प्रविधि

क्यान्डी क्रसका डेभलपर नेपालमा

काठमाडौं– लोकप्रिय मोबाइल एप गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म नेपाल आएका छन्। मोबाइल एप स्पर्धा एनसेल एप क्याम्पमा छानिएका १५० एप डेभलपर टिमलाई मार्गदर्शन उनी नेपाल आएका हुन्।
क्यान्डी क्रस सागा बनाएको किंग डट कमका गेम्स गुरु पाल्मले एनसेल एप क्याम्प २०१४ अन्तर्गत भइरहेका क्षमता अभिवृद्धि सेमिनारको सिरिजमा यही कात्तिक २९ गते अतिथि वक्ताका रूपमा युवा डेभलपर टिमहरूलाई सम्बोधन गर्ने छन्। सेमिनारमा उनले आफ्नो सफलताको कथासँगै युवा डेभलपरले एप बनाउँदा ध्यान दिनुपर्ने युजर इन्टर्फेस तथा युजर अनुभति जस्ता विषयमा एनसेल एप क्याम्पका सहभागीलाई मार्गदर्शन गर्नेछन्।
'देशमा विद्यमान डिजिटल सम्भावनालाई उजागर गर्ने तथा नेपाली युवालाई विश्व एप उद्योगको हिस्सा बनाउने उद्देश्य लिएको एनसेल एप क्याम्पमा भाग लिइरहेका टोलीलाई पाल्मजस्ता विश्वचर्चित व्यक्तित्वहरूको मेन्टरसिपले उनीहरूको क्षमताअभिवृद्धि गर्ने तथा अन्तर्राटि्रय एप बजारबारे एक्स्पोजर प्रदान गर्नेछ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्।
पाल्म अन्तर्राटि्रय एप उद्योगका सबभन्दा उत्प्रेरक व्यक्तित्वहरूमध्ये एक मानिन्छन्। संसारभर दश करोडभन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन पाँच लाख डलर कमाइरहेको क्यान्डी क्रस सागाको सफलतापछाडि उनकै सोच तथा डिजाइन रहेको छ।
कोमोडोर ६४ का लागि १९८६ देखि नै सोखका रूपमा गेम्स प्रोग्रामिङ गर्दै आएका पाल्मले १९९९ मा जेडस्टोन एबी नामक कम्पनी स्थापना गरेपछि विचार स्रष्टा तथा गेम डिजाइनरका रूपमा चर्चित हुन थालेका हुन्। यस दौरान उनले च्याम्पियनसिप म्यानेजर अनलाइन, डर्क डागर, फ्रिजम्बी हिरो, वर्ल्ड इन् वार र कोडो मिलगायत २० गेम्स एप बनाउन शीर्ष भूमिका खेलेका छन्। विगत १२ वर्षको अवधिमा उनको टोलीले १० वटा अवार्डका साथै थुप्रै मनोनयन प्राप्त गरेका छन्।
२००९ मा पाल्मले आफ्नो जेडस्टोन मोबाइल विभागलाई नयाँ कम्पनीमा परिणत गरे। २०१२ मा किङ डटकमले यो कम्पनी लिएपछि हाल उनी उक्त कम्पनीमा गेम्स गुरुका रूपमा कार्यरत छन्।
टमी पढाउन तथा लेखन कार्यमा रुची राख्छन्। साथै एपसम्बन्धी गोष्ठीहरूमा वक्ताका रूपमा उपस्थित भई युवा डेभलपरहरूलाई उत्प्रेरित गर्न रमाउँछन्। उनी स्टकहोमको रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीमा नियमित लेक्चर दिन्छन्।

प्रकाशित: २७ कार्तिक २०७१ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App