नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्धको प्रदर्शन सन्तोषजनक रहेको बताउँदै आगामी खेलहरूमा नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् कप्तान पौडेलले टोलीको हौसला बढाएकोमा समर्थकहरुलाई धन्यवाद ज्ञापन गरे।
हारका बाबजुद टोलीले उच्च प्रदर्शन गरेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘तपाईंहरूको अथाह माया र समर्थनका लागि धन्यवाद। हामीले हिजो आफ्नो सर्वोत्तम प्रदर्शन गर्यौँ र आगामी दिनमा पनि सोही स्तरको खेल पस्कने वाचा गर्छौँ।’
आइतबार सम्पन्न आइसिसी टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग झिनो अन्तरले पराजित भएको थियो।
प्रतिस्पर्धात्मक खेलमा नेपाल ४ रनले पराजित हुँदा कप्तान पौडेलले ३९ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।
विश्वकपको समूह चरण अन्तर्गत अब नेपालले आफ्नो दोस्रो खेल बिहीबार इटालीसँग खेल्नेछ। भारतको मुम्बईस्थित वानखडे क्रिकेट रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने तालिका रहेको छ।
प्रकाशित: २६ माघ २०८२ १७:३४ सोमबार



