फेसबुक संस्थापक मार्क जुकेरबर्ग यतिबेला ठूलो चिन्तामा छन्। किशोर किशोरीको ठूलो संख्याले विश्वको सबैभन्दा ठूलो सोसल साइट नेटवर्क छाड्न थालेपछि फेसबुकको भविष्य के हुने हो भने अड्कलबाजीहरु सुरु भएका छन्। हार्डवर्ड ड्रपआउट मार्क जुकेरबर्गको सफल परियोजना फेसबुकलाई स्ट्यान्डफोर्ड ड्रपआउटको स्नायपच्याटले चुनौती दिएको हो।
अनुसन्धानहरुले पछिल्लो समयमा युवाको ठूलो संख्या फेसबुक र ट्विटर छाडेर स्न्यापच्याटतिर लागेको पुष्टि गरेको हो। प्रविधि विश्लेषकहरुले भनेका छन्— फेसबुकले झैँ सोसल साइटलाई पैसा आर्जनको विषय बनाउन सके स्न्यापच्याटका संस्थापक इवान स्पिगल इन्टरनेट दुनियाँका नयाँ अर्बपति हुनेछन्।के हो स्न्यापच्याट ?
फेसबुकलाई चुनौती दिने स्न्यापच्याटको इतिहास स्ट्यानफोर्ड विश्वविद्यालयको कक्षा कोठाबाट सुरु हुन्छ। सन् २०११ मा कलेजका प्राध्यापकले विद्यार्थीलाई असानमेन्ट दिएका हुन्छन्। दुई विद्यार्थी स्पीगेल इवान र बबी मर्फीको दिमागमा फरक आइडिया फुर्छ। उनीहरुले क्लास प्रोजेक्ट चलिरहेको ट्रेन्डभन्दा फरक तरिकाले तयारी गर्छन्। त्यही प्रोजेक्ट असाइमेन्टको विकसित रुप हो— अहिले फेसबुकलाई टाउको दुखाइ बनेको स्न्यापच्याट। 'त्यो बेला क्षणिक मिडियाको विचार आफैँमा एउटा अनौठो कुरा थियो,' संस्थापक इवान भन्छन्— 'यसमा प्रयोग भएको कसैसँग गरेको सम्वाद केही समयपछि डिलिट हुने प्रविधिलाई लिएर हामीले निकै समय संकुचित हुनुपर्यो।' चलनचल्तीका एप डेभलप गर्ने स्ट्यान्डफोर्डका साथीहरुले यो विपरित प्रयोगलाई लिएर इवान र बर्फीलाई हाँस्यपात्र बनाए ।सन् २०१२ को सुरुवाततिर इवान नेतृत्वका युवाहरुले स्नयापच्याटलाई अत्यधिक शक्तिशाली मोबाइल एप्लिकेशनको रुपमा विकास गरे। यसका प्रयोगकर्ताले एकअर्कालाई फोटो पठाएर सम्वाद गर्न सक्ने बनाए। यस्ता तस्विरको हिष्ट्री केही सेकन्डमै आफैँ डिलिट गर्ने प्रविधि स्न्यापच्याटमा पहिलै थियो। यो एपमा फोटो खिच्न, भिडियो रेकर्ड गर्न, टेक्स र ड्रइङ गरेर साथीलाई पठाउने सुविधा छ। यसरी पठाइएको फोटो र भिडियोलाई 'स्न्याप्स' भनिन्छ। स्न्याप्स कति समय प्रापकको डिभाइसमा रहने भन्ने कुरा पठाउने व्यक्तिले नै तोकिदिएको हुन्छ। निर्धारित समयपछि प्रापकको डिभाइसबाट त्यो स्वत हराउँछ र स्न्यापच्याट सर्भरबाट पनि डिलिट हुन्छ। विद्यमान सोसल नेटवर्कभन्दा नितान्त फरक फिचर भएको स्न्यापच्याटले सन् २०१२ देखि किशोर–किशोरीबीच जादू चलाउन थालेको हो। स्कूल र अन्डरग्राज्युएट अमेरिकी केटा केटीले अधिक रुचाइदिएपछि यसका उज्याला दिन सुरु भएका हुन्। खुला परिवेशका अमेरिकी युवा स्न्यापच्याटतर्फ आकर्षित हुनुका खास कारण छन् । मुख्यत यसको प्रयोग 'सेक्सटिंग'का लागि हुने गरेको छ । सेक्सटिंग अर्थात् यौनजन्य क्रियाकलापका तस्विर सहितका मेसेज आदान—प्रदानका गर्ने कार्यका लागि । जोडीहरुले यसलाई यौन क्रियाकलापको अभिन्न पक्षको रुपमा आत्मसात गरेका छन् । फेसबुक वा ट्विटरमा यस्ता तस्विर अपलोड गर्नु निकै खतरनाक हुन्छ । स्न्यापच्याटमा भने पठाउनेले नै प्रापकको डिभाइसमा यस्तो सामग्री कतिबेर राख्ने समय तोकिदिन्छ । यही सुविधाले गर्दा विश्वका युवाको आकर्षण स्न्यापच्याटतर्फ ढल्किएको बताइन्छ । स्न्यापच्याटलाई सेक्सटिंग कम्पोनेन्टले माथि उठाउन रणनीतिक सहयोग पु¥याएको संस्थापक इवान पनि स्वीकार्छन् । 