सेयर निस्कासनपछि सोसल मिडिया कम्पनी ट्विटर मिलेनियरहरुको क्लब जस्तो बनेको छ। १० अर्ब ४० करोड डलरको सेयर बिक्रीपछि संस्थापक सिइओ डिक कोस्लो अर्बपति क्लबका सदस्य भएका छन् भने कर्मचारीहरु मिलेनियर क्लबमा बढुवा भएका छन्।
दुई हजार बढी कर्मचारी रहेको ट्विटरमा १ हजार ६ सय जना कर्मचारी मिलेनियरको सूचिमा पुगेका हुन् । बजार विश्लेषक कम्पनीले कर्मचारीलाई सेयर बाँडेपछि ट्विटरले १० संस्थापक लगानीकर्तालाई ५० प्रतिशत सेयर दिएको छ भने अन्य ७ सय ७० जनाले १० हजार कित्ता सेयर पाएका छन्।
ट्विटरले सुरुमा १७ देखि २० डलर प्रतिकित्ता मूल्यमा सेयर बेच्ने तयारी गरेको थियो। अमेरिकी इन्टरनेट कम्पनीप्रति सर्वसाधारणले बढी रुचि देखाएका कारण पछि २९ डलर पुर्याइएको थियो।
२३ करोड प्रयोगकर्ता रहेको ट्विटरले गत वर्षको पहिलो त्रैमासिकमा ६ करोड ५० लाख डलर घाटा ब्यहोरेको थियो। पूँजी वृद्धिसँगै फेसबुकपछि दोस्रो ठूलो इन्टरनेट कम्पनी बनेको ट्विटर अब सेयरहोल्डरहरुलाई नाफा कमाएर दिनुपर्ने दवाबमा पुगेको छ।
प्रकाशित: २८ कार्तिक २०७० ०१:४९ बिहीबार



