कला

त्यो रातो टीका

कथा

म उनको कार्यक्रमको सुरक्षार्थ खटिएको छु। मेरै मातहतको टोलीले सबै जिम्मेवारी सम्हालेको छ। अहिलेसम्म उनको पार्टीको कार्यक्रम भव्य र सभ्य तरिकाले चलिरहेको छ। राज्यका उच्च पदस्थ व्यक्तिहरू पनि कार्यक्रम उद्घाटन सत्रमा आएका कारण म धेरै व्यस्त छु। चनाखो छु। मेरो ड्युटीप्रति म सधैं प्रतिबद्ध छु। म मेरो कर्तव्य निष्ठापूर्वक पूरा गर्नेछु र गरिरहेको छु। कार्यक्रम उद्घाटनपश्चात् उच्च पदस्थ व्यक्तिहरू काठमाडौं फर्केपछि भने अलि फुर्सद भएको छ तैपनि जिम्मेवारी त छँदैछ।

म कार्यक्रमस्थलमा बसिरहेको छु। उनको कार्यक्रम जारी छ। बिहान मेरो नजर एक्कासी उनीसँग जुध्न पुगेको थियोे एयरपोर्टमा। मसँगै उनलाई पनि मेरै गाडीमा राखेर कार्यक्रमस्थलसम्म ल्याउने सौभाग्य जुरेको थियो। उनलाई हेर्छु हसिँलो मुहार, ठुल्ठुला आँखा, लामो कपाल तर अति नै सौम्य उनको व्यक्तित्व। बाटोभरि उनले मलाई खासै महत्त्व दिइनन् र मैले पनि उनलाई एकपटक ‘जाऊँ म्याम’ भन्नुबाहेक केही बोल्न सकेको थिइनँ। उनको शान्त स्वभाव खुब मन पर्‍यो।

दिनभर म ड्युटीमा व्यस्त भएँ। उनी पनि कार्यक्रममा व्यस्त भइन्। साँझ मेरो ड्युटी चेन्ज गर्ने बेला एकपटक आँखा जुधेको थियो। मलाई अप्ठ्यारो लाग्यो। उनी लजाइन्। मैले फेरि हेरेपछि उनी अलिकति हाँसिन्। मन ढुक्क भयो।

उनले हेरिरहेकै अवस्थामा म गाडी चढेर अफिसतर्फ लागें। रातभरि उनको आँखा चम्किरह्यो मेरो आँखामा। उनको नाम नसोधेकोमा आफैंलाई धत् भनें। उनको मधुर गुलाबी ओठलाई सम्झेर नामकरण गरिदिएँ–सानी।

सानीलाई सम्झेर ननिदाएका आँखा लिएर म ड्युटी गर्न उनको कार्यक्रमस्थलतर्फ जाने तयारीमा छु। ‘गाडी तयार भयो सर,’ ड्राइभरले गाडी तयारी भएको जानकारी दिएपछि म हाँस्दै गाडी चढ्छु।

कार्यक्रमस्थलको ड्युटी बुझ्छु। आँखा भने सानीलाई नै खोजिरहेका थिए। मैले उनको पूर्णचन्द्रजस्तो मुहार देखिहालें, हाम्रा आँखा जुधे।

म परबाट उनलाई हेरिरहेको छु। उनी पनि बेला बेला मलाई हेरेर अलिकति हाँस्छिन्। मलाई उनी हाँसेको खुब मन पर्छ।

साधारण पहिरन, लामो कपाल, ठुल्ठुला आँखा, निधारमा रातो टीका अनि मुहारमा खुलेको भलादमीपनले मलाई लोभ्याएको छ। उनको गुलाबी मधुर ओठमा नजर गाडिन्छन्। त्यो ओठले मेरो नाम ‘नरेश’ भनेर पुकारेको कल्पना गर्छु। मन कता कता उड्छ। म फेरि उनलाई हेर्छु। उनी साथीहरूसँग कुरा गर्दै हाँसिरहेकी थिइन्।

