कला

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै!

मुक्तक

१) मुक्तक

कुनै दिन तिम्रो पनि अवश्य पालो आउनेछ

नगर घमण्ड आँखामा भ्रमको जालो आउनेछ

देखिएका सबै सत्य हुंँदैनन् बुझ्नेछौ त्यही बखत

चढ्न मुस्किल घनघोर कठिन उकालो आउनेछ।

२) मुक्तक

झर्दछ पुरानो पात नयाँ पात पलाउन

मर्दछ पुरानो विम्ब नयाँ याद फलाउन

यसरी चल्दछ चक्र आउने जाने प्रक्रिया हो

टर्दछ काल जो साथ नियमचक्र चलाउन।

३) मुक्तक

जीवनभित्रै राग छ विराग पनि लिप्त छ

छेकिएको कतै ज्योति कतै आभा उदिप्त छ

वासना जताततै भोगमै बित्छ लौ वय

रहस्य लोकको सारा आफैँभित्र विलुप्त छ।

४) मुक्तक

मानिसलाई विश्वास गर्न आधार चाहिन्छ

सँगै बाटो काट्न पनि त विश्वास चाहिन्छ

कसरी चल्छ संसार धोकाधडी अनि स्वार्थमा

सधैं सजग हुनकै लागि चोटिलो प्रहार चाहिन्छ।

५) मुक्तक

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै

जून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लै

बटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्

फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।

६) मुक्तक

कठ्याङ्ग्रने चिसै ठिक छ तातिरहने माथभन्दा

दुखाउने मित्रै ठिक छ सान्त्वनाका बातभन्दा

मेरो निधार मेरो भाग्य मैले भोग्ने कर्म मेरै

बिझाउने वाणी असल छुरा धस्ने हातभन्दा।

७) मुक्तक

अलिकति हाँसो देउ पीडा भुल्नुपर्छ

अलिकति खुशी देउ सुख झुल्नुपर्छ

आँसु साट जीवनसँग रमाएर बाँच्न

अलिकति आस देउ खुशी फुल्नुपर्छ।

८) मुक्तक

बाँच्नुको अर्को नाम जिउनु रैछ साथी

जति दिन बित्दै जान्छ उति चढ्छौ माथि

गन्ति ग¥यो कुरी बस्यो होला भेट भनी

कहिले दुख्छ मन त्यसै कहिले हुन्छ जाती।

९) मुक्तक

मन स्वस्थ भए मात्र विचार असल हुन्छ

माटो स्वस्थ भए मात्र राम्रो फसल हुन्छ

सत्कर्मको अन्नले नै सद्बुद्धिको चेत बन्छ

सबै स्वस्थ भए मात्र राम्रो नश्ल हुन्छ।

१०) मुक्तक

यथार्थले पोल्दा छाती कल्पनामा भुल्नु मजा

वियोगले पोल्दा छाती सपनामा भुल्नु मजा

यस्तै हो जिन्दगानी सबै साथ साथ हुन्नन्

विछोडले पोल्दा छाती तर्कनामा भुल्नु मजा।

प्रकाशित: ८ कार्तिक २०८१ १०:५३ बिहीबार

# Laghukatha # Poem # Muktak # When looking for companionship I find a different ground!