खेल

इतिहास रच्ने लक्ष्यमा उज्बेकिस्तान

‘ह्वाइट वुल्भ्स’ अर्थात् एसियाली राष्ट्र उज्बेकिस्तान जो यसपल्ट उत्तरी अमेरिकी भूमि मेक्सिको सिटीमा इतिहास रच्ने लक्ष्यमा छ। विश्व फुटबलको सबैभन्दा उचो स्तरमा पहिलोपल्ट पुगेर उज्बेकिस्तानले इतिहास बनाइसकेको छ।

अब यो मञ्चमा अर्को इतिहास रच्ने दाउमा छ, ह्वाइट वुल्भ्स। मेक्सिको सिटीमा लामो प्रतीक्षापछि डेब्युका लागि मैदान उत्रँदा उज्बेकिस्तानका खेलाडीका लागि अर्को फुटबल खेल मात्र हुने छैन। त्यो दशकौको प्रतीक्षा, संघर्ष र सपनाको साकार रूप हुनेछ। मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशाला, जहाँ उज्बेकिस्तानका लागि इतिहास रच्ने अवसर मिल्नेछ। तर, त्यसका लागि उसले दक्षिण अमेरिकाको बलियो राष्ट्र कोलम्बियालाई पार गर्नुपर्नेछ। समूह ‘के’ को उक्त खेल बिहीबार बिहान ७ः४५ बजे हुनेछ। यस समूहमा डिआर कङ्गो र पोर्चुगलजस्तो दाबेदार राष्ट्र पनि छन्। यो समूहबाट डेब्युमा नै नकआउट चरण पुग्न उज्बेकिस्तानका लागि सहजै हुने छैन। तर, उसले एएफसी छनोटमा उत्कृष्ट गरेको थियो।

१६ खेलमध्ये उज्बेकिस्तान एक खेल गुमाउँदै पहिलोपल्ट विश्वकपमा पुगेको हो। लामो समयदेखि विश्वकप खेल्ने उज्बेकिस्तानको यसपटक मात्र त्यो सपना पूरा भइसकेको छ। उज्बेकिस्तानको सफल यात्राका मुख्य नायक स्ट्राइकर एल्डोर शोमुरोदोभ हुन्। उनी रोमाका पूर्वखेलाडी र टर्कीको इस्तानबुल बासाकसेहिरबाट खेलिरहेका छन्।

छनोट चरणमा उनले पाँच गोल र चार असिस्ट गरेका थिए। यो सफलतामा प्रशिक्षक रेच्को काटानेच र तिमुर कापाजेको योगदान महत्त्वपूर्ण रह्यो। विश्वकपअघि नै उज्बेकिस्तानले फाबियो क्यानाभारोलाई नयाँ प्रशिक्षक बनायो। उनी सन् २००६ मा इटालीलाई विश्वकप जिताएका कप्तान हुन्। चार विश्वकप खेलेका क्यानाभारो इटालीका सर्वाधिक विश्वकप खेल्ने खेलाडीमध्ये एक हुन्। उनको कप्तानीमा २० वर्षअघि इटालीले विश्वकप ट्रफी उचालेको इतिहास छ।  

अब उनी प्रशिक्षकका रूपमा अर्को इतिहास रच्ने लक्ष्यमा चाहन्छन्। डेब्य नकआउट चरण पुग्ने राष्ट्रको सूची थोरै छ। सन् २०१० मा स्लोभाकियाले पहिलो सहभागितामै अन्तिम १६ मा स्थान बनाएको थियो। त्यसयता कुनै पनि नवप्रवेशीले त्यो उपलब्धि दोहोर्‍याउन सकेको छैन। एएफसीबाट अन्तिमपल्ट साउदी अरेबियाले सन् १९९४ मा यस्तो सफलता पाएको छ तर उज्बेकिस्तानको पहिलो चुनौती निकै कठिन छ। उसको सामना दक्षिण अमेरिकी फुटबल शक्ति राष्ट्र कोलम्बियासँग हुँदै छ। चार वर्षअघि कतार विश्वकपमा कोलम्बिया छनोट हुन असफल रह्यो तर नेस्टर लोरेन्जोको प्रशिक्षणमा कोलम्बियाले सानदार पुनरागमन गरेको छ। दक्षिण अमेरिकी छनोटमा कोलम्बिया तेस्रो स्थानमा रह्यो। लोरेन्जोसँग विश्वकप फाइनलको अनुभव छ।

सन् १९९० मा उनी अर्जेन्टिनाका सदस्य हुन्। जति बेला यो टोली विश्वकप फाइनल खेलेको छ। छनोटमा कोलम्बियाको आक्रमण प्रभावशाली रह्यो। यो टोलीले सबैभन्दा बढी अपेक्षित गोल (२८.८), सबैभन्दा बढी लक्ष्यमा प्रहार (९६) र सबैभन्दा बढी हेडर गोल (७) को तथ्यांक छ। २८ गोल गरेको कोलम्बियाभन्दा धेरै गोल विश्व च्याम्पियन अर्जेन्टिनाले मात्र गर्न सकेको छ।

कोलम्बियाका स्टार लुइस डियाजको नाममा सात गोल छ। २०१४ विश्वकपका गोल्डेन बुट विजेता जेम्स रोड्रिगेजले सात असिस्ट गरेका छन्। उनले आफ्नो सिर्जनात्मकता कायम राखे कोलम्बिया उज्बेकिस्तानमाथि पूर्ण हाबी हुन सक्छ। यो टोली ब्राजिलमा सम्पन्न २०१४ विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। कोलम्बिया यस पटक पनि त्यही उपलब्धि दोहोर्याउने आशामा छ।

पछिल्ला दुई विश्वकप सहभागितामा उसले समूह का ६ मध्ये ५ खेल जितेको रेकर्ड छ। उज्बेकिस्तान र कोलम्बियाबीच यो पहिलो भेट हो। उज्बेकिस्तानले यसअघि दक्षिण अमेरिकी टोलीविरुद्ध एकपटक जित निकालेको छ। सन् २०२३ मा साउदी अरेबियामा भएको मैत्रीपूर्ण खेलमा शोमुरोदोभको गोलमा बोलिभियालाई १–० ले हराएको थियो। कोलम्बियाको पछिल्लो विश्वकपमा एएफसी राष्ट्रसँगको भेट भने सुखद थिएन।

सन् २०१८ विश्वकपको पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको थियो। तर, पछि पोल्यान्ड र सेनेगललाई हराउँदै समूह विजेता बनेको थियो। एक तथ्यांकले ६७.७ प्रतिशतमा कोलम्बिया विजयी हुने अनुमान गरेको छ। उज्बेकिस्तानको जितको सम्भावना ११.७ प्रतिशत मात्र छ। बराबरीको सम्भावना २०.६ प्रतिशत छ।

कोलम्बियाले विश्वकपका २२ मध्ये कुनै पनि खेलमा गोलरहित बराबरीमा गरेको छैन। त्यसैले एज्टेकाको रात उज्बेकिस्तानको विश्वकप डेब्यु सहज नहुन सक्छ। यद्यपि अनुभव र उत्साह, इतिहास र महत्त्वाकांक्षाको तवरबाट एसियाली समर्थकका लागि यो रोचक खेल बनेको छ।  

प्रकाशित: ४ असार २०८३ ०७:०९ बिहीबार