प्रविधि

एप क्याम्पको अन्तिम प्रतिस्पर्धा सुरु

काठमाडौं-एनसेलले मंगलबार एप व्यवसायको दीगोपन, बजारीकरण र मोबाइल प्रविधिको बढ्दो उपयोगिताबारे राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय वक्ताहरुबीच अन्तर्क्रिया गराएको छ।एनसेल एप क्याम्पका उत्कृष्ट २४ समूहलाई आगामी २५ गते हुने अन्तिम प्रतिस्पर्धाको तयारी गर्न सहयोग पुर्यापउने उद्देश्यले कार्यक्रम गरिएको हो। तीन दिने कार्यक्रमको अन्तिम दिन प्रतिस्पर्धी समूहले आफ्नो एपको नमूना प्रदर्शन गर्दै त्यसको व्यवसायिक योजना प्रस्तुत गर्नेछन्। त्यसका लागि उनीहरुलाई ५ मिनेट अवधारणा प्रस्तुति र थप ३ मिनेट एपको नमूना प्रदर्शनका लागि दिइनेछ। कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै एप क्याम्प लिथुयनियाका कार्यकारी प्रमुख तथा मोबोफ्रीडटकमका सहसंस्थापक टोमस मार्टुनसले नयाँ व्यवसायको दीगोपनबारे चर्चा गरेे। कुनै पनि नयाँ व्यवसायलाई पहिलो ३ महिना टिक्न धेरै कसरत गर्नुपर्ने भन्दै मार्टुनसले त्यस्तो अवस्थाबाट आफ्नो व्यवसायलाई पार लगाउन साथी, परिवार र कम सचेत लगानीकर्ताहरुको साथ खोज्न सल्लाह दिए। 
मोबाइल एप्लिकेसनको सम्भावनाहरुबारे छलफल गर्दै मोबाइल सम्बन्धी परामर्शदाता टमी अहोनेनले अहिले सबैजसो व्यवसायले मोबाइल प्रविधिको उच्चतम प्रयोग गर्न थालेको बताए। ‘मोबाइल प्रविधि कृषि, पर्यटनदेखि अन्य सबै खालको व्यवसायमा प्रयोग भइरहेको छ,' उनले भने, ‘विकास र पहुँचका आधारमा मोबाइलजस्तो अरु कुनै प्रविधि वा उद्योग बढेको छैन।' अहोनेनले मोबाइल प्रविधि शक्तिशाली औजारको रुपमा प्रयोग भइरहेका विश्वव्यापी उदाहरणहरु प्रस्तुत गरे। 
कार्यक्रमका अर्का वक्ता मनास्लु सफ्टवेयरका निर्देशक करुण थापाले मोबाइल एपको बजारीकरण गर्दा निर्माताहरुलाई बजारको आवश्यक अध्ययन गर्न र प्रतिस्पर्धा विश्लेषण गर्न सुझाव दिए। 
छानिएका प्रतिस्पर्धीहरुलाई बधाई दिँदै एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले अन्तिम प्रतिस्पर्धासम्म पुग्ने एपबारे जान्न उत्साहित रहेको बताए। 
यसैगरी मंसिर २४ गते सहभागीहरुले विषयगत क्षेत्रका विशेषज्ञहरुबाट आवश्यक प्रशिक्षण लिन सक्नेछन्। प्रत्येक विषयगत बिजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्तर्राष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। सर्वाधिक अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन्। कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, डुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन्। 
शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेसल फोर्सेस र टिम जेभिरियन छन्। पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिस्ट टक र लिपी (स्त्रि्कप्ट) छनोट भएका छन्।

प्रकाशित: २३ मंसिर २०७१ २१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App