेको जस्तो गुरुहरूप्रति असहिष्णु हुने समय थिएन। गुरुहरूलाई नै बेवास्ता गर्ने समय थिएन त्यो। गुरुहरूप्रति श्रद्धाभाव राख्ने समय थियो त्यो। त्यसैले त रुद्रराज पाण्डे सबैका श्रद्धेय हुनुहुन्थ्यो, आदरणीय हुनुहुन्थ्यो, उदाहरणीय हुनुहुन्थ्यो।

रुद्रराज पाण्डे समयलाई आँकलन गर्नसक्ने क्षमतावान् व्यक्ति हुनुहुन्थ्यो। त्यतिखेर उपन्यास विधा टाक्सिएको थियो। धेरै साहित्यकार कविता लेख्थे। मञ्चमा कविता सुनाउन पाइने, वाहवाही पाइने। त्यतिखेर कविको नै बढी महत्त्व थियो।

राज्यबाट कविलाई नै मानसम्मान दिइन्थ्यो। राज्यले नै महत्त्व दिएको क्षेत्रले फल्न फुल्न पाउनु स्वाभाविक नै हो। रुद्रराज पाण्डेलाई थाहा थियो, साहित्य भनेको कविता मात्र होइन। साहित्यका सबै विधाले फस्टाउने मौका पाउनुपर्छ।

सबै विधाको त्यत्तिकै महत्त्व हुन्छ। नेपालमा उपन्यासको अभाव उहाँले देख्नुभयो। त्यसो त नेपालमा उपन्यास नलेखिएका होइनन्। कम थिए तर तिनीहरूमा समयको सोच थिएन। तिनीहरू समयानुकूल थिएनन्। ती उपन्यासमा मौलिकताको अभाव थियो। काल्पनिकतामा आधारित थिए उपन्यास। त्यस्ता उपन्यास रोचक त थिए तर तिनमा तत्कालीन समयको छाप थिएन, तिलस्मी थिए। तिनीहरूमा जादुयी घटनाको भरमार हुन्थ्यो। पढ्दा त रमाइलो लाग्ने तर त्यो आफ्नो संसार थिएन। चमत्कारी शक्ति त थियो तर त्यसमा आफ्नो माटोको गन्ध थिएन।

रुद्रराज पाण्डेलाई विदेशी साहित्यको ज्ञान थियो। यस किसिमको लेखन उपन्यासको सही बाटो थिएन। यस्तो लेखनले हामीलाई उपन्यासको राजमार्गमा पाइला सार्न दिँदैन। हरेक विधाको आफ्नै निश्चित मापदण्ड हुन्छ। समाजको मौलिक चरित्र हुन्छ। त्यसलाई अभिव्यक्ति गर्ने आधार हो उपन्यास। हाम्रो बाटो खोई ? बाटो अरूले देखाएका छैनन् भनेर निराश बन्ने खालका व्यक्ति रुद्रराज पाण्डे हुनु हुँदैनथ्यो। उहाँ प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँले नै उपन्यासको बाटो खोस्रने आँट गर्नुभयो। यो उहाँको महानता थियो। यो नै महŒवपूर्ण मोड थियो। यो नै उपन्यासका लागि थालनी थियो। आज त उपन्यासमा नयाँ नयाँ प्रयोग भइरहेका छन्। जगमा रुद्रराज पाण्डे हुनुहुन्छ। त्यसैले त पहिलो आधुनिक उपन्यास लेख्ने श्रेय उहाँलाई गएको छ।

उहाँले उपन्यासको मौलिकता बुझ्नुभएको थियो। त्यसको महत्त्वको ज्ञान उहाँलाई थियो। आफ्नो माटोको सुगन्ध त्यसमा हुनुपर्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो। उहाँलाई आधुनिकताको ज्ञान थियो। त्यसैले त ‘रूपमती’ लेख्नुभयो। ‘रूपमती’ले त्यतिखेर हलचल है ल्यायो। सबैका आँखाको पट्टी खोलिदियो। यो खोल्ने श्रेय रुद्रराज पाण्डेलाई नै जान्छ। यो स्तुत्य कार्य थियो। त्यसैले त उहाँ आधुनिक नेपाली उपन्यासका जनक बन्नुभयो। पाठकले त्यसमा आफूलाई भेट्टाउने मौका पाए। पाठकले जीवनका ओराली उकाली भेट्टाए।

