कला

रंगमञ्चमा युवा जाँगर

इलाममा ‘चियाबारी–मीठो चियाको कथा’ नाटकको तयारी गर्दै कलाकार। तस्बिर : भीम/नागरिक

सिर्जनशील युवाले आफूजस्ता युवासमेतलाई सिर्जनाप्रति प्रेरित गर्न नाटककला संरक्षणमा प्रयास गरिरहेका छन्। प्रविधि र सञ्चारको युगमा नाटकको चलन हराउँदै गइरहेका बेला इलामका केही युवा भने दर्शकलाई नाटकमार्फत युवाको जीवन्त कलातिर आकर्षित गर्न जुटेका हुन्।

अहिले इलाम सदरमुकाम मात्र होइन, यहाँभन्दा निकै टाढाको चुलाचुली गाउँका युवासमेत नाटकमा कला भर्न व्यस्त छन्। गाउँठाउँको वास्तविक जीवन चित्रण गरी नाटक माध्यमबाट उजागर गर्न इलामको चेतना नाट्य समूह र चुलाचुली गाउँपालिकाको चुलाचुली रंगमञ्चमा आबद्ध युवा अघि सरेका हुन्।

चियाको राजधानी इलामबाट विश्वभरि चिया छरिए जसरी नै चिया संस्कृति पनि यहीँबाट फैलाउन जुटेको छ चेतना नाट्य समूह। समूहले असोज २२ देखि कात्तिक २ सम्म सदरमुकाममा ‘चियाबारी–मीठो चियाको कथा’ नाटक मञ्चन गर्दै छ।

युवा निर्देशक अन्वेश थुलुङसहितका १०–१५ युवा चिया संस्कृति जीवन्त बनाउने अभ्यासमा पसिना चुहाउँदै छन्। ‘इलामे माटाको कथा देखाउने प्रयास हो यो नाटक,’ निर्देशक थुलुङ भन्छन्, ‘चियाले इलामलाई विश्वभर चिनाएको छ, इलाममा चिया उत्पादन हुने मात्र होइन, चिया संस्कृतिचाहिँ कस्तो छ भन्ने देखाउन खोज्दै छौं।’

उनले वास्तविक किसानले चिया खेती गरेको ठाउँ चियाबारी भएको र त्यही चियाबारीको कथा दर्साउन नाटक सिर्जना गरिएको बताए। ‘चियाको कथा निकै गहिरो रहेछ,’ निर्देशक थुलुङले नाटक तयारी गर्दैगर्दाको अनुभव सुनाए, ‘तर हामीले जति खोज्न सक्यौं, त्यति मात्र प्रस्तुत गर्नेछौं। खोजी गर्दै जाने हो भने चिया र चिया संस्कृतिमा निकै गहन कथा लुकेको रहेछ।’

चियासँग जोडिएको किसान र श्रमिकको जीवनलाई आफूहरूले अभिनयमा उतारेको र चिया संस्कृतिको खोजी गरिएको उनले जनाए।

करिब डेढ घन्टाको नाटकमा १७ कलाकार रहेको समूह अध्यक्ष सुरेश पोर्तेलले बताए। ‘कला भएर पनि अवसर नपाउँदा निरास युवाका लागि आफ्नो क्षमता उजागर गर्ने माध्यम भएको छ नाटक,’ पोर्तेलले भने, ‘एकातर्फ नाटकले कलाको विकास गर्छ, अर्कातर्फ संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।’

दर्शकको सद्भाव र माया बढ्दो क्रममै पाइरहेकाले उत्साह थपिएको पोर्तेल बताउँछन्। ‘आधुनिक युगमा कलालाई माया गर्ने दर्शकको संख्या सानो छैन,’ उनले भने, ‘त्यसमा पनि स्थानीय संस्कृति र कला उजागर गर्न स्थानीय कलाकार नै सहभागी हुनुले कथा डोर्‍याउन थप बल मिलिरहेको छ।’

निर्देशक थुलुङले यसअघि इलाममा मञ्चन गरिएका नाटकले पनि नाट्य यात्रामा अघि बढ्न थप प्रेरणा दिएको बताए। ‘गत साल महाभारा नाटक प्रस्तुत गर्दै गर्दा इलाममा दर्शकमा जुन कलात्मक चेतप्रतिको आकर्षण देखियो, त्यसले हामीलाई ठूलो प्रेरणा र उत्साह मिलेको छ,’ त्यो नाटकको पनि निर्देशन गरेका थुलुङले भने, ‘इलामका युवामा अथाह कला र जाँगर छ भन्ने पनि हामीले त्यहीँबाट सिक्यौं।’

ग्रामीण क्षेत्रमा रहे पनि नाट्यकलामा जुर्मुराइरहेको चुलाचुली रंगमञ्चले पनि ‘झोडा’ नाटक मञ्चनको तयारी गरिरहेको छ। रंगमञ्चका अगुवा चेतन आङ्थुपोले असोज २६ देखि ३० सम्म झापा दमकमा ‘झोडा’ देखाउने तयारी भएको बताए।

‘झोडाले ग्रामीण भेगका गरिबको बसोबास र जीवनशैलीको कथा समेटेको छ,’ उनले भने, ‘नाटक मौलिक भएकाले दर्शकको घुइँचो लाग्ने अनुमान पनि छ।’

साहित्यकार गणेश रसिकको कृति ‘आकाशगंगाको ओतमुनि’ उपन्यासलाई नाटकको रूप दिएर चुलाचुली रंगमञ्चले दर्शकसामु ल्याउन लागेको हो।

प्रकाशित: १७ आश्विन २०८० ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App