‘सानी !’ उनलाई नजिकै गएर बोलाउन मन लाग्छ तर थाहा छैन, उनको नाम के हो? सानी त मैले मनमनै राखिदिएको। म उनलाई बोलाउन सक्दिनँ। उनी मसँग बोल्न सक्दिनन् तर आँखा बोलिरहेझैं लाग्छ मलाई।

एकअर्कालाई थाहै नदिई हेरिरहेका बेला घरी घरी उनका र मेरा आँखा जुध्छन्। उनी अलिकति हाँस्छिन्। मुटु शीताङ्ग हुन्छ।

उनको मुस्कान चोरेर लुकाउन मन लाग्छ। ठुलो निधारमा रातो टीका खुबै सुहाएको छ। हाँस्दा देखिने सेता दाँतका लहर आँखैमा झुन्डिएका छन् मेरा। मलाई उनको भलादमीपन देखेर असजिलो लाग्छ, कतै मलाई अन्यथा सोच्ने हुन् कि भनेर।

अनजानमै सही मनले र आँखाले रोजेकी ‘सानी’। म मेरो हातका औंलाहरू छाम्छु, सानीको कोमल हातको स्पर्श...! हिजो गाडीबाट ओर्लंदै गर्दा लड्न खोजेकी थिइन् उनी। मैले हत्तपत्त उनको हात थामेको थिएँ ‘सरी म्याम’ भन्दै। लजाएर उनको अनुहार रातो भएको थियो। उनको रातो टीकामा प्राण बसेजस्तो लाग्छ मेरो।

‘थ्यांक यु इन्सपेक्टर साब!’ उनको आवाज पहिलोपटक सुनेको थिएँ।

चारैतिर हेर्छु। कार्यक्रम सभ्य तरिकाले चलिरहेको थियो। म सबै बुझेर स्टेजअगाडि बस्छु। बेचैन छ मन, सबै साथ भएर पनि केही छैन जस्तो।

बेचैन मन तब शान्त भयो, जब पर आउँदै गरेकी सानी देखे यी आँखाले। म मुस्कुराएँ। उनले पनि मलाई हेरिन् अनि अलिकति लजाइन्। उनी नजर जुधाइराखेर स्टेजतर्फ लागिन्। बेला बेला हेरिरहन्थिन्। नजर जुधेपछि मन कति फुरुंग पर्थ्याे। लामो कपाल, ठुल्ठुला आँखा, चट्ट मिलेको शरीर, हल्का कलेजी रंगको सारीमा उनलाई अति सुहाएको थियोे। केही समयपछि उनी मतर्फ आउँदै थिइन्, मेरो शरीर असन्तुलित भएजस्तो लाग्यो।

‘नमस्कार इन्सपेक्टर साब!’ उनले भनिन्। मेरा हातगोडा थरर काँपे, ओठतालु सुक्यो। ‘नमस्कार हजुर!’ मैले उठ्दै भनें। उनी हाँसिरहेकी थिइन् हात जोडेर।

‘बस्नु न हजुर,’ मैले खाली कुर्सी देखाउँदै भनें। उनी थपक्क बसिन्। अनायासै उनको कुहिनाको स्पर्श मेरो पाखुरामा पर्‍यो। शरीरमा करेन्ट लागेजस्तै भयो। डरले हो कि सङ्कोचले, मेरा ओठ थरथराए। मेरो कान तातो भयो।

‘सरी सर!’ उनले सारीको आँचल अलि मिलाउँदै भनिन्। उनी बसिसकेपछि म पनि बसें। केही कुराकानी भयो। उनको नाम आरती रहेछ, घर काठमाडौं। म लजाउँदै उनलाई हेर्छु। उनको गुलाबी ओठ, मिलेका परेली, सुन्दर मुलायम हातका औंला अनि सबैभन्दा मन पर्ने उनको मुस्कान र निधारको रातो टीका।

‘हजुरको झापा धेरै गर्मी रहेछ।’

‘हजुर, पहिले आउनुभएको थिएन?’

