यतिखेर अमेरिकामा विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक मेला चलिरहेको छ। संसारकै सबैभन्दा ठूलो आकारको टेलिभिजनदेखि प्रविधिका पछिल्ला प्रयोगका लागि मेला चर्चित छ। तर, धेरैको ध्यान भने यस्तै खाले थ्रीडी प्रिन्टिङले तानिरहेको छ।
भविष्यमा तपाईंलाई मनलाग्दो जुत्ता, चस्माको फ्रेम, खेलौना वा अन्य यस्तै साधन घरमा नै तयार पार्नसक्नुहुन्छ। डकुमेन्ट प्रिन्ट गरेजस्तै आफ्नो आवश्यकताका सामान घरमा तयार बनाउन सकिने प्रविधिले भविष्यलाई अझ रहस्यमयी बनाउँँदै लैजाने तर्क प्रविधि विश्लेषकहरूको छ।
यो प्रविधिलाई मानिसले गीत सुन्नका लागि जसरी आई–ट्युनले काम गर्योर, त्यसरी नै काम गर्ने दाबी गर्न थालेका छन्। एक दशकभित्र थ्रीडी प्रिन्टरहरू मानिसका घरमा सामान्य प्रविधिका रूपमा स्थापित भइसक्ने दाबी गरिएको छ। र, मानिसहरू आफ्नै घरमा आफूलाई चाहिने जुत्ता, बेल्ट र अन्य एक्सेसरिजहरू प्रिन्ट गरिरहेका हुनेछन्। यी सामान किन्न उनीहरूलाई अब कुनै स्टोरसम्म धाइरहनु पर्ने छैन। यतिसम्म कि घरमा रेफ्रिजेरेटर रहेजस्तै थ्रीडी प्रिन्टर देखिने दाबीसमेत गरिएको छ।
थ्रीडी प्रिन्टको इतिहास करिब २५ वर्ष पुरानो भए पनि प्रिन्टिङ प्रविधिसम्म आइपुग्दा यसको मूल्यमा धेरै कटौती भइसकेको छ। यसको लोकप्रियता जुन रफ्तारमा बढेको छ, यसको लागत पनि त्यही अनुपातमा घटिरहेको छ। त्यसैले व्यवसायी, कलाकार या जो कसैका लागि पनि यो प्रविधि आवश्यक हुन सक्छ।
यो प्रिन्टरमा बायोडिग्रेडेबल प्लास्टिक लेयर प्रयोग हुन्छ, जसले प्रिन्ट दिँदा जुनसुकै स्वरूपमा पनि आफूलाई ढाल्छ। तातो प्लेटहरूबाट खोजेको स्वरूपमा यसले प्रिन्ट दिने भएकाले व्यवसाय गर्नेले यसबाट बढी फाइदा लिन सक्छ।
'यसलाई कुनै माइक्रोस्कोपिक ब्रिक र त्यसको लेयरको रूपमा बुझ्नुस्,' सिंगापुरमा आधारित पाइरेट थ्रीडीका प्रमुख कार्यकारी अधिकृत रोजर चेन्जले सुनाए, 'जसरी इँटाहरू मिलाउँदै घर तयार हुन्छ, त्यसरी नै यो यसका ब्रिक र लेयरले खोजेको सामान बनाउँछ।' यो कम्पनीले ४ सय ९७ डलरमा बुक्यानर होम प्रिन्टर बिक्री थालिसकेको छ।
पाँच वर्षअघि मेकरबुटमात्र एउटा थ्रीडी प्रिन्टर कम्पनी थियो। प्रविधि प्रदर्शनमा त्यही एउटा कम्पनीको उपस्थिति रहन्थ्यो। तर, अहिले प्रदर्शनीको फ्लोरमा यो कम्पनीलाई धेरैले घेरिसकेका छन्। थ्रीडी ट्रेन्डकै रूपमा स्थापित हुँदै गइरहेको अनुभूति धेरै कम्पनीको उपस्थितिले पनि गराएको छ।
'हामीलाई यो वर्ष थ्रीडी प्रिन्टिङको वर्षझैँ लागिरहेको छ,' मेकरवोटका प्रवक्ता जेनिफर होवार्डले सुनाइन्, 'अब आर्थिक रूपमा धेरै सबल नभएकाहरूले पनि थोरै लगानीमा केही फरक गर्न सक्छन्। यसले उनीहरूको जीवनमा अचानक परिवर्तन ल्याउन सक्छ।'
विभिन्न फिगर, चेसका गोटी, ह्यान्डल्स, बलजस्ता वस्तु सजिलै थ्रीडी प्रिन्टरबाट निकाल्न सकिन्छ। बच्चाहरूका लागि उनीहरूले रोजेकै खेलौना थ्रीडीबाट प्रिन्ट गरेर दिन मिल्छ। व्यवसायिक हिसाबले लाग्ने हो भने यस्तो प्रिन्टरले राम्रो मुनाफा दिनेमा दुई मत छैन।
'थ्रीडी प्रिन्टिङ वास्तवमै सीमाहीन बनेको छ,' होवार्डले भने। डिजिटल प्लान फर दी रोबो ह्यान्ड अहिलेसम्म ५५ हजार पटक डाउनललोड भइसकेको मेकरवोटले जनाएको छ। थ्रीडी प्रिन्टका लागि यो डिजिटल ब्लुप्रिन्टको प्रयोग अप्रत्याशित रूपमा बढेको छ। निःशुल्क पाइने भएकाले मात्र डाउनलोड बढी भएको होइन।
मेकरवोटले पाँचौ पुस्ताको थ्रीडी प्रिन्टर १ हजार ३ सय ७५ देखि ६ हजार ५ सय डलरसम्ममा उपलब्ध गराउन थालेको छ।
'जब थ्रीडीले प्रिन्ट गर्न थाल्छ, तपाईंले विश्वलाई फरक रूपमा बुझ्न थाल्नुहुनेछ,' होवार्डले भने, 'यस्ता सामान किन्न तपाईं पसलतिर दगर्नुको साटो आफैँ बनाउन थाल्नुहुनेछ र रमाउन थाल्नुहुनेछ।'
कमजोर या गतिलो हुँदैन भन्ने सोचबाट थ्रीडी प्रिन्ट नभई नहुने ट्रेन्डतिर लाग्दै छ। तर, अझै पनि यसले मानिसको घरमा स्थान लिन समय लाग्ने एनपीडी ग्रुपका समीक्षक स्टिफन बेकरको दाबी छ। 'धेरैजसो मानिस आफ्नो सेलफोनको केस या पछाडिको भाग प्रिन्ट गरिरहेका छैनन्,' बेकरले भने, 'यसका उत्पादन बलियो छ भन्ने स्थापित भएको छैन भने यसले अर्कोतिर यस्ता वस्तु उत्पादन गर्ने कम्पनीहरूलाई अवरोध पुर्याछउने निश्चित छ।'
थ्रीडी पाइरेटका चेन्जको बुझाइमा खेलौना बनाउनेले अब थ्रीडी प्रिन्टिङलाई मूलधारमा ल्याउनेछन् र त्यसैका आधारमा यसको बजार विस्तार हुँदै जानेछ। 'जसरी आई–ट्युनले तपाईंको संगीतप्रतिको चाहना बुझ्छ, यसले पनि खेलौना वा अरू डिजाइन बनाउन सघाउँछ,' चेन्जले भने।
प्रकाशित: ३ माघ २०७० ००:५७ शुक्रबार



