प्रविधि

सेलिब्रेटी पुच्छ्रेताराको अवसान

सौर्यमण्डललाई हजारौं पुच्छ्रेतारा (धूमकेतु)ले परिक्रमा गर्छन्। तीमध्ये कति सूर्यको नजिक पुग्छन्, तर थोरै मात्र जानकारीमा आउने गर्छ। सामान्यतया यस्ता विषयमा केही खगोलशास्त्रीबाहेक अन्यलाई खासै चासो रहँदैन पनि।


करिब १४ महिनाअघि सौर्यमण्डलमा भेटिएको पुच्छ्रेतारा आइसोनको चर्चा खगोल क्षेत्रमा पूरै वर्षभरि रह्यो। मंसिर १३ गते सूर्यको सतहबाट १६ लाख किलोमिटर पर पुगेपछि आइसोनले अस्तित्व गुमाएको छ। तर पनि यसको चर्चा रोकिएको छैन। वैज्ञानिकहरूले यो पुच्छ्रेतारालाई पृथ्वी अस्तित्वमा आएको समयदेखिकै मानेका छन् अर्थात ४ अर्ब ६० करोड वर्षभन्दा पुरानो। त्यसै समयमा सूर्य भर्खरै तारा बनेको थियो र बृहस्पति, शनि, अरुण र बरुण बन्दै गर्दा सौर्य मण्डलभन्दा बाहिर सँगसँगै आइसोन पनि बनेको अनुमान छ।

१४ महिनाअघि आइसोन सूर्यतर्फ आउँदैछ भनेर थाहा पाएदेखि नै खगोलविज्ञान क्षेत्रमा यो सेलिब्रेटीजस्तो बनेको थियो।

'आइसोन नोभेम्बर २८ मा सूर्यको सबैभन्दा नजिक पुग्यो र टुक्रा–टुक्रा भयो। विश्वभरका खगोलशास्त्री र त्यस विषयमा चाख राख्नेहरूका लागि यो निकै दुःखदायी घटना हो,' नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सदस्य ऋषि शाहले भने, 'विश्वभरका खगोलशास्त्रीहरूले चाख मानेर यसलाई पछ्याइरहेका थिए। नेपालमा पनि इन्टरनेटको माध्यमबाट त्यसलाई हेर्दै आएका थियौं।'

प्राचीन समयदेखि नै मानिसले आकाशमा पुच्छ्रेतारा देख्दै आएका हुन्। अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने संस्थाहरूले आइसोनको गतिविधिलाई इन्टरनेटमा हेर्न सक्ने पारेका थिए। त्यसले पनि चासो बढाएको थियो। त्यसो त करिब–करिब एक दशकमा पृथ्वीबासीले नांगो आँखाले नै आकाशमा पुच्छ्रेतारा हेर्न सक्नेछन्।

सौर्यमण्डलभित्र भए पनि सूर्यभन्दा टाढा हुँदा नबिलाइकनै पुच्छ्रेतारा सौर्यमण्डलबाट बाहिर निस्कन्छ र आफ्नो कक्ष परिक्रमको निर्धारित समयमा फेरि देखिन्छ। केही दिन वा सातामा देखिने चहकिलो ताराले मानिसलाई रोमाञ्चक र आकर्षित गर्दछ। अर्बौं वर्ष पुरानो यस्तो पुच्छ्रेतारामा सौर्यमण्डलमा पाइनेभन्दा फरक धातुसमेत हुने धेरै वैज्ञानिकहरू ठान्छन्। कुनै पुच्छ्रेताराबाटै पृथ्वीमा पानी आएको धेरै वैज्ञानिकको धारणा छ। उनीहरूका अनुसार पुच्छ्रेताराबाट पानी आएपछि मात्रै पृथ्वीमा जीवन प्रारम्भ भएको हो।

पछिल्लो पटक रुस तथा बेलारुसका खगोलशास्त्रीले सूर्यबाट बृहस्पतिजत्ति नै टाढा रहेको अवस्थामा आइसोन पुच्छ्रेतारा पत्ता लगाएका थिए। सूर्यनजिक आउँदा यसको करिब ३ लाख किलोमटिर लामो पुच्छर बनेको थियो।

सूर्यनजिक पुग्दा पुछ्रेतारामा पुच्छर बन्छ। टाढा हुँदा भने यो निकै अध्याँरो, चिसो, बर्फिलो वस्तुको रुपमा रहन्छ। यसको पूरै आकारलाई न्युक्लियस भनिन्छ। यस्तो न्युक्लियस बफर र धूलोबाट बनेको हुन्छ। सौर्यमण्डलभित्र प्रवेश गर्दा सूर्यको तापका कारण यो तातिन थाल्छ र यसमा पुच्छर निस्कन सुरु गर्छ।

सूर्यबाट बृहस्पतिजत्तिको दुरीमा आएपछि बफर तातिएर उम्लिन थाल्छ। त्यसबाट ग्यास निस्कन्छ। सौर्यमण्डलभित्र रहेको धूलोका कण पुच्छ्रेताराको वरिपरि जम्मा हुन थाल्छन्। त्यसलाई कोमा भनिन्छ। सूर्यको दबाबका कारण त्यसमा पुच्छर पनि बन्छ। आइसोनलाई पनि ती खगोलशास्त्रीले यति नै दुरीमा पत्ता लगाएका हुन्। सूर्यबाट टाढा हुँदा यस्तो प्रक्रिया फेरि घट्दै जान्छ र पूर्ववत अवस्थामा आउँछ।

यो पुच्छ्रेतारा सौर्यमण्डलको सबैभन्दा परको ग्रह बरुणभन्दा एक प्रकाश वर्ष (९४ खर्ब ६१ अर्ब किलोमिटर) टाढाको ओर्ट क्लाउडमा रहेको ठानिएको छ।