‘थिइनँ नि।’

उनी फेरि फोनमा व्यस्त भइन्। यसो हेर्छु, उनको नाकमा पसिना आएको रहेछ। झट्ट भनाइ सम्झिएँ, यसरी नाकमा पसिना आउने केटीलाई उनको श्रीमान्ले खुब माया गर्छन् रे! मैले आफैंलाई सम्झेर मुसुक्क हाँसें।

उनलाई अँगालो हालेर छातीमा टाँस्न मन लाग्यो। उनको त्यो गुलाबी ओठको तिर्सना लागेझैं भयो। उनी फोनमा बोल्दै गर्दा पनि मलाई हेर्दै थिइन्। उनको देब्रे हातको कुहिनाको स्पर्शले म झन् उनीसँग नजिकिँदै थिएँ।

जीवनमा पहिलोपटक मन परेकी उनलाई हेरिरहन मन लाग्छ। उनी फोनमा व्यस्त थिइन्। उनको बोल्ने भाषाशैली र शुद्ध शब्दोच्चारणको बयान म गर्न सक्दिनँ। साधारण पहिरन, बिनाशृङ्गार खुलेको उनको मुहार नियाल्छु। ओठमा भएको मन्द मुस्कानले म पटकपटक लुटिएको छु जस्तो लाग्छ।

फोनमा भएको कुराकानीले म अड्कल काट्छु, उनलाई काठमाडौं फर्कन हतार छ। मन खिन्न भयो। उनले मलाई छोडेर नगइदिए हुन्थ्यो जस्तो लाग्यो। फोनमा बोलिसकेर उनी मतर्फ फर्केर बसिन्।

म पहिलोपटक प्रेमको अनुभूति गरिरहेको थिएँ। प्रेम सम्मान पनि रहेछ। नाकले उनको शरीरको सुगन्ध टिपिहाल्यो। आमाको सुगन्धपछि मलाई पहिलोपटक स्त्रीसुगन्ध मन परेको थियोे तर आमाको स्नेहभन्दा अलि फरक उनको सुगन्ध! उनको लामो कपाल हावामा अलि अलि उडिरहेको थियो।

हामीले मोबाइल नम्बर साट्यौ। उनी फेरि मोबाइलमा फेसबुक चलाउन थालिन्। मैले हतार हतार उनको आइडी सर्च गरेर रिक्वेस्ट पठाए अनि मेसेज लेखें!

हामी फेरि कुराकानीमा व्यस्त भयौं। उनले झापा, इलाम घुम्ने इच्छा जाहेर गरिन्।

‘हजुरको समय मिलाउनु न घुम्न जाउँला,’ मैले यसै भनेको थिएँ। उनले तुरुन्तै काठमाडौं फर्कनुपर्ने भएको बताइन्। ‘इलाम घुम्नेगरी चाँडै आउनेछु,’ सानीले भनेकी थिइन्। उनलाई सूर्योदय हेर्ने ठुलो इच्छा थियो। उनलाई फेरि स्टेजबाट बोलावट भयो। उनी स्टेजतर्फ लागिन्।

‘म हजुरलाई साँझमा कल गर्न सक्छु?’ हतारमा सोधेको थिएँ मैले। ‘अवश्य’ उनले हाँस्दै भनेकी थिइन्। उनी कार्यक्रममा व्यस्त भइन्। म साँझको पर्खाइमा थिएँ।

साँझ उनलाई भेटेपछि सबै पाएर पनि गुमाएजस्तो लाग्यो एक प्रकारले। मैले जीवनमा पहिलोपटक मन पराएकी सानीले आफ्नो असफल वैवाहिक जीवन र श्रीमान्सँगको सम्बन्धविच्छेदबारे व्यथा सुनाइन्, आँखाभरि आँसु बनाएर। मैले ‘जिन्दगी यस्तै त रहेछ हजुर’ भन्नुबाहेक केही बोल्ने शब्द नै भेटिनँ तत्कालका लागि।

