एकआपसमा समूहको खेलमा बराबरी नतिजा बेहोरेका कर्णाली र बागमती प्रदेश महिला राष्ट्रिय रग्बी सेभेन्सको सेमिफाइनलमा पुगेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट कर्णाली र बागमती सेमिफाइनलमा पुगेका हुन्। समूहमा कर्णाली र बागमती दुवैले समान सात अंक जोडे। तर, विपक्षीविरुद्ध गरेको कुल स्कोरका आधारमा बागमती समूहविजेता भयो। समूहचरणमा बागमती र कर्णाली बीचको खेल १०–१० स्कोरमा सकिएको थियो।
कर्णालीकी कप्तान श्रृष्टि बम ठकुरी एक्लैले दुई ट्राई (१० स्कोर) गरे पनि जितका लागि पर्याप्त भएन। उनले कनभर्जन किकमा भने सफलता पाउन सकिनन्। एउटा ट्राइ पोल सीधा गरे पनि श्रृष्टि कनभर्जन प्रहार गर्न असफल भइन्। यससँगै कर्णाली र बागमती बीचको खेल बराबरीमा नै सकियो। जुन बराबरी कर्णालीका लागि समूह विजेता बन्न सहज भएन।
बागमती र कर्णालीले समूहमा समान एक बराबरी र दुई जित आत्मसात गरे। तर, समग्रमा बागमतीले ६५ स्कोर र कर्णालीले ६१ स्कोर गरे। यही स्कोरको आधारमा नै बागमती विजेता बन्यो। आफ्नो समूहमा कर्णालीले छिमेकी प्रतिद्वन्द्वी लुम्बिनी प्रदेशलाई २४–० र मधेश प्रदेशलाई २५–० स्कोरले हरायो।
बागमतीले भने मधेशमाथि ३५–० र लुम्बिनीमाथि २०–० स्कोरको जित निकाल्यो। नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ अर्को समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ। आर्मीले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता कर्णालीसँग खेल्नेछ। तीन टोली रहेको समूह ‘बी’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेशमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ।
शनिबार लिग चरणमा एक मात्र खेल हुन सकेन। एपिएफ र सुदूरपश्चिम बीचको खेल समय अभावका कारण नभएपछि महिलातर्फ सेमिफाइनल समीकरण पूरा नभएको हो। आर्मीले विभागीय टोली एपिएफमाथि १४–५ स्कोरको जित निकाल्दै समूहविजेताको दाबेदारी प्रस्तुत गर्यो। दोस्रो खेलमा आर्मी सुदूरपश्चिममाथि ४४–० को जितसँगै समूहविजेता बन्यो। आइतबार लिगको एक खेलसँगै विजेताको पनि टुङ्गो लाग्ने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। महिलाततर्फ नै भएको अन्य खेलमा लुम्बिनीले मधेशमाथि १५–० को नतिजासँगै सान्त्वना जितसँगै प्रतियोगिताको यात्रा टुङ्गायो।
पुरुषततर्फ समूह ‘ए’ बाट आर्मी विजेता र गण्डकी उपविजेता तथा समूह ‘बी’ मा एपिएफ विजेता र कोशी उपविजेताका रूपमा सेमिफाइनलमा पुगे। आर्मीले लिगचरणमा कर्णाली प्रदेशलाई ३७–०, गण्डकी प्रदेशलाई १७–५ तथा मधेश प्रदेशलाई ७४–० ले हराउँदै अपराजित रहँदै समूहविजेता बन्न सफल भयो। गण्डकी प्रदेशले मधेसलाई ३६–० र कर्णालीलाई १२–५ ले पराजित गर्यो। तर, गण्डकी आर्मीसँग १७–५ ले पराजित भयो। दुई जितपछि गण्डकी उपविजेताको रूपमा अन्तिम चारमा पुग्यो। समूह ‘बी’ बाट एपिएफ विजेता तथा कोसी प्रदेश उपविजेता बने। एपिएफले कोसीलाई २४–० र बागमतीलाई ३४–० ले हराए। बागमतीलाई २९–५ ले हराएपछि कोसी उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो।
उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहताले गरेका थिए। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र उपविजेताले ३० हजार रुपैयाँसहित पदक पाउनेछन्। उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी, बागमती, कर्णाली र मधेसका महिला तथा पुरुष दुवै टोलीको सहभागी छन्। कोसी, सुदूरपश्चिम र लुम्बिनीबाट महिला र गण्डकीबाट पुरुष टोलीको मात्रै सहभागी छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। सहभागी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै करिब एक लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ भने स्वास्थ्य सेवाका लागि भक्तपुर इन्टरनेसनल अस्पतालको सहयोग रहेको छ। संघले सहभागी टोलीहरूका लागि होटल बसोबास र एकपटकको यातायात खर्चको व्यवस्था गरेको छ। यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरी आगामी अन्तर्राष्ट्रिय तथा एसियाली स्तरका प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको जनाएको छ।
प्रकाशित: २९ चैत्र २०८२ १२:२१ आइतबार



