खेल

महिला गोल्डकप : घरेलु टोली झापालाई पन्छाउँदै एपीएफ फाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले घरेलु टोली झापा–११ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा बुधबार भएको ‘दोस्रो एक्स्ट्रिम महिला गोल्डकप’ को खेलमा एपीएफले झापालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

गत वर्षको उपविजेता एपीएफ यसपटक उपाधि जित्ने दाउमा छ। एपीएफले उपाधि जिते ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख ५० हजार रुपैयाँ पाउनेछ।

उपाधिका लागि बिहीबार हुने फाइनलमा एपीएफले दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबमध्ये विजेतासँग खेल्नेछ। नेपाल पुलिस क्लब गत वर्षको विजेता टोली हो।

झापाले सुरुवातदेखि नै रक्षात्मक तथा राष्ट्रिय खेलाडीको ‘सेट’ रहेको एपीएफले आक्रामक खेल प्रस्तुत गरेको थियो। झापाले रक्षात्मक खेल्दै निकालेका केही अवसरलाई एपीएफका डिफेन्डरले विफल पारेका थिए। एपीएफका खेलाडीले गोल संख्या बढाउन खोजे पनि झापाको रक्षापंक्तिले थप गोल हुन दिएन। त्यसैले खेल २ गोलमै सीमित हुन पुग्यो।

खेलको २६औँ मिनेटमा झापाकी सेमिहाङमा लिम्बूले एपीएफकी रश्मिकुमारी घिसिङलाई डी एरियानजिकै फल गरेकी थिइन्। त्यसपछि पाएको फ्रि–किकलाई रश्मिले सिधै पोस्टको दिशा दिएकी थिइन्।

एपीएफले खेलको ३८औँ मिनेटमा अग्रता दोब्बर बनायो। मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मिले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै जाली चुमाएकी थिइन्।

खेलको प्लेयर अफ द म्याच एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रकाशित: ९ मंसिर २०८३ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App