उनलाई एकपटक बिर्तामोडको दुर्गा मन्दिर आसपासका ठाउँ पु¥याउन गएँ। मनमा सुनामी उठिरह्यो तर उनलाई असहज नहोस् भनेर मुहारमा सुनामीका छाल पटक्कै छल्काइनँ।

‘इन्सपेक्टर साब! हजुरको बिर्तामोड राम्रो रहेछ,’ उनले मुसुक्क हाँसेर भनिन्।

म अलिकति मुस्कुराएँ।

‘जिन्दगी सोचेजस्तो पटक्कै नहुने रहेछ। कहिले कहाँ ठोकिन्छ? कहिले कता पोखिन्छ? पोखिएको जिन्दगी मायाले बटुलेर राखेकी थिएँ, पोको पारेकी थिएँ तर पोको पारेको प्रेमको पछ्यौरी मक्किएको थाहै भएन। त्यसैले यो पुरुष जातिप्रति अनि प्रेमप्रति सख्त घृणा छ है साब!’ उनले हाँस्दै भनेकी थिइन्।

हिँड्दा हिँड्दै उनले बिर्तामोडको एउटा चिनो लगेर जाने इच्छा व्यक्त गरिन्। हामी हनुमान कम्प्लेक्स गयौं। मैले उनका लागि एउटा रातो रङको सल मन पराएँ। सानीले ओढिन्। खुब सुहायो।

‘सरको च्वाइसले मेमलाई म्याच गर्‍यो,’ साहुजीको प्रतिक्रियासँगै हाम्रा आँखा जुधे। उनी लजाइन्। म झसंग भएँ। मैले पैसा तिरेको विरोध गर्दै थिइन्।

‘सरमेम जसले दिनु भए नि एउटै कुरा त हो नि,’ साहुजी फेरि बोले।

‘धन्यवाद!’ भनेर हामी निस्कियौं।

‘हजुर पनि!’ उनले मलाई पाखुरीमा अलिकति छोएर भनिन्। मन ढक्क फुल्यो। सानीलाई उनी बसेको होटलको गेटमा छोडेर म अफिस फर्किएँ। मनमा तुफान चलिरहेको थियो। उनको विगतप्रति अलिकति खिन्न भयो मन तर त्यसमा सानीको के दोष?

अहिलेसम्म कुनै आँखा मन नपरेको यो आँखालाई उनकै आँखा किन मन परोस्? उनको मुस्कान सम्झिन्छु। त्यस मुस्कानका अगाडि सबै शून्य लाग्छ। एक्लै बाँचिरहेकी उनी, समाजका क्रुर आँखासँग एक्लै लडिरहेकी उनी। सानीप्रति सम्मान भाव छ मनमा। उनको सरलता, शालीनताका अगाडि सबै रङ फिका लाग्छन् मलाई।

उनले भनेकी थिइन्, ‘यो समाजमा सम्बन्धविच्छेदपछि एउटी महिलालाई बाँच्न गाह्रो रहेछ साब! पाइलैपिच्छे प्रश्न चिह्न खडा हुने रहेछ। कतिपय सवालको स्पष्टीकरण दिँदा दिँदा थाकेको महसुस हुन्छ कहिलेकाहीं। सम्बन्धविच्छेदपश्चात् यहाँ एउटी महिलालाई अपराधीजस्तो केरकार गरिन्छ। लौन इन्सपेक्टर साब! के गर्ने होला?’ उनले फिका हाँस्दै भनेकी थिइन्।

‘सानी, बाँच्न त पुरुषलाई नि सजिलो त कहाँ छ र?’ भन्न मन थियो। उनी काठमाडौं फर्किसकेकी थिइन्।

