प्रविधि

ग्राहकको रोजाइमा वाईफाई रेस्टुरेन्ट

गोरखा- सतिपिपलका लक्ष्मण गुरुङ खाजा खान दिउँसो घरबाट १५ मिनेटको बाटो हिँडेर बसपार्क आउँछन्। बिहान चिया र बेलुका साथीसँग भेटघाट गर्ने ठाउँका लागि पनि उनी बसपार्कको होटल एभरेस्टलाई उपयुक्त मान्छन्। गुरुङ होटल छिर्नेबित्तिकै खाजा अर्डरसँगै खल्तीमा भएको मोबाइल निकाल्छन् र सुरु हुन्छ इन्टरनेटमा गफ।उनी खाजा खान मात्रै यो होटल आउँदैनन्। साथी पर्खने समय निःशुल्क इन्टरनेट चलाउन पाइन्छ। उनी भन्छन्, ‘साइबर जाँदा खाजा खाने पैसा इन्टरनेटमा तिर्नुपर्छ, वाईफाई भएको होटलमा पर्दैन।' पछिल्लो समय गोरखामा खुलेका नयाँ पुराना सबै रेस्टुरेन्ट र होटललाई इन्टरनेट अनिवार्य जस्तै बनेको छ। ठूलाले ग्राहकलाई सुविधासँगै व्यापार बढाउन इन्टरनेट जोडेका छन्। ती होटलमा नै ग्राहकको चाप बढी देखिन्छ। रात बिताउने वा दिउँसो खाजा खाने दुवै ग्राहकको रोजाइ वाईफाई रेस्टुरेन्ट र होटल बनेका छन्। हरमटारीस्थित गोरखा किचेन फास्ट फुड एन्ड रेस्टुरेन्टका सञ्चालक मनिष जोशी भन्छन्, ‘खाजा अर्डरअघि नै ग्राहकले इन्टरनेटको पासवर्ड माग्छन्, समय बिताउन र खाजा बन्दै गर्दाको समय सदुपयोग गर्न सजिलो भएको छ।' नयाँ जेनेरेसनका लागि इन्टरनेट अनिवार्य ठानेर होटल सुरु गरेसँगै यो सेवा दिन थालेको जोशी बताउँछन्। साधारण मोबाइलमा पनि सजिलै इन्टरनेट चलाउन सकिने भएपछि युवा पुस्ताले इन्टरनेट प्रयोग गर्ने क्रम बढेको छ। रात बिताउने पर्यटकको साथी नै इन्टरनेट बन्ने गरेको गोरखाको पुरानो होटल बिसौनीका प्रजुन मास्के बताउँछन्। ‘आन्तरिकभन्दा पनि विदेशी पर्यटक धेरै हुन्छन्, होटल प्रवेशदेखि नै हातमा ल्यापटप बोकेर नेपालका विभिन्न ठाउँबारे जानकारी लिन खोज्छन्,' मास्के भन्छन्। युवालाई फेसबुक चलाउन इन्टरनेट चाहिन्छ। विदेशीले भने ज्ञानवर्द्धक सामग्री खोज्न, आफू घुम्ने ठाउँबारे जानकारी लिन, घर परिवार र साथीसँग सम्पर्कमा रहन यसको प्रयोग गर्छन्। सदुमरकामका आधाभन्दा बढी होटल रेस्टुरेन्टले ग्राहकलाई निःशुल्क इन्टरनेट दिएका छन्। इन्टरनेट हुँदा र नहुँदा आउने ग्राहक र व्यापारमा समेत फरक परेको होटल एभरेस्ट सञ्चालक मिलन राना बताउँछन्। ‘केटाकेटी र रात बिताउने गेस्टले इन्टरनेट खोज्छन्,' उनले भने ‘ग्राहकले इन्टरनेट सुविधा छ कि छैन? भन्दै सोधेर हैरान बनाउन थालेपछि तीन महिनाअघि सुरु गरेको हुँ।'

प्रकाशित: २२ फाल्गुन २०७० २२:३४ बिहीबार