कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। सन् २०२७ मा बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्ने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले क्यानको वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। प्रतियोगीता जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ।
कोषाध्यक्ष खड्काले प्रतियोगितामा सात वटै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने जानकारी दिए। ‘कर्णालीमा क्रिकेटको इतिहासमा महिला क्रिकेटको यो पहिलो राष्ट्रिय प्रतियोगिता हो,’ बुधबार प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘यसलाई ऐतिहासिक अवसरका रूपमा लिएर सफल बनाउन सबै पक्षलाई आग्रह गर्दछु।’
खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रो पटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको भन्दै यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवालगायतका सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
साथै, आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्यााउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ।
विजेतालाई पाँच लाख
प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता अन्तर्गत हुने खेलहरू २२ खेलहरू कालुङचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन गरिनेछ।
प्रकाशित: २१ जेष्ठ २०८३ ०८:३६ बिहीबार