०००

उनलाई भेट्न केही समयपछि काठमाडौं पुगेको थिएँ। उनलाई तालिममा आएको हुँ भनें।  

उनीप्रतिको आशक्ति यति जागेको थियोे कि म उनीबिना रहनै नसक्ने भएको थिएँ। मलाई उनले बाहिर बस्न दिइनन्। पाहुना भएर म कोटेश्वरको नरेफाँटमा रहेको उनको घरमा बस्न पुगें। घरमा उनी भाइबहिनीसँग बस्ने रहिछिन्।

सम्बन्धविच्छेदपछि पनि उनको पोखरामा भएका सासूससुरासँग भने सम्बन्ध राम्रो रहेछ। उनका श्रीमान् अर्को विवाह गरेर विदेश गइसकेका रहेछन्। उनले मलाई अत्यन्तै सत्कारसाथ घरमा राखिन्। म उनको प्रेममा झन् झन् गहिरिँदै थिएँ।

एक प्रकारले म उनको सामीप्य चाहन्थे। मैले उनलाई प्रेम गरेको थिएँ। अब मलाई उनको विगतप्रति कुनै सरोकार थिएन। बस्, म उनलाई चाहन्थें। मेरो रोजाइमा जीवनसाथीका रूपमा उनी नै थिइन्।

मेरो कुराले बुबाआमा स्तब्ध हुनुभएको थियो। बुबा चुपचाप हुनुहुन्थ्यो। आमाको सुँक्क सुँक्क आवाजले मैले बुझिसकेको थिएँ कि उहाँहरू तत्काल मेरो र सानीको सम्बन्धलाई स्विकार्न सक्नुहुन्न। आशा थियो, समयले एकदिन सबै कुरा सहज बनाउँदै लैजाने छ। सानीलाई यी सबै कुरा बताउने हेतुले म काठमाडौं पुगेको थिएँ। उनका अगाडि केही बोल्न सकिरहेको थिइनँ।

उनी समाजकी प्रतिष्ठित व्यक्ति थिइन्, प्यारी अनि मायालु थिइन्। मलाई उनको प्रतिष्ठा, रूप, शरीर, सम्पत्ति केहीसँग सरोकार थिएन। उनी असाध्यै मन पर्थिन्। उनको हरेक कुरा मलाई असाधारण लाग्थ्यो।

उनलाई छोइहालूँ, पाइहालूँजस्तो पटक्कै लागेन। उनीप्रति सम्मान थियोे, प्रेम थियोे तर अन्जानवश छोइएका पलहरू बिछट्टै मिठो थियो।

म केही दिन काठमाडौं बसेर झापा कार्यस्थल फर्कंदै थिएँ। यी केही दिनमा मैले उनको हृदयमा आफ्ना लागि अलिकति ठाउँ बनाउन सफल भएको रहेछु जस्तो लाग्यो। उनले मलाई केही समय काठमाडौं बस्ने आग्रह गरेकी थिइन्।

म आशावादी बनेर झापा फर्कंदै थिएँ। उनी एयरपोर्टमा मलाई छोड्न आएकी थिइन्। छुट्ने बेला हात समातेर गहभरि आँसु बनाएर सोधेकी थिइन्, ‘इन्सपेक्टर साब ! हाम्रो भेट कहिले होला है?’

मैले उनलाई हल्का कुममा अँगालो हालेर भनेको थिएँ– ‘सायद चाँडै।’ त्यो स्पर्श नै मेरो अन्तिम स्पर्श रहेछ।

म झापा फर्केपछि सानीसँग मात्रै होइन, सानीका भाइबहिनीसँग पनि राम्रो सम्बन्ध गाँसियो। सानीसँग कुरा नभएका बेला उनीहरूसँग सानीको हालखबर सोध्थें। प्रेम, विवाह, विश्वास सबैसँग भरोसा उठिसकेको बताउने सानी कहिलेकाहीं मसँग रुने भइसकेकी थिइन्।