रूपमतीमा हामीले धेरै कुरा पाउन सक्छौं। उपन्यास कस्तो लेखिनुपर्छ भन्ने प्रश्नको जवाफ थियो यो। यो उपन्यास सोझै समाजसँग जोडिएको छ। त्यसमा पाठकले आफ्नो समाज देखे। यसले ऐनाको काम गर्‍यो। उपन्यासमा सरलता छ। सरलता भइकन पनि यसको वैचारिक पक्ष बलियो छ। उपन्यासमा शिल्पगत चातुर्य देखाउन उहाँ सफल हुनुभयो।

यो एउटा योजनाबद्ध किसिममै लेखिएको उपन्यास हो। थालनी, उत्कर्ष र अन्त्यको संरचना यो उपन्यासमा हामीले पाउँछौं। समाजमा भिन्न भिन्न चरित्र पाइन्छन्। सबै मान्छे आदर्श हुँदैनन्। सबै मान्छे खराब हुँदैनन्। यो समाजमा दुष्ट चरित्रको भरमार छ भनेर हामी निराश हुनुपर्दैन। असल र प्रेरणादायी चरित्रको उपस्थितिले यो समाज बस्नलायक बनेको छ।

आज अहङ्कारमा बाँचेको मान्छे भोलि उसको अहङ्कार चकनाचुर हुन सक्छ। आज सम्पन्न मान्छे भोलि कंगाल हुन सक्छ। जसरी समाजमा यावत् अप्ठ्यारा छन्, तिनलाई देखाउन उहाँले कुनै कसर बाँकी राख्नुभएको छैन। आफ्नो कल्पनाको पूर्ण प्रयोग गर्नुभएको छ। एउटा आदर्श समाज कस्तो हुन्छ अनि खराब अवस्था कसरी भताभुङ्ग हुन्छ? उहाँले सोझै नभनेर पात्रद्वारा व्यक्त गर्नुभएको छ। कलात्मकता भनेको नै यही हो। रूपमतीमा धेरै पात्र छन्। यी पात्रमार्फत नै उहाँले सन्देश दिनुभएको छ।

यो घटनाप्रधान उपन्यास हो। घटनाले नै उपन्यास गतिशील बनेको छ। उद्देश्यलाई प्रस्ट पार्न मद्दत गरेको छ। नैतिकता र आदर्श यस उपन्यासका प्राथमिकता हुन्। उहाँले पाँचवटा उपन्यास लेख्नुभयो। रूपमती, चप्पाकाजी, प्रायश्चित्त, प्रेम र हेरफेर। पहिलो उपन्यास भने रूपमती नै हो। यो उपन्यास नै महत्त्वपूर्ण मानियो। यही उपन्यासले नै समाजमा गहिरो छाप छोड्न सक्यो। अन्य उपन्यास पनि आफ्नै किसिमका छन्। हामीले पाण्डेका अन्य उपन्यासलाई पनि बेवास्ता गर्न मिल्दैन। रूपमती भने कथ्य र शिल्पका दृष्टिले महत्त्वपूर्ण मानियो।

यस उपन्यासमा धेरै तत्त्वको समिश्रण छ। जहाँ द्वन्द्व चाहिन्छ, त्यो रूपमतीमा छ। द्वन्द्वले कथालाई गति दिन्छ, रोमाञ्चकता थप्छ। त्यहाँ आदर्श मात्र भएर हुँदैन, धरातल टेकेन भने असफल हुन्छ। रुद्रराजले यी सब कुराको संयोजन गर्नुभएको छ।

अहिले मैले उहाँप्रति श्रद्धाको फूल चढाएको छु। रुद्रराज पाण्डे नेपाली साहित्यमा सदैव स्मरणीय रहनुहुनेछ। यसमा म विश्वस्त छु।

प्रकाशित: २४ फाल्गुन २०८१ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App