नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा हुने भएको छ। झापाको शिवसताक्षीमा आयोजना हुन लागेको ‘प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
झापा महिला गोल्डकप समितिले पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुने महिला गोल्डकपको सम्पूर्ण तयारी अन्तिम चरणमा झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए। उनका अनुसार महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष थोप्राले भने, ‘महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ झापामा पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको हो। प्रतियोगिता नेपालकै प्रतिष्ठित र लोकप्रिय हुनेछ। मोफसलकै सर्वाधिक पुरस्कार राशी राखिने भएकाले पनि लोकप्रिय हुने आशा गरेका छौँ। यस प्रतियोगिताले झापालाई महिला फुटबलको हबको रूपमा विकास गर्न ठुलो सहयोग पुग्ने विश्वास हामी सबैले लिएका छौँ।’
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ। अतिथि र विशेष दर्शकका लागि ३ सय वटा कुर्सी निर्माण गरिएको छ। १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदै छ।
प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने गोल्डकपका सचिवालय प्रमुख हिमाल प्रमुख खरेलले जानकारी दिए। उनका अनुसार नेपालका ३ विभागीय टोली, नेपालको ‘ए’ डिभिजन टोलीका साथै भारतको एक टोलीको सहभागिता रहेको छ।
त्रिभुवन आर्मी, नेपाल एपिएफ, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा खरेलले बताए। प्रतियोगिताको मुख्य प्रायोजक लाइभ भिन्टेज डेनिम (एलभिडी) रहेको छ।
प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, सर्वाेत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउने छन् भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता जनहीले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिने छ। प्रतियोगिता सञ्चालनका करिब १ करोड रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
प्रकाशित: ९ कार्तिक २०८२ १३:२३ आइतबार



-1200x560-600x400.jpg)