'तर अहिलेसम्म हामीले गरेको कामलाई त्यति मात्रै हो भन्नु हतार हुनेछ', उनले भनेका छन्–'स्न्यापच्याटको प्रयोग अरु धेरै प्रयोजनका लागि २४ घन्टै भइरहेको छ ।' फेसबुक स्न्यापच्याटलाई केटाभन्दा केटीहरुले बढी प्रयोग गर्ने गरेका छन् ।
चीन चिहाउँदै स्न्यापच्याट
अमेरिका बाहिरको विश्वमा पनि लोकप्रिय बन्दै गएको स्न्यापच्याटका वेलायतमा मात्रै ७० लाख प्रयोगकर्ता पुगेका छन् । कलेज पढाइबीचमै छोडेर स्न्यापच्याट परियोजनातर्फ लागेका इवान अहिले यसलाई विश्व बजार कसरी कब्जा गर्ने र यसबाट कसरी पैसा आर्जन गर्ने भन्ने ध्याउन्नमा छन् । मिडियालाई रणनीति सार्वजनिक गर्न अस्वीकार गर्ने उनी भन्छन— 'केही चिजलाई हैरान गर्न छोडिदिनु पर्छ ।' स्न्यापच्याट विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको चीनतर्फ फैलिन रणनीति बनाउदै गरेको चर्चा प्रविधि विश्वमा भइरहेको छ । राजनीतिक अभियानमा प्रयोग हुनसक्ने भएकाले चीनले फेसबुक—ट्विटरलाई प्रतिबन्ध लगाएको छ । शक्तिशाली मोबाइल एपलाई बढी मनोरञ्जन केन्द्रित गर्दै चीन प्रवेश गर्न सके त्यसले अमेरिकी कम्पनीलाई छिटै अर्बपति बनाउन सक्ने अड्कलबाजी भइरहेका छन् । प्रयोगकर्ताले पैसा भुक्तान गर्नुपर्ने बनाउने कि निःशुल्क बनाएर विज्ञापनबाट उठाउने मोडलमा जाने भन्ने बारे स्न्यापच्याट स्पष्ट भइसकेको छैन । फेसबुक ट्विटर सामान्य उपयोगका लागि मात्र छन् र प्रयोगकर्ताका लागि निःशुल्क छन् । उनीहरुको आम्दानी स्रोत विज्ञापन हो । तर स्न्यापच्याट मनोरञ्जनको साधन भएकाले यसमा प्रयोगकर्ताले पैसा तिर्न तयार हुने विश्वास संस्थापक इवानको छ । ब्लाकबेरीले ल्याएको बीबीएम मेसेजिङ सेवा बारे पनि यस्तै धारणा राखिएको थियो । अहिले आइओएस र एन्ड्रोइडमा उपलब्ध भइसकेको बीबीएमका लाखौं प्रयोगकर्ता भएर पनि त्यसले ब्लाकबेरीको पतनलाई रोक्न नसकेको उदाहरण ताजै छ । हुन त स्न्यापच्याट डिजिटल युगका युवालाई पकडमा राख्न सक्षम छ । सबै कुरा फेसबुक र ट्विटरका जस्ता भएर पनि यसमा आफ्ना साथीलाई अन्तरंग तस्विर ढुक्कसँग सेयर गर्न सकिन्छ। तर प्रयोगकर्तासँग असुल्ने नीति बनाएमा त्यसले थोरै पैसा हुने ठूलो युवा जमात स्न्यापच्याटभन्दा टाढै रहनेछ । आफ्ना लागि चुनौती हुनसक्ने स्न्यापच्याटलाई फेसबुकले ३ अर्ब अमेरिकी डलरमा किन्ने प्रस्ताव गरेको थियो। त्यसलाई स्न्यापच्याटले अस्वीकार गरिसकेको छ। 'हामी स्वतन्त्र रहनेछौं', इवानले अन्त्यमा भन्छन्— 'बिक्री गर्नेतर्फ नभइ विकास गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित भइरहेको छ।'प्रकाशित: ९ मंसिर २०७० ०३:३३ आइतबार



