प्रतीक्षित फिल्म एक्टर टेक वान को जापान रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान जाने भएका छन् । जापानका विभिन्न पाँच सहरमा जापान आउने निश्चित भएको फिल्मका जापानका वितरक सचिन आचार्यले बताए ।
'प्रदीपसँग सबै कुरा फाइनल भएको छ । आगामी फेब्रुअरी ५ तारिख, बुधबार टोक्यो को नाकानो जेरो हलमा फिल्मको जापान प्रिमियर शो हुनेछ,' सचिनले जानकारी दिए ।
टोक्यो रिलिजपछि प्रदीप खड्का पश्चिमी जापानको फुकुओका जानेछन् । फुकुओकामा फेब्रुअरी ८ तारिख फिल्मको शो प्रदीपकै उपस्थितिमा आयोजना हुनेछ। त्यसपछि, फेब्रुअरी ९ तारिख नागोयामा शो हुने बताइएको छ । नागोया शो विशेष किसिमको हुने जानकारी प्रमुख श्याम सितलले दिएका छन् ।
'उहाँ युवा पुस्तामाझ मात्र होइन, हरेक पुस्तामा प्रिय नायक हुनुहुन्छ। त्यसैले नागोया शोलाई फरक तरिकाले विशेष कार्यक्रमसहित आयोजना गर्ने तयारीमा छौँ,' श्यामले बताए । त्यसपछि फेब्रुअरी १० तारिख सोमबार ओसाकामा फिल्मको शो आयोजना हुनेछ। साथै, चिवाको एक विशेष शोमा पनि प्रदीप प्रत्यक्ष रूपमा सहभागी हुने जनाइएको छ।
एक्टर टेक वान गत तिहारमा रिलिज हुने भनिए पनि प्रदर्शन मिति पर सारिएकाले जापानका वितरकहरू एक समय तनावमा थिए । तर, अब फिल्मको जापान रिलिजका लागि प्रदीप खड्काको उपस्थितिले थप रौनक ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित: २४ पुस २०८१ १७:५२ बुधबार