प्रविधि

‘सूचना प्रविधि विकासको आधार'

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले विकासको मुख्य आधार सूचना प्रविधि भएकोले यसको द्रुततर विकासमा लाग्नुपर्ने बताएका छन् ।सूचना प्रविधि पढाउने तथा सेवा प्रदान गर्ने राजधानीको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीमाझ बिहीबार मन्तव्य दिँदै भट्टराईले सरकार, राजनीतिक दल, समाज, प्राकृतिक सम्पदा, पर्यटनलगायत सबै क्षेत्रमा सूचना प्रविधिको आवश्यकता बढ्दै गएकोले यसको विकास गर्दै पहुँच बढाउनुपर्नेमा जोड दिए। ‘नेपालभन्दा विश्वका कयौं मुलुक विकासमा अगाडि बढिरहेको हुनाले तिनीहरुको दाँजोमा पुग्न पनि सूचना प्रविधिमा फड्को मार्दै विकास गर्नुपर्छ,' उनले भने, ‘समकालीन विश्वसँग जोड्ने अवसर अब हामीलाई सूचना प्रविधिले मात्र दिन्छ।' त्यसैले यसमा दक्ष जनशक्ति निर्माण गरी नेपालमै सूचना प्रविधिको विकास हुनुपर्ने उनले बताए। नेपालबाट विदेश पढ्न जाने क्रम बढिरहेको बेला अध्ययन सकेर उतै बस्नु बस्नुभन्दा नेपाल आएर केही नयाँ कामा गर्दा देशले पनि नयाँ विकास पाउने हुनाले विद्यार्थीले यहीँ केही गर्नुपर्ने उनले सुुझाए। ‘नेपालमा हरेक क्षेत्रमा आइटीको माग छ, सुशासनदेखि शिक्षा र स्वास्थ्यसम्म। यस्तो अवस्थामा सिकेको सीप भरपुर उपयोग गर्न सकिन्छ,' भट्टराईले भने, ‘हामी भर्खर इ–शिक्षा, इ–स्वास्थ्यलगायतमा लागिरहेका छौं, यसमा अझ प्रविधिको आवश्यकता छ। यसमै केही गर्नुपर्छ।' विज्ञान र प्रविधिबिना देश चल्दैन तर नेपालमा विज्ञान र प्रविधि मन्त्रालय लिन कुनै नेता चाहँदैनन्। विज्ञान मन्त्रालयमा बजेट पनि कम रहेकोले नयाँ कुरा सोच्न आइटीका विद्यार्थीले दबाब दिनुपर्ने उनले बताए। ‘नेपालमा डिजिटल डिभाइड ठूलो छ, त्यसैले सूचना प्रविधिका स्कुल कलेज खोलेर धेरैभन्दा धेरैको सहभागिता गराउनुपर्छ,' भट्टराईले भने। नेपालमा अहिले आउटसोर्सिङको काम बढिरहेको हुँदा सफ्टवेयर निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउन उनले विद्यार्थीलाई आग्रह गरे। कार्यक्रममा डियरवाकका अध्यक्ष रुद्र पाण्डेले कलेजमा ४६ जिल्लाका र २० प्रतिशत महिला विद्यार्थी रहेको जानकारी गराए। नेपालमा सम्बन्धन कलेज कम रहेको कारण डियरवाकको अवधारणा आएको पाण्डेले बताए।

प्रकाशित: २२ फाल्गुन २०७० २२:१० बिहीबार