‘इन्सपेक्टर साब! हजुरको चिउँडाको कोठी खुब मन पर्छ!’ भनेर हाँस्न सक्ने भइसकेकी थिइन्। म उनको विश्वास जित्न चाहन्थें।

सोच्ने गर्थें–आफ्नाहरूको प्रश्न र खिसिट्युरीलाई कसरी फेस गर्ने होला ? तर उनको निर्दोष, कोमल मुहार अनि निधारको रातो टीका सम्झेपछि यी सबैको सामना गर्ने आँट पलाउँथ्यो मनमा।

‘बाबु, कुनै कन्या केटी भेटिनस्? हाम्रो इज्जत कहाँ रहला? त्यो केटीसँग हाम्रो केही मिल्दैन। बिर्सिदे बा। तँबाहेक हाम्रो को छ र? मर्ने बेला हामीलाई शान्तिले मर्न दे। हेर्, दुनियाले कुरा काट्छन्।’ आमा रुँदै हुनुहुन्थ्यो। मैले केही भन्न सकिरहेको थिइनँ। संसारमा दुई नारी आमा र सानीको आँसुमा डुब्छु होला जस्तो लाग्थ्यो घरिघरि त।

यता आमा उता सानी। म बिचमा थिएँ। न आमा न सानी, म कोही एक जनालाई रोज्न सक्दिनथें। कहिलेकाहीं मन भारी हुन्थ्यो।

दिनहरू बित्दै गए। सानी र म आआफ्नै काममा व्यस्त थियौं। फोनमा उनी झापा र इलाम सम्झिरहेकी हुन्थिन्।

‘इलाम घुम्ने ठुलो रहर छ,’ भनिरहन्थिन्।

‘इलाम घुम्न नआउने?’ म हरबखत उनलाई प्रश्न गरिरहन्थें। आइहाल्छिन् कि जस्तो लाग्थ्यो। झझल्कोले सताउँथ्यो। उनीसँग हिँडेको बिर्तामोडको सडक हिँड्न मन लाग्थ्यो। हिँड्थे सानीसँगै हिँडिरहेकी छिन् जस्तो लाग्थ्यो। सानीले रातो सल किनेको पसलअगाडि टक्क अडिएर सल ओढेर हाँसिरहेकी सानी हेर्थें।

‘इन्सपेक्टर साब ! सुहायो मलाई यो सल ओढ्दा?’ उनले नै मलाई मुसुक्क हाँसेर सोधेकी जस्तो लाग्थ्यो। उनलाई सम्झेर मुस्कुराउँदै हिँड्नु मेरो सास फेर्नुजस्तै अत्यावश्यक भइसकेको थियो।

बिस्तारै सानीलाई पनि साँझ एकपटक कुरा गर्नुपर्ने अनिवार्यताले छोपेको थियो। उनीसँग कुरा नभएको साँझजस्तो अत्यासलाग्दो पल अरू हुनै सक्दैनथ्यो।

‘म्याम ! हजुरलाई कस्तो छ?’ देखि सुरु भएको सम्बोधन ‘त्यस्तो होइन, त्यसो नभन सानी, धत्! पागल’सम्म पुगिसकेको थियो।

यसो घडी हेर्छु। रातको १२ः३० बजेको रहेछ। कस्तो नराम्रो सपना देखेको रहेछु। हातगोडा काँपिरहेका थिए। पुसमा पनि हपहप गर्मी भएको महसुस भयो। उठेर चिसो पानीले घाँटी भिजाएँ। सहर चकमन्न थियो। सडकमा भुस्याहा कुकुर मात्र भुकिरहेका थिए।

सपनामा सानीलाई बाढीले बगाएर लगेपछि म चिच्याउँदै नदीको किनारै किनार कुदिरहेको थिएँ। सानी आधा डुब्दै आधा उत्रँदै मलाई बोलाइरहेकी थिइन्।

‘इन्सपेक्टर साब...!’

