महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लिग, रेफ्री प्रशिक्षक कोर्सका साथै विभिन्न उमेरसमूहका कुल १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो। उक्त वार्षिक कार्यक्रममा आगामी २०औं एसियाली खेलकुद पनि समावेश छ। यो प्रतियोगितासहित अन्तर्राष्ट्रिय भूमिमा हुने कार्यक्रम पनि वार्षिक क्यालेन्डरमा छन्।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले निर्धारित सबै कार्यक्रम सम्पन्न गर्ने गरी समावेश गरिएको बताएका छन्। यद्यपि सार्वजनिक गरिएका कुनै पनि कार्यक्रमको मिति तय भने गरिएको छैन। साथै आठवटा कार्यक्रमको स्थान नै तय नगरिए पनि निर्धारित कार्यक्रम जसरी पनि आयोजना गर्ने संघले जनाएको छ।
पहिलोपल्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको संघले प्रशिक्षण र विकास कार्यक्रमलाई जोड दिएको छ। घरेलु भलिबलको नियमित गतिविधिसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य रहेको संघका अध्यक्ष चन्दले बताए।
संघले वर्षभर आयोजना हुने प्रतियोगिता र गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यसहित क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ। वार्षिक कार्यक्रममा एसियन सेन्ट्रल जोन (काभा) का नै ६ वटा च्याम्पियनसिप समावेश गरिएको छ। भलिबल संघले पहिलोपल्ट उमेरसमूहको प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता, एसियन गेम्समा सहभागिता, विद्यालयस्तरीय प्रतियोगिता, रेफ्री तथा प्रशिक्षक प्रशिक्षण र मैत्रीपूर्ण खेलसम्मका कार्यक्रम समावेश गरिएका छन्।
वार्षिक कार्यक्रमको सुरुआत ३५औं राष्ट्रिय पुरुष तथा २५औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताबाट हुनेछ। प्रतियोगिता सुर्खेतमा आयोजना गरिने संघले जनाएको छ। त्यसपछि काठमाडौंमा १०औं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुनेछ। ११औं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग पनि क्यालेन्डरमा समावेश गरिएको छ। उक्त प्रतियोगिताको आयोजना स्थल भने पछि तय गरिने उल्लेख गरिएको छ। त्यसपछि सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना हुनेछ। यसको स्थान पनि हालसम्म तय भएको छैन।
युवा खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै यु–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता काठमाडौंमा सञ्चालन गरिनेछ। पछिल्ला वर्षहरूमा नेपाली भलिबलमा व्यावसायिक अवधारणाको विस्तार भइरहेका बेला संघले महिला र पुरुष दुवैतर्फका फ्रेन्चाइज लिगलाई पनि वार्षिक कार्यक्रममै समेटेको छ।
महिलातर्फ इन्फिनिटी (इभिएल) महिला फ्रेन्चाइज लिग काठमाडौंमा आयोजना हुनेछ। पुरुषतर्फ केडिया ग्रुपको प्रायोजनमा एनभिएल (एनभिएल) पुरुष भलिबल लिग पनि काठमाडौंमै आयोजना गर्ने तयारी गरिएको छ। एनभिएल आगामी भदौ १२ गते काठमाडौंमा सुरु हुँदै छ।
अन्तर्राष्ट्रिय सहभागितालाई पनि संघले विशेष प्राथमिकतामा राखेको छ। क्यालेन्डरअनुसार काभा बिच भलिबल टुर सेप्टेम्बरमा भुटानमा आयोजना हुनेछ। जहाँ महिला र पुरुष दुवै टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। काठमाडौंमै काभा महिला च्याम्पियन्स लिग नोभेम्बर ७ देखि १० सम्म आयोजना गर्ने योजना रहेको छ। यससँगै काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता प्रतियोगिता) पनि काठमाडौंमै हुनेछ। यो आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गर्नेछ।
क्यालेन्डरमा काभा बिच भलिबल टुर (माल्दिभ्स), काभा यु–१६ भलिबल च्याम्पियनसिप र काभा च्यालेन्ज कप (पुरुष) समेत समावेश छन्। यी प्रतियोगिताले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसर प्रदान गर्ने विश्वास संघको छ। घरेलु प्रतिभा विकासलाई निरन्तरता दिन यु–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता आयोजना गरिनेछ। त्यस्तै रेफ्री र प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय रेफ्री तथा प्रशिक्षक कोर्स, कोचिङ कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप पनि कार्यक्रम सूचीमा राखिएको छ।
संघले सम्बन्धित निकाय, प्रायोजक तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिकाअनुसार ती कार्यक्रमको अन्तिम मिति सार्वजनिक गर्ने जनाएको छ। नेपाल भलिबल संघले पछिल्ला केही वर्षदेखि राष्ट्रिय प्रतियोगिताको दायरा विस्तार गर्दै फ्रेन्चाइज लिग, उमेरसमूहका प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागितालाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक गरिएको नयाँ क्यालेन्डरले पनि नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने संघको योजनालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ। वार्षिक कार्यक्रमले आगामी एक वर्ष नेपाली भलिबल गतिविधिले निकै व्यस्त रहने आशा गरिएको छ।
प्रकाशित: १९ श्रावण २०८३ ०९:४२ मंगलबार



