राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीको बन्दसूचीमा नपरेपछि सदन र सडकमा सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन्।
उनले साेमबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। 'क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहुँ वा नरहुँ, तर मेरो देशले हार्नु हुँदैन,' उनले लेखेका छन्, 'खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।'
पछिलाे समय उनी नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे सहायक प्रशिक्षककाे रूपमा आबद्ध छन्। उनले निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्ने सबै मतदाताहरूमा हृदयदेखि धन्यवाद दिए।
'यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्ने सम्पूर्ण मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,' उनले भनेका छन्, 'म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार-जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।'
प्रकाशित: २ चैत्र २०८२ ११:२२ सोमबार