पछिल्लो समयमा सौर्यमण्डलमा आएको आइसोन पुच्छ्रेतारा चम्किलो डल्लो पूर्णिमाको चन्द्रमा जत्रो हुने र त्यसको करिब ३ लाख किलोमिटर लामो पुच्छरले पनि रोमाञ्चक थप्ने धेरैले ठानेका थिए।

पुच्छ्रेताराले सामान्य मानिसलाई समेत आकर्षित गर्छ। अन्तरिक्षमा हेर्दा निकै पर पुच्छर भएको चम्किलो तारा देखेर धेरै मानिस आकर्षित हुने गरेका छन्। आइसोन निकै आकर्षक देखिन्थ्यो।

मंसिरको सुरुदेखि नै उत्तरी गोलार्द्धबाट कुनै विशेष उपकरणको सहयोगबिनै आइसोनलई देख्न थालिएको थियो। यो पुच्छ्रेतारा सूर्यको सबैभन्दा नजिक अर्थात सतहबाट १६ लाख किलोमिटर नजिक पुगेको थियो। मंसिर १३ गते १३ लाख ६० हजार किलोमिटर प्रतिघन्टाको दरले सूर्यमा पुगेको थियो। त्यसपछि यसको अस्तित्व लोप भयो।

रुसको इन्टरनेसनल साइन्टिफिक अप्टिकल नेटवर्क (आइसोन) मा रहेका रुस तथा बेलारुसका खगोलशास्त्रीले २०६९ असोज ५ गते यसलाई पत्ता लगाएका थिए। त्यसैले यसलाई केन्द्रकै संक्षिप्त रूप आइसोन नाम दिइयो।

यसको विलयसँगै अन्तरिक्षको एउटा अद्भूत रहस्यसँग साक्षात्कार हुने मौका आममानिसले गुमाएको विश्वभरका खगोलशास्त्रीले ठानेका छन्।

बरुणको कक्षभन्दा १ प्रकाश वर्ष (९४ खर्ब ६१ अर्ब किलोमिटर) पर ओर्ट क्लाउडबाट पुच्छ्रेतारा उत्पत्ति हुने गर्दछ। यसले आफ्नै कक्षबाट सूर्यको परिक्रममा गर्छ। आइसोन पनि त्यस्तै हो। तर लाखौं वर्षपहिले कुनै ताराको नजिक भएर जाँदा त्यसको गुरुत्वाकर्षणका कारण आइसोनले अर्को बाटो लियो र पहिलो पटक सूर्यनजिक आइपुग्यो र अन्त्यमा आफ्नो अस्तित्व नै गुमायो।

आइसोनको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अहिले पनि जारी छ। मंसिर १३ को घटनापछि पनि केही खगोलशास्त्री आइसोन अझै बाँकी छ कि भने झिनो आशमा बसेका थिए। तर अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले मंसिर १३ गते आइसोन टुक्राटुक्रा भएर बिलिन भएको बताएका छन्। आइसोनले अध्ययन गर्नका लागि धेरै विषय छाडेर गएको छ।

अहिलेसम्म पत्ता लागेका ठूला पुच्छ्रेतारामध्ये एक भएकाले पनि आइसोनको विश्वभर चर्चा भएको हो। मंसिरको प्रारम्भदेखि नै उत्तरी गोलार्द्धका मानिसले कुनै विशेष उपकरणको सहयोगबिनै यसलाई हेर्न सक्थे।

संसारभरका खगोलशास्त्रीले आइसोन बाँचोस् भन्ने कल्पना गरेका थिए। बिलिन नभएको भए पुस ११ गते पृथ्वीनजिकै आइपुग्थ्यो। क्रिसमस आसपासकै बेला पृथ्वीनजिक आउने भएकाले यो सेलिब्रेटी पुच्छ्रेतारा आइसोनलाई केहीले 'क्रिसमस कोमेट' समेत भन्दथे।

पुच्छ्रेताराले आकर्षक हुन्छ तर पूर्वीय र पश्चिमी संस्कृतिमा भने पुच्छ्रेतारा देखिनुलाई अपसगुनको रूपमा हेरिन्छ। यसले रोगव्याधी ल्याउँछ भन्ने ठानिन्छ।

७५ वर्षमा पृथ्वीमा देखिने हेली नामक पुच्छ्रेतारा सन् १९८६ मा देखिएको थियो। यसलाई हेर्ने व्यवस्था नेपालमा पनि गरिएको थियो। भर्खर विदेशबाट पढेर फर्केका प्राज्ञ शाहले रोनास्टमा हेर्ने व्यवस्था मिलाउन निकै जोडबल गरेका थिए। 'भर्खर खुलेको नेपाल टेलिभिजनले पनि योसम्बन्धी समाचार दियो,' ती दिन सम्झँदै शाहले भने, 'रोनास्टमा थामिनसक्नुको भीड थियो। हामीले टेलिकोस्पबाट हेर्ने व्यवस्था मिलाएका थियौं।' त्यतिबेला तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले पुच्छ्रेतारा हेर्न आउने प्रतिबद्धता जनाए पनि नआएको शाहले सुनाए। हिउँदाका बेला क्षेत्रीय भ्रमणमा निस्कने राजा–रानीलाई पुच्छ्रेतारा देखाउन भनेर हेटांैडामा टेलिस्कोप जडान गरिएको थियो।

'तत्कालीन युवराजलगायत राजपरिवार सदस्य आए तर राजा–रानी आउनुभएन,' शाहले भने, 'ज्योतिषको सल्लाहमा नआएको हुन सक्छ।'

प्रकाशित: २९ मंसिर २०७० ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App