उनको लामो कपाल पानीमा तैरिँदै थियो। छि ! कस्तो नराम्रो सपना!

सपना सम्झेर रुन पुगेछु। नमिठो लाग्यो। निन्द्रा कता हरायो कता? यसो मोबाइल हेरें, फेसबुक खोलें। सानी अनलाइन छिन् कि भनेर हेरेको तीन घण्टा अगाडि एक्टिभ रहिछिन्। मलाई मेसेज छोडेर उनी सुतेकी रहिछिन्। पोखरा जाने टिकटको तस्बिर अनि केही शब्द– ‘इन्सपेक्टर साब! म भोलि पोखरा जाँदैछु।’ साँझमा पोखरा जाने कुनै कुरा नै गरेकी थिइनन् सानीले मसँग।

‘सानी! जतिबेला मेसेज हेछ्र्यौ, मलाई कल गर है।’ हतारहतार मेसेज लेखें। निन्द्रा पटक्कै लागेन। बाहिर कुकुर भुकिरहेका थिए। सानीकै फेसबुक प्रोफाइल हेरिरहें। प्रत्येक पोस्ट पटक पटक पढिरहें। यसो घडी हेरें, बिहानको तीन बजेको रहेछ। यस्तैमा सानीको कल आयो।

‘सानी !’ म आत्तिएको थिएँ।

‘के भयो साब?’

‘तिमीलाई त ठिक छ नि?’

‘एकदमै ठिक छ। अघि साँझ पोखरादेखि कल आएको थियो। आमा बिरामी हुनुहुन्छ रे ! मलाई बोलाउनुभएको छ। बिहानै जान्छु।’

‘यस्तो चिसो छ, मौसम ठिक हुन्छ कि हुन्न?’ मनमा झट्ट सपनाको झल्को लाग्यो।

‘ठिक छ,’ उनले भनिन्।

‘नगई नहुने?’ मैले भनें।

‘बिरामी भएको बेला नगए पछि गएर के काम ? अब उहाँहरूका पनि कोही छैनन्। छोराछोरी सबै विदेशमा। उहाँहरूको छोरासँग पो सम्बन्ध सकिएको हो, मेरो बुबाआमासँग त होइन नि !’

उनको यही स्पष्ट कुरा मलाई साह्रै मन पथ्र्यो।  

‘हो नि,’ मैले भनें।

‘यसपालि उहाँहरूलाई हजुरका बारेमा पनि कुरा सुनाउँछु अनि पोखराबाट फर्केपछि म झापा, इलाम घुम्न आउनेछु,’ सानीले अनुहार उज्यालो बनाएर भनिन्।

म ढुक्क भएँ। धेरै बेर कुराकानी भयो। उज्यालो भयो। म पनि नित्य कर्मतिर लागें। उनी पनि पोखरा जाने तयारीमा लागिन्।

एयरपोर्ट पुगेर कल गरिन्, ‘ल इन्सपेक्टर साब! म प्लेन चढें। पोखरा पुगेपछि कल गर्छु। आफ्नो ख्याल गर्नू, माघे सङ्क्रान्तिको शुभकामना!’

‘शुभयात्रा सानी!’ गह्रौं भयो मुटु।

म मर्निङ वाक निस्केर अनि एकछिन जिम गएर फर्किंदा मेरो दुनिया खरानी भइसकेको रहेछ। सानी चढेको हवाईजहाज दुर्घटनामा ध्वस्त भइसकेछ। मेरो दुनिया सकियो, संसार डुब्यो यति ठुलो भूमण्डलमा। म एक्लो भएँ। मेरो मुटु मदेखि छुटिसकेको थियो। तैपनि उनी कतै सकुशल नै छिन् कि भन्ने आशा ! जिप्रका कास्कीमा कार्यरत साथीलाई घटनाबारे सोधे, ‘त्यो दुर्घटनामा मेरो मुटु छ यार!’ म रोएँ।

‘यदि कोही सकुशल भए चमत्कारबाहेक अरू असम्भव छ,’ साथीको जवाफमा मैले सत्यता बुझिसकें। म कसरी पोखरा पुगें, थाहै भएन। पोखरा पुग्दा खराब मौसमका बाबजुद पनि खोजी र उद्धार कार्य जारी नै थियो। यताउता हेर्छु, पर पर कतैबाट सानीले हात हल्लाउँदै ‘इन्सपेक्टर साब !’ भनेजस्तो लाग्छ। सानीको सनाखत गरी कालो प्लास्टिकमा आधाजसो भाग जलेको मृत शरीर लिएर हामी काठमाडौं फर्कियौं।

म खाली खाली भएँ। बिर्तामोडमा किनेको रातो सल आधा जलेर सानीको शरीरमा लपक्क टाँसिएको रहेछ। निधारमा रातो टीका उसैगरी हाँसिरहेको थियोे। मेरो मुटु चिसो भयो।

पशुपति आर्यघाटमा अन्तिम संस्कार सकियो। मेरो त जिन्दगी सकियो। मेरो बाँकी केही रहेन।

०००

आज मेरो जीवनको सबैभन्दा कालो दिन– माघे सङ्क्रान्ति। सानीलाई मबाट छुटाएर दैवले लगेको दिन। भगवान्सँग भरोसा उठेको दिन। फूलजस्ती मेरी सानी खरानी बनाएको दिन। चाँडै उठी नुहाएर म माईखोलातर्फ लागें। चिसोले जनजीवन अत्यन्तै कष्टकर बनेको थियो। सडकमा गाडीहरू न्यून मात्रामा गुडिरहेका थिए।

बल्ल बिर्तामोड पुगेपछि अलि हुस्सु हटेर नजिकैका पसल देखिन थाले। म जिप्रका झापाबाट आइरहेको थिएँ। अब भने सवारीसाधनको आवतजावत बढ्यो। म चुपचाप गाडीबाट बाहिर नियालिरहन्छु।

माईखोला पुगेर फूल, धूप, दियो, बत्तीलगायत पूजाका सामान किनेर म खोलाको किनार पुगेर उभिएँ। शरीर पखालें, मुटु चिसो भयो। माईमेलाका कारण धेरै भिड थियो। सबै हाँसीहाँसी पाठपूजा गरिरहेका थिए। फगत म मात्रै एक्लै थिएँ। भिडभन्दा एक्लै र बेग्लै रहेछु। बत्ती, धूप सल्काएर मैले सानीलाई सम्झिएँ, उनको चिर शान्तिको कामना गरें।

‘सानी ! मलाई बाँच्न कठिन बनाएर एक्लै गयौ है? मेरो कोही छैन सानी, म एक्लो छु।’ नुनिलो, तातो आँसु  बरर खस्यो।

‘मैले तिमीलाई यही आँसु र दुई थुँगा फूलबाहेक केही दिन सकिनँ। तिमी सधैंभरि मेरै वरिपरि रहनू है!’

रातो (बिन्दुली टीका)का बट्टाहरू खोलाको किनारमा राखिदिएँ, ‘सानी! तिम्रो निधार कहिल्यै खाली नहोस्। टीका ल्याइदिएको छु।’

आँखामा रातो टीका लगाएर हाँसिरहेकी सानीको हँसिलो मुहार नाँच्यो। आँखाबाट खसेका आँसुका थोपा टीकाको बट्टामा परे।

बत्ती बालेर फूलसँगै बगिरहेको पानीमा बगाइदिएँ। पर पुगुन्जेल बत्ती बलिरहेको थियो। आँसुले भरिएका मेरा आँखाले अब सानीको नाममा बालेको बत्ती ठम्याउन छाडे। मन झनै खाली भयो।

मन चिसो बनाएर चन्द्रगढी फर्किएँ।

प्रकाशित: ३ चैत्र २०८० १०:२१ शनिबार

